विद्युत् विभागलाई इपानको ज्ञापनपत्र

Read Time = 5 mins

काठमाडौं । विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले जलविद्युत् क्षेत्रको प्रवद्र्धनमा विभागले सबै किसिमको सहजीकरण गर्ने बताउनुभएको छ । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को नयाँ कार्य समितिलाई स्वागत गर्न विभागमा आयोजित कार्यक्रममा उहाँले विभागले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि जलविद्युत् लगानीकर्ताका लागि सहजीकरण र समन्वय गर्ने बताउनुभएको हो । जलविद्युत्को डिजाइन क्यु २५ मा कायम गर्नेलगायतका धेरै जलविद्युत् प्रवद्र्धकका समस्या समाधानका लागि विभागले काम सुरु गरेको महानिर्देशक चटौतले जानकारी दिनुभयो । महानिर्देशक चटौतलाई ज्ञापनपत्र बुझाउँदै इपानका अध्यक्ष गणेश कार्कीले बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनालाई राहत प्रदान तथा विद्युत्को अनुमतिपत्र लम्ब्याउनुपर्ने, प्रसारण लाइन अभावलगायतका कारणले निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्नुपर्ने भन्दै चटौतको ध्यानाकर्षण गराउनुभयो ।

अघिल्लो दिन इपान टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरी जलविद्युत् क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको थियो । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले हाइड्रोलोजी अनुमान गर्न नसकिने विषय भएकाले तोकिएभन्दा कम विद्युत् उत्पादन गरिरहेका आयोजनालाई एकपटकका लागि इनर्जी टेबल परिमार्जन गर्न दिने बताउनुभएको थियो ।

इपान अध्यक्ष गणेश कार्कीले ग्लोबल वार्मिङका कारण जलविद्युत् आयोजनाको इनर्जी क्याल्कुलेसनमा ग्लोबल वार्मिङ कारक बन्दा क्याल्कुलेसन भरपर्दो नभएकाले प्राधिकरणले आयोजना सञ्चालनमा आएको पाँच वर्ष नपुगे पनि इनर्जी टेबल परिवर्तन गर्न दिनुपर्ने माग गर्नुभएको थियो । कार्यकारी निर्देशक घिसिङले मौसम परिवर्तनका कारण विद्युत् प्राधिकरणका आयोजनाबाट समेत गत वर्ष ३० प्रतिशत कम विद्युत् उत्पादन भएको जानकारी गराउँदै निजी क्षेत्रका आयोजना झन् धेरै प्रभावित भएकाले सञ्चालनमा रहेका आयोजनालाई इनर्जी टेबल परिमार्जन गर्न दिन प्राधिकरण तयार रहेको बताउनुभएको हो ।

ADVERTISEMENT

सबै आयोजनालाई जथाभावी परिमार्जन गर्न दिँदा दुरूपयोग हुन सक्ने भएकाले सञ्चालनमा आएका आयोजनालाई मात्रै परिमार्जन गर्न दिनुपर्ने उहाँको भनाइ थियो । विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारीले जलविद्युत् आयोजना बनाउँदा दुुई सय वर्षअघिदेखिको पानीको इतिहास हेरेर इनर्जी क्याल्कुलेसन गरिएको तर ग्लोबल वार्मिङका कारण हरेक वर्ष पानीको सतह घट्दै गएकाले आगामी दिनको अनुमान गरेर इनर्जी क्याल्कुलेसन गर्नुपर्ने बताउनुभयो । इपान अध्यक्ष कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौतासँगै भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी ऊर्जा व्यापार सम्झौता अघि बढाउन दुवै देशका सचिवस्तरमा भएको सहमति कार्यान्वयनका लागि सोहीअनुसारको तयारी गर्नुपर्ने बताउनुभयो । विद्युत्् खरिदबिक्री सम्झौताका लागि आवेदन गरेर करिब तीन वर्षदेखि रोकिएका १० हजार पाँच सय मेगावाटभन्दा बढीका आयोजनाको विद्युत्् खरिदबिक्री तत्काल खुलाउन पनि उहाँले माग गर्नुभएको थियो ।

जवाफमा कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्षमा नेपालमा हुने खपत वृद्धिसहित भारत र बंगलादेश निर्यात हुने विद्युत्समेत गरेर २० हजार मेगावाट विद्युत् चाहिने भएकाले उक्त विषयमा ऊर्जामन्त्री र ऊर्जा सचिव पनि सकारात्मक भएकाले छिट्टै पिपिए खुला हुने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज