कर्मचारी र वकिलबीचको विवादले अदालती काम प्रभावित

कानुन व्यवसायी लामिछाने साधारण तारेखमा रिहा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

ललितपुर । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिछाने साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार उनलाई साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिनुभयो । कर्मचारी र वकिलबीच भएको विवाद तथा कुटपिट प्रकरणले देशभरका अदालतको काम कारबाही प्रभावित हुन पुगेको छ । लामिछानेले तामाङमाथि गरेको कुटपिटको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीहरूले दिउँसो साढे १ बजेसम्म काम रोकेका थिए ।

उता, नेपाल बार एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो । उनलाई रिहा नगरे सोमबार देशभरका अदालतमा बहस नगर्ने एसोसिएसनले चेतावनी दिएको थियो । गत बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय लामिछानेले कुटपिट गरेका थिए । मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि पीडित तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिनुभएको थियो । जाहेरी दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

२०८० असार १३ गते ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई आदेश हेर्ने बहानामा वारेससमेत लिएका वकिल अमर लामिछानेले कुटपिट गरी घाइते बनाएको कर्मचारी प्रशासनको आरोप छ । तामाङको ओठ फुट्नुका साथै लछारपछार गरी लगाएको कमिजको बाहुलासमेत च्यातिएको तस्वीरसमेत बाहिरिएको थियो ।

सुरुमा त्यस विषयमा ललितपुर जिल्ला अदालतको प्रशासन शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विषयमा सत्यतथ्य छानविन गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरमा ल्याउन माग गरेको थियो ।

त्यसैगरी, कर्मचारीहरूको ट्रेड युनियनले पनि कुटपिट गर्ने लामिछानेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो । त्यस विषयमा तामाङले प्रहरीमा किटानी जाहेरी नै दिएपछि प्रहरी परिसर ललितपुरले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

वकिल लामिछाने पक्राउ परेपछि ललितपुर जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसन पाटनले समेत छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सुरुमा कर्मचारी तामाङले नै वकिल लामिछानेलाई कुटपिट गरेको आरोप लगाएका छन् । सुरुमा कर्मचारीले कुटपिट गर्दा कानुन व्यवसायीले सामान्य प्रतिरक्षा गरेको विज्ञप्तिमा जिकिर गरिएको छ ।

‘उक्त विषयलाई अदालत प्रशासनले सम्बन्धित बारको सहकार्यमा सिसिटिभी फुटेज हेरी तत्काल आपसी छलफल गरी विवादको टुंगो लगाउनुपर्नेमा त्यसतर्फ अदालत प्रशासनबाट उपयुक्त पहलकदमी नगरी कानुन व्यवसायीलाई प्रहरी प्रशासनको जिम्मा लगाउने कार्यप्रति यस बार एसोसिएसन घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा लामिछानेको रिहाइको समेत माग गरिएको थियो ।

त्यसपछि अदालतमा कार्यरत कर्मचारीहरूको ट्रेड युनियनले उक्त विज्ञप्तिको विरोधमा आइतबार डेढ बजेसम्म ‘पेन डाउन’को कार्यक्रम घोषणा गर्दै विज्ञप्ति जारी गरेको थियो । परिणामस्वरूप आइतबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, न्यायाधीकरण, जिल्ला अदालत डेढ बजेसम्म ठप्प रहे ।

इजलासबाट भएको आदेशको विषयमा हातपात गर्ने कानुन व्यवसायी लामिछानेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्नेमा अदालतकै कर्मचारीलाई विभिन्न लाञ्छना लगाई दोषी देखाउन खोज्ने तथा आक्रमण गर्ने कानुन व्यवसायीलाई चोख्याउन खोज्ने गरी उच्च अदालत पाटन बारले २०८० असार १४ गते र नेपाल बार एसोसिएसन ललितपुरले २०८० असार १५ गते विज्ञप्ति निकालेको भन्दै कर्मचारीहरूको चारवटै ट्रेड युनियनले ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् । अर्कातर्फ लामिछानेलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दायर गरेकोमा रिहाइको माग गर्दै असार १७ गते ललितपुर बार एसोसिएसनले बेञ्च बहिष्कार गरेको छ । त्यसबाहेक देशका अन्य जिल्ला तथा बार एसोसिएसनले समेत बेञ्च बहिष्कार गर्ने घोषणा गरेका छन् । आइतबार लामिछानेको तर्फबाट समेत कर्मचारी तामाङलाई पक्राउ गरी अभद्र व्यवहारमा कारबाही गर्नुपर्ने माग गर्दै प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *