स्वास्थ्यमन्त्री बस्नेत र प्रधानसेनापतिद्वारा मेलम्ची बेलीब्रिजको उद्घाटन

समयमै पुल बनेपछि स्थानीय खुसी

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 4 mins

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले विशेष समारोहबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको मेलम्ची बेलीब्रिजको शुक्रबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । मेलम्ची पुल बजारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि यहाँका स्थानीयले धेरै सास्ती बेहोर्नुपरेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्ची बेलीब्रिज छोटो समयमै निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । मेलम्ची बेलीब्रिज निर्माणमा समेत राजनीतिक दलहरूले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेको बेला आफूले नेपाली सेनाका प्रधानसेनापतिलगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले जनचाहनाअनुसार समयमै बेलीब्रिज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताउनुभयो ।

प्राकृतिक विपत्तिका बेला सधैँ नेपाली सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै उहाँले स्थानीयका अन्य समस्याभन्दा बेलीब्रिज सबैभन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताउनुभयो । जनताका पक्षमा आफूले सधैँ काम गरेकै परिणामस्वरूप मतदाताले आफूलाई गत निर्वाचनमा १२ हजारभन्दा बढी मतान्तरले विजयी बनाएको स्मरण गर्दै मन्त्री बस्नेतले सिन्धुपाल्चोक र मेलम्चीको विकासका लागि आफूले बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग पनि सहकार्य गरेर बढीभन्दा बढी योजना ल्याउन पहल गरेको दाबी गर्नुभयोे ।

ADVERTISEMENT

बेलीब्रिजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र सामाजिक दृष्टिले पनि जनजीवन सहज बनाउने मन्त्री बस्नेतले बताउनुभयो । कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सधैँ नेपाली जनताको सुख दुःखमा साथ दिँदै आइरहेको बताउँदै मेलम्ची बेलीब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाली सेना नेपाली जनताको साझा सम्पत्ति भएको बताउँदै सेनाले सधैँ जनताको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गरिरहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले स्वास्थ्यमन्त्री बस्नेतको अथक प्रयास र दृढ संकल्पका कारण मेलम्ची बेलीब्रिज समयमै सम्पन्न भएकोमा जोड दिँदै नेपाली सेनाको सहयोग स्मरणीय रहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, कार्यकर्ताहरू, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *