काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । दुई शहरबीचको नयाँ सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ । उक्त रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्नेमा एयरलाइन्सको विश्वास रहेको छ । शनिबारदेखि सञ्चालनमा आएको काठमाडौं-बेइजिङ-काठमाडौं रुट हरेक शनिबार सञ्चालन हुनेछ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ दुर्ई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गर्नुभयो । यात्रुले हिमालय एयरलाइन्समा हिमालयन आतिथ्यताको अनुभव गर्दै यस रुटमा यात्रा गर्न सक्ने एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सको पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहानको सात बजेर ४० मिनेट भएको थियो भने बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो दुई बजेर १५ मिनेटमा अवतरण गरेको थियो । उडान अवधि चार घण्टा ४५ मिनेटको रहेको थियो । साथै बेइजिङबाट फर्कने उडान एच नाइन ६६६ स्थानीय समयअनुसार दिउँसोे तीन बजेर २५ मिनेटमा प्रस्थान गर्ने र बेलुका छ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘काठमाडौं र बेइजिङबीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छौँ । यस क्षेत्रका दुर्ई प्राचीन राजधानी जोड्न र दुर्ई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्नसमेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोरोनापछि यस रुटमा उडान पुनः सुचारु हुनु महत्वपूर्र्ण छ । यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थिति बलियो बनाउनेमात्र होइन, व्यावसायिक र फुर्सदका यात्रु दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts