आषाढशुक्ल एकादशी र महिमा

Read Time = 10 mins

✍️ तोयराज नेपाल

हरिशयनी एकादशी व्रत तुलसी रोपण दिवस होे । आजको दिनको धार्मिक महत्व ठूलो रहेको छ । आषाढशुक्ल एकादशीबाटै चतुरमास व्रतारम्भ हुन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको समयलाई चतुरमास भनिन्छ । चतुरमास व्रतको प्रारम्भ भएर भगवान् विष्णु-हरि चार महिनासम्म सुत्ने हुनाले यसलाई चतुरमास भनिएको हो । हरेक महिनाको शुक्ल र कृष्ण पक्षको एघारौं तिथि तिथि एकादशी हो ।
नारायणले ब्रहृमासँग सोध्नु भएको एकादशी महात्म्यलाई युधिष्ठिरको उत्सुक्ता मेट्दै भगवान श्रीकृष्णलाई सोधेको जवाफमा कृष्णजीले बताउनुभएको एकादशीको महात्म्यको केही अंशहरू यसप्रकार छन् : श्रीकृष्ण भन्नुहुन्छ- हे राजन् ! यस एकादशीका विषयमा ब्रहृमाण्डपुराणमा वर्णित एउटा उपाख्यान छ जो यसप्रकार छ : आषाढशुक्ल एकादशीको नाम पद्मा हो । यसैलाई हरिशयनी एकादशी पनि भनिन्छ अर्थात् जसलाई हरिशयनी एकादशी वा ठूलीएकादशी पनि भनिन्छ ।

यसको ठूलो माहात्म्य छ । अघि मान्धाता राजा धर्मपूर्वक राज्य गर्दथे । उनका राज्यमा सबै जना सुखी थिए । कुनै समयमा उनका राज्यमा दैववश तीन वर्षसम्म पानी नपरेकाले अन्नबाली नफलेर अनिकाल भयो । राजा चिन्तित भएर यसको उपाय विचार गर्दै सेनाकासाथ जंगलमा गए । ऋषि मुनिहरूका आश्रममा घुम्दै जाँदा अंगिरा मुनिलाई भेटेर उनलाई प्रणाम गरी पानी नपर्नाले राज्यमा अनिकाल परेको कुरा बताए ।

यस एकादशीमा विष्णुशयन व्रत गर्नुपर्दछ । एक महिनाअघि निर्जला एकादशीका दिन बिउ राखिएकी तुलसीलाई मठमा रोप्ने यसै दिन गर्नुपर्दछ । प्रत्येक दिन तुलसीमा जल अर्पण गरी विभिन्न पूजा सामग्रीद्वारा तुलसीको पूजा गर्नुपर्दछ । चतुर्मासाको व्रत आरम्भ पनि यसै दिनदेखि गर्नुपर्दछ ।

मुनिले भने तपस्या गर्न अधिकार नभएका व्यक्तिले तपस्या गरिरहेछ, त्यस कारण पानी नपरेको हो । त्यसैले अकर्तव्य गर्ने व्यक्तिलाई मार्ने उपाय गर, त्यसबाट दोष नाश भई पानी पर्नेछ र अनिकाल दूर हुनेछ भनेबताए । राजाले भने प्रभु ती तपस्वी निरपराध छन्, तिनलाई म मार्दिन । बरू अर्को कुनै उपाय छ भने बताइदिनुहनेस् ? राजाको कुरा सुनेर मुनिले भने ! हे राजन् यदि त्यसलाई नमार्ने हो भने आषाढ शुक्लपक्षको पद्मानामको एकादशीको व्रत गर्नाले सुवृष्टि भई अन्नादि उत्पादन हुनेछ । मुनिको उपदेश अनुसार राजाले चारैवर्णका प्रजाका साथमा पद्मा एकादशीको व्रत गरे । त्यस व्रतका पुण्यका प्रभावले भगवान् ऋषिकेश प्रसन्न भई सुवृष्टि भयो र अन्नादिको उत्पादन भएर सम्पूर्ण प्रजामा सुख आनन्दको वर्षा भएको थियो । त्यसैले पद्मा वा हरिशयनी एकादशीको ठूलो माहात्म्य छ ।

ADVERTISEMENT

भविष्यपुराणमा अनुसार पनि हरिशयनी एकादशीको माहात्म्य बारे वर्णन गरिएको छ- यस एकादशीमा विष्णुशयन व्रत गर्नुपर्दछ । एक महिनाअघि निर्जला एकादशीका दिन बिउ राखिएकी तुलसीलाई मठमा रोप्ने यसै दिन गर्नुपर्दछ । प्रत्येक दिन तुलसीमा जल अर्पण गरी विभिन्न पूजा सामग्रीद्वारा तुलसीको पूजा गर्नुपर्दछ । चतुर्मासाको व्रत आरम्भ पनि यसै दिनदेखि गर्नुपर्दछ । यो व्रत गर्दा भगवान् विष्णुको शंख, चक्र, गदा र पद्म हातमा लिएको पीताम्बर धारण गरेको प्रतिमा बनाएर सुन्दर सफा शुक्लवर्णको पलङमा ओढ्ने-ओछ्याउने सिराने झूल आदि सम्पूर्ण शैøयाका लागि सामग्रीसहित शैय्या तयार गरी पूजास्थानमा कलश स्थापना गरेर स्थालीमा नारायणको प्रतिमा राखी पञ्चामृतले स्नान गराई शुद्ध गंगाजलले समेत स्नान गराएर पीतम्बर, जनै श्रीखण्ड चन्दन कस्तूरीआदि सुगन्धित द्रव्य अनुलेपन गराई पूजाका सामग्रीद्वारा पूजा गरी धूपदीप नैवेद्यादि समर्पण गरेर तुलसी पत्र एवं मञ्जरीसहित विभिन्न सुगन्धित पुष्प अर्पण गरेर मन्त्रसहित पूजा गर्नुपर्दछ र यस मन्त्रले प्रार्थना गनुपर्दछ-
सुप्ते त्वयि जगन्नाथे जगत्सुप्तं चराचरम् ।
विबुद्धे त्वयि बुध्येत जगत्सर्वं चराचरम्।। (भविष्यपु.)
हेभगवान् हजुर सुत्नुभएपछि सम्पूर्ण जगत् सुत्तछ भने हजुर उठेपछि जगत् जागा हुन्छ । यसरी पूजा गरी भगवान्को प्रतिमालाई शैøयामा शयन गराउनुपर्दछ । र भगवान्का अगाडि दुवैहात जोडेर यस मन्त्रले प्रार्थना गर्नुपर्दछ-
चतुरो वर्षिकान् मासान् देवस्योत्थापनावधि ।
ग्रहीष्ये नियमाञ्छुद्धान् निर्विघ्नान् कुरु मे प्रभो ! ।।
हजुर चार महिना शयन गर्नुहुन्छ, चार महिनापछि हजुरको बिउँझिने अवधि हो । यस अवधिमा म यथाशक्ति नियम पालन गरी व्रतबसी हजुरको आराधना गर्दछु । मेरो व्रत निर्विघ्न पूर्ण हवोस् भनी प्रार्थना गर्नुपर्दछ ।। यसरी भगवान्लाई चार महिनासम्म शयन गराएर चार महिनाभरि विभिन्न नियमको पाना गर्नुपर्दछ । नियमहरू यसप्रकार छन्

श्रावणे वर्जयेच्छाकं दधि भाद्रपदे तथा । दुग्धमाश्वयुजे मासि कार्तिके द्विदलं त्यजेत् ।। कूष्माण्डान् राजमाषांश्च मूलकं गृञ्जनं तथा । करमर्दं चेक्षुदण्डं चातुर्मास्ये त्यजेन्नरः। । मसूरं बहुबीजं च वृन्ताकं चैव वर्जयेत् ।। इत्यदि (भ.पु.)

श्रावणमा सागपात खानुहँदैन, भाद्रमा दही, असौजमा दूध र कार्तिकमा दाल खानु हँदैन । त्यस्तै कुभिण्डो, राजमा, मूला, गाँजर, ऊखु, मसुरो, बहुबीज अर्थात् धेरै बीज हुने बिमिरो आदि, भाण्टा, बयर, अमला, लौका, तित्री आदि पदार्थको सेवन गर्नु हुँदैन । अनि चतुर्मासाको व्रत गर्दा यथाशक्ति दानहरू पनि गर्नुपर्दछ । जस्तै अन्नदान, वस्त्रदान, गोदान, तिलपात्रदान, भूमिदान, सुवर्णदान, ताम्रपात्रदान घण्टादान आदि गरेर कार्तिक शुक्लद्वादशीमा उद्यापन कर्म समाप्त गरी भगवानलाई सुताइएको प्रतिमासहित शैय्यादानसमेत गर्नुपर्दछ । सक्नेले अर्को शैøया बनाएर दान गर्दा पनि हुन्छ । कार्तिक शुक्ल नवमी कूष्माण्ड नवमीमा कुभिण्डो दान गर्नुपर्छ । चतुर्मासामा भगवान्लाई दैनिक हजार बत्तीले नीराजन गरेर लक्षदीपदान गर्नु पनि पुण्यदायक हुन्छ ।

कार्तिक महिनाभरी आकाशदीपदान पनि गर्नुपर्दछ । यसरी व्रत गरी कार्तिक शुक्ल द्वादशीका दिन प्रबोधोत्सव गरेर चातुर्मास्य व्रतको उद्यापन गर्नुपर्दछ । तुलसीका समीपमा यज्ञवेदी बनाएर अग्निस्थापना गरेर हवन तर्पण, मार्जन र ब्राहृमण भोजन आदि गराई व्रत समाप्ति गर्नुपर्दछ । यसरी चातुर्मास्यको व्रत गर्दा भगवान् नारायण प्रसन्न भई यसलोकमा सुखसौभाग्य ऐश्वर्य प्राप्त भई परलोकमा मोक्ष समेत प्राप्त हुन्छ । त्यसैले हामी पनि हरिशयनी एकादशीको यथाशक्ति व्रत गरी चातुर्मास्य व्रतारम्भ गरौं, सबैको कल्याण हुन्छ । ॐ हरये नमः ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज