नीतिसम्मत र जिम्मेवार एआई अवलम्बन

Read Time = 12 mins

-यस्मिन हम्दार, केजोम नोडुप मसाली र गायान पेरिस-
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हाम्रो दैनिक जीवनमा प्रभाव पार्न थालिसकेको छ । युएन्डिपीले देशहरूलाई एआईको खतरालाई कम गर्दै यसबाट फाइदा लिनका लागि सहयोग प्रदान गरिरहेको छ ।

✍️ अनुवादक : नारायणप्रसाद घिमिरे
यतिखेर च्याटजिपिटीदेखि डिपफेकसम्मका एआईका विषयले मिडियामा निकै चर्चा पाएका छन् । तर, चर्चामात्र होइन, विकासका प्राथमिकता अघि बढाउन एआई फाइदाजनक छ । साथै, एआई अवलम्बनका सम्भावित खतराहरू कम गर्नका लागि देशहरूको एआई तत्परता (एआई रेडिनेस)को मूल्यांकन सहयोगी र प्रारम्भिक कदम हो ।

एआईले समाजलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ । सूचना र डाटाको प्रयोगबाट भविष्यको विश्लेषण गरी विपद् जोखिम न्यूनीकरण गर्नेदेखि भाषाको अवरोध हटाउन अनुवाद गर्ने सफ्टवेरको प्रवद्र्धन सम्मका लागि एआईको प्रयोग र प्रभाव हाम्रो जीवनमा देखिइसकेको छ । यद्यपि, विशेषगरी एआईको नीतिसम्मत र जिम्मेवार विकास र प्रयोग सुनिश्चित गर्न समयमै सक्रिय कदम चालिएन भने यसका नकारात्मक प्रभाव पनि छन् । एआई तत्परता मूल्यांनमार्फत् देशहरूको एआई अवलम्बनको सफलताका लागि युएन्डिपीले एआई निर्माण र कार्यान्वयनमा महत्वपूर्ण सहयोग गर्दैछ ।

एआई, डाटा र मानिसको मिलनबिन्दू
बजारमा उपलब्ध एआई जडित उपकरणका फाइदाको बढाइचढाइ गरेको पाइन्छ, तर कमजोरी लुकाइन्छ । यद्यपि, अहिलेको ज्वलन्त उदाहरण च्याटजिपिटीको कुरा गर्दा नीतिसम्मत र जिम्मेवार एआईको प्रश्न उठ्छ ।

एआई नैतिकता र मूल्य उपलब्ध प्रारूपमा एकीकृत गर्न सकिन्छ । अझ महत्वपूर्ण के छ भने, मूल्यांकन यस्तो राष्ट्रसंघीय संयन्त्र हो जुन विशेषगरी एआई अवलम्बनको जुनसुकै चरणमा रहेका सरकारका लागि उपलब्ध र विश्वभर लागू गर्न मिल्नेछ ।

युएनडिपीको डिजिटल रणनीतिले प्रविधिको खाका तयार गर्दा यो मानव केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । अर्थपूर्ण सामाजिक प्रभावका लागि एआई नवप्रवर्तनलगायत डिजिटल रूपान्तरणको उद्देश्य अनिवार्यरूपमा समावेशी र अधिकारमा आधारित हुनुपर्छ । जस्तै, सरकारले सार्वजनिक सेवा प्रवाहको सुधारका लागि एआईको सुविधा लिँदा, यसबाट हरेकले समानरूपले फाइदा लिने कुरा सुनिश्चित गर्न विभिन्न तहमा समावशीता भयो भएन ध्यान पुर्‍याउनु जरुरी छ ।

‘युएन्डिपी डिजिटल रणनीति (२०२२-२०२५)’ ले उल्लेख गरेको छ, ‘मानव र एआई एकअर्काका परिपूरक हुन् । यिनीहरूबीचको सहकार्यले आर्थिक वृद्धि, उत्पादन, स्वास्थ्य सेवा, शिक्षा, सञ्चार र यातायातका क्षेत्रमा नयाँ अवसरहरूको ढोका खोल्छ । धेरैभन्दा धेरै राज्यमा एआई र रोबोट नियमावली बनाइएका छन् । सामाजिक भलाईका लागि प्रविधिको नीतिसम्मत र जिम्मेवार प्रयोग अनिवार्य छ ।’

एआईका विभिन्न ढाँचाले काम गर्न डाटा चाहिन्छ । डाटाको गुणस्तरले नै नतिजाको गुणस्तर निर्धारण गर्छ । त्यसैले गुणस्तरहीन डाटाको प्रयोग गरियो भने नतिजा पनि गुणस्तरहीन नै निस्कन्छ । वास्तवमा, डाटाको गुणस्तर कायम भएन भने यसले विभेद निम्त्याउँछ र संकटापन्न समूहमाथि अझ भेदभाव गरी उनीहरूलाई छन् पछाडि धकेन्छ । अतः डाटाको शुद्धता, सान्दर्भिकता र प्रतिधित्वपनाले नतिजाको सत्यता र विश्वसनीयतामा प्रभाव पार्छ । यसको प्रभाव डाटाले दिने अर्थमा पनि रहन्छ ।

ADVERTISEMENT

सँगसँगै काम गर्ने डिजिटल प्रणालीको अन्तरसञ्चालित सञ्जालको रूपमा डिजिटल सार्वजिक पूर्वाधारले समयोचित र विश्वसनीय डाटा प्रवाह गर्न बल प्रदान गर्छ । जस्तै संकटको समयमा, प्रतिकार्यात्मक कार्यक्रम र निर्णय लिनका लागि सही र अद्यावधिक सूचनामा पहुँच आवश्यक पर्दछ । यस्तो खालको डिजिटल पूर्वाधारको अभावमा डाटा प्रवाह रोकिन्छ अथवा उपलब्ध डाटा गलत वा अपूर्ण हुन्छ ।

विभिन्न देशका एआई अभियानमा सहयोग
एआई जडित प्रविधिको अवलम्बन गरी जनतालाई राम्रा सेवा उपलब्ध गराई उनीहरूको जीवन सुधार गर्न युएनका सदस्य राष्ट्रहरू निक्कै उत्सुक छन् । तर, यी प्रविधिको फाइदा र चुनौती दुवै भएकाले नीतिसम्मत डाटा र एआई गभर्नेन्स प्रारूपका साथै उच्च क्षमता र सम्बन्धित ज्ञानको उत्तिकै आवश्यकता पर्दछ ।

युएन्डिपी र अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)ले एआईबाट जिम्मेवारपूर्वक फाइदा लिनुको साथै सरकारहरूको डिजिटल क्षमता विकासका लागि ‘संयुक्त सेवा’ नामक पहलकदमी अघि बढाएका छन् । युएनडिपीले केन्या, मौरिटानिया, मोल्डोभा र सेनेगलका सरकारलाई डाटा गभर्नेन्स ढाँचा तयार गर्नका लागि सहयोग गरिरहेको छ । यसको उद्देश्य प्रमाणमा आधारित निर्णय लिनका लागि डाटाको प्रयोगको प्रवद्र्धन गर्नु हो । त्यसैगरी अर्को जारी पहल हो-‘नीति अन्वेषकका लागि डाटा’ । युएन्डिपी र बिएमजेडको डाटा फर पोलिसी इनिसियटिभले यो निर्माण गर्दैछन् । यसबाट निर्णयकर्ताहरूलाई नीति-विकास प्रक्रियामा नयाँ डाटा स्रोत एकीकृत गर्न आवश्यक ज्ञान मिल्छ । यसका लागि डाटा विज्ञानको अध्याधुनिक वा पूर्वज्ञान हुनु जरुरी छैन ।

युनेस्को र आइटियुसहित युएन्डिपी पनि एआईसम्बन्धी राष्ट्रसंघीय अन्तर एजेन्सी कार्य समूहमा सामेल छ । यस समूहको उद्देश्य अन्य देशको फाइदाका लागि सामूहिक सिकाइ र उत्कृष्ट अभ्यासबारे जानकारी प्रदान गर्नु हो । यस समूहले गोपनीयताको हक, निष्पक्षता र डाटा उत्तरदायित्वसम्बन्धी अन्तर्राष्ट्रिय र मानव अधिकार नियमनका महत्वपूर्ण पक्ष समावेश गरी एआई नीतिसम्मत मापदण्डका लागि सिफारिश तयार पारेको छ ।

एआई अवलम्बनको चरण देशैपिच्छै फरक छ । उचित डिजिटल पूर्वाधार, गभर्नेन्स र समुदायको विशेष आवश्यकता र क्षमताको समुदायिक सबलीकरणका लागि यसको सही मूल्यांकन आवश्यक पर्दछ । यसका लागि, अक्सफोर्ड इन्साइट्ससँग मिलेर युएनडिपीले एआई तत्परता मूल्यांकन तयार पारेको छ । यो तत्परता मूल्यांकनले देशलाई उपलब्ध पूर्वसावधानी र तयारीको स्थिति साथै जिम्मेवार, नीतिसम्मत र दिगो एआई प्रणाली अवलम्बनका लागि भविष्यमा के कुरा आवश्यक पर्छ भन्ने राम्रो ज्ञान प्रदान गर्छ ।

एआई तत्परता मूल्यांकन
एआई तत्परता मूल्यांकन बृहद् उपकरणको संकलन हो जसले एआईको समग्र अवस्थाको समीक्षा गर्न र सरकारलाई विविध क्षेत्रमा उसको तत्परताको स्तर मूल्यांकनका लागि सहयोग गर्दछ । यो प्रारुपले सरकारको दोहोरो भूमिकामा जोड दिन्छ-क) प्राविधिक विस्तारको सहजकर्ता, र ख) सार्वजनिक क्षेत्रमा एआईको प्रयोगकर्ताहरू । अझ महत्वपूर्ण त यो छ कि यो मूल्यांकनले एआई प्रयोगसम्बन्धी नीतिसम्मत सोच विचारलाई प्राथमिकतामा राख्छ ।

यसैगरी, यो मूल्यांकनले नीति, पूर्वाधार र सीपका साथै नीतिसम्मत एआईको विकास र कार्यान्यवनका लागि आवश्यक पर्ने महत्वपूर्ण विषयमा जोड दिन्छ । राष्ट्रिय प्राथमिकता तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि एआई सञ्चालित प्रविधि जनस्तरमा मै कार्यान्वयन गर्दा यी पक्षहरूले महत्वपूर्ण अर्थ राख्छन् ।

त्यतिमात्र होइन, यो मूल्यांकनले गुणात्मक विधि अपनाउँछ, सर्वेक्षणको उपयोग गर्छ, प्रमुख जानकारसँग अन्तर्वार्ता लिन्छ, निजामती कर्मचारीसँग कार्यशाला आयोजना गर्छ, जसले गर्दा कुनै देशमा एआईको सर्वपक्षीय अवस्थाको गहन अध्ययन गर्न सहज हुन्छ । यसका लागि, एआईको नियमनकारी पद्धतिको प्रभावकारी र नैतिक कार्यान्वयन गर्न सरकारलाई मूल्यवान ज्ञान र सल्लाह प्रदान गर्दछ । एआई नैतिकता र मूल्य उपलब्ध प्रारूपमा एकीकृत गर्न सकिन्छ । अझ महत्वपूर्ण के छ भने, मूल्यांकन यस्तो राष्ट्रसंघीय संयन्त्र हो जुन विशेषगरी एआई अवलम्बनको जुनसुकै चरणमा रहेका सरकारका लागि उपलब्ध र विश्वभर लागू गर्न मिल्ने छ । (स्रोतः यूएनडिपीडटओआरजी, २०२३)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *