खानी गाउँका घरघरमा व्यवसायिक बाख्रापालन : गाउँको नाम नै ‘बाख्रा गाउँ’

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 9 mins

म्याग्दी । करिव दुई दशक खाडी मुलकमा काम गरेर गाउँ फकिए पछि म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले सुरु गरेको व्यवसायिक बाख्रापालनले अहिले गाउँको नाम नै फेरिएको छ ।

नै वर्ष यूएई, छ वर्ष कुवेत र तीन वर्ष मलेसियामा गरी १८ वर्ष वैदेशिक रोजगारीमा विताउनुभएका बुढाथोकी पाँच वर्ष अघि गाउँ फर्के पछि बाख्रा पालन सुरु गर्नुभएको थियो ।

सुरुमा १७ ओटा लोकल र चार ओटा अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका बूढाथोकीले अहिले ७० ओटा उन्नत जातका बोयर र स्थानीय जातका गरी १२० ओटा बाख्रा पाल्नुभएको छ ।

बूढाथोकीले मात्रै होइन २६ घर रहेको खानी गाउँमा १७ जनाले व्यवसायिक रुपमा र नौ जनाले रहरले बाख्रा पालन गरेपछि गाउँको नाम नै खानी गाउँबाट ‘बाख्रा गाउँ’मा परिवर्तन भएको छ । खानीगाउँमा दुईचारवटा बाख्रा रहेका हरेक घरमा समेत अहिले बाख्राको ब्यवस्थित खोर समेत छ ।

विगत तीन वर्षयता बूढाथोकीले बाख्रा र बोका विक्रि गरेर वार्षिक १० लाख कमाइ गर्दै आएको बताउनुभयो । ‘विदेशबाट फर्किएपछि करिब ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म सुरू गरें’ बूढाथोकीले भन्नुभयो, ‘पहिलो बर्ष बिषालु घाँस खाएर खोर रित्तिए पनि बाख्रापालनलाई निरन्तरता दिएपछि समुदायले समेत विश्वास गरे र अहिले सफल भएँ ।’

बाख्रा पालन मात्रै होइन बूढाथोकीले अहिले तीन वटा हाइटेक प्रविधिको टनेलमा व्यवसायिक तरकारी खेती गर्नुका साथै सुन्तलाका तीन सय विरुवा समेत लगाउनुभएको छ । बाख्रापालन र तरकारी खेतीबाट बार्षिक रु १५ लाख आम्दानी गर्ने लक्ष्य सहित उहाँले योजना बनाएको बताउनुभयो । ‘विदेशका धेरै बर्ष विताएँ, त्यहाँ सिकेको सीप र जागँरलाई गाउँमै प्रयोग गर्ने उद्धेश्यले गाउँमा फर्किएर गरेको बाख्रा पालन व्यवसाय र कृषि उद्यमले खुसी छु’ ४८ बर्षीय बूढाथोकीले भन्नुभयो, ‘मेरै बाटो पछ्याएर गाउँका सबैले बाख्रा पालन गरेका छन्, तरकारी खेती र बाख्रा पालनले गाउँको परिचय नै फेरिएको छ ।’

आफूले सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा छिटो परिवर्तन आउने अनुभव आफुँले पाएको उहाँले बताउनुभयो । खोरमा दाना खुवाउन, पाठापाठी, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएकाले समेत सहज भएको उहाँको भनाइ छ । ‘बाख्रापालनमा खानीगाउँलाई नमुना गाउँ बनाउने योजना छ,’ उहाँले भन्नुभयो ‘अब हामीले बाख्रा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ ।’

समुदाय नै बाख्रा पालनमा : कृषक समूह गठन
बूढाथोकीको सिको गरी गाउँका सबैले बाख्रा पालन गरेपछि गुप्तेश्वर कृषक समूह नै गठन गरेर समुदाय नै बाख्रा पालन व्यवसायमा लागेको छ । ‘बूढोथोकी दाइबाट प्रेरणा पाएर समुदायले नै बाख्रापालन सुरू गरेका छौं, चरनक्षेत्रको समस्या छैन, बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान सबैमा छ’ स्थानीय बाख्रापालक कृषक राजन राम्जालीले भन्नुभयो ।

ADVERTISEMENT

उहाँले बुढाथोकीको प्रेरणाबाट सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको बताउनुभयो । विदेशबाट फर्किएका यूवाको सक्रियतामा अनुदान सहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समुह बनाएर सीप हस्तान्तरण सहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन समेत गरिएको उहाँको भनाइ छ ।
विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नतजातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जंगलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ ।

‘मैले सुरु गरेको ब्यवसायीक बाख्रापालनमा समुदायको साथ छ, हामीले मिलेर बाख्रापालन गरेका छौं’ अगुवा बाख्रापालक कृषक बूढाथोकीले भन्नुभयो ।

बाख्रापालन, कृषिका साथै सुन्तलाखेतीको समेत उच्च सम्भावना रहेकाले अबको पाँचबर्षभित्र गाउँमा बाख्रापालन, तरकारी र फलफुल खेतीबाट लाखौं भित्रिने बुढाथोकीको भनाई छ ।

खानीगाउँका कृषकले खेर गएको जमिनमा सुन्तलाखेती सहित कृषि खेती नहुने जमिनमा डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राईखनियो, नेपिएर, किम्बुलगायतका विभिन्न घाँस लगाएका छन् ।

खानी गाउँ सहित आसपासका क्षेत्रमा बाख्रापालनबाट स्थानीयले रहरलाग्दो आम्दानी गर्न थालेपछि थप प्रोत्साहनका लागि मंगला गाउँपालिकाले बाख्रा पकेट कार्यक्रममार्फत अनुदान सहयोग गरेपछि थप सहज भएको छ ।

गुप्तेश्वर कृषक समुह गठन गरी ३४ जना कृषक आवद्ध रहेको समुहमा १७ जनाले ब्यवसायीक बाख्रापालन गरेका छन् । विनोद राम्जाली, रुपेश पाईजा,कृष्ण पौडेल, मोहन कार्कीथरबहादुर केसी, रनबहादुर खत्री, कुलबहादुर खत्री सहित समुहका कृषकहरूसँग ६ सय भन्दा बढी बोका, बाख्रा, पाठापाठी छन् भने समुहको बोयर बोका समेत छ । बाख्रा पकेट कार्यक्रम अन्तरगत गाउँपालिकाले २२ लाख अनुदान समेत दिएको गाउँपालिकाका प्रबक्ता एवम् कुहुँका वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।

पुरानै तरिकाले बाख्रा पाल्दै आएका धेरै कृषकले सुधारिएको खोर निर्माण सहितका कार्यमा बुढाथोकी र बहराइनबाट फर्किएका रनबहादुर खत्रीले सहयोग गरेपछि व्यावसायिक रुपमा बाख्रा पाल्न थालेको वडाअध्यक्ष रोकाले जानकारी दिनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मंगला गाउँपालिकालाई कृषि र पशुपालनमा नमुना गाउँ बनाउने उद्धेश्यले स्मार्ट कृषिलाई प्रोत्साहन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पशुपालन, फलफुल र तरकारी खेतीमा मंगला गाउँपालिकामा जिल्लाभित्रकै उत्कृष्ट र अगुवा कृषकहरू हुनुहुन्छ, हामीले उहाँहरूलाई प्रोत्साहित गरी हरेक किसिमका सहयोगहरू गर्ने खालका योजनाहरू संचालन गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?