काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो । रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ परेको सिआइबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । पोखरेल समरजङ कम्पनीका तत्कालीन प्रमुख हुन् । महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताउनुभयो । तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए ।
त्यस्तै, गुठीमार्फत नक्कली मोही खडा गरिएका महर्जनले ६ लाख रुपैयाँ लिएर आफू नक्कली मोही बन्न तयार भएको अनुसन्धानमा खुलेको छ । समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमा लैजान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०६९ का विभिन्न मितिमा निर्णय गरेको थियो । सोही क्रममा नक्कली मोही खडा गर्ने गरी भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव दिनेश हरि अधिकारीसहितका कर्मचारीले टिप्पणी उठाउनेदेखि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेसम्मका काम गरेका थिए ।
त्यसका लागि डिल्लीबजार मालपोत, समरजंग कम्पनी र गुठी संस्थानका कर्मचारीको मिलेमतोमा भूमाफियाले जग्गा हडप्ने पृष्ठभूमि तयार पारेका थिए । यही प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने माग उठिरहेको छ । समरजंग कम्पनीबाट टिकिन्छा गुठीमा पाँच रोपनी जग्गा कायम गरेर भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकालसहितका गिरोहले आफ्नो बनाएका थिए ।
योसँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । यसअघि, गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारजना पक्राउ परेका थिए । गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पनि हिरासतमै छन् ।
सिआइबीले यही आइतबार काठमाडौं महानगरका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो । सिआइबीले यसअघि पक्राउ गरेका अन्य तीनजनालाई भने त्यही दिन छाडेको थियो । उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो । पक्राउ परेका गुरुङसहित तीनजनाले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच