आकाशमा परिभ्रमण गर्ने पिण्डविशेष ग्रह हुन् । जसका आधारमा पृथ्वीवासीका निम्ति शुभाशुभत्वको वर्णन गरिन्छ । दृष्ट वस्तु भौतिक हुन् भने अदृश्य शक्ति आध्यात्मिक हो । आत्मिक बलले नै भौतिक वस्तुको अस्तित्व रहने गर्दछ । यसैले हरेक वस्तुमा आत्मिक सूक्ष्म परं तत्व विद्यमान हुन्छ । वेदमा हरेक वस्तुलाई देवताको संज्ञा दिइएको छ । देवत्व हुनु आत्मिक वृत्ति रहनु हो । यसैले आकाश मण्डलमा परिभ्रमण गर्ने ग्रह भौतिक हुन् र आध्यात्मिक पनि हुन् ।
मूलतः ग्रहलाई हाम्रा शास्त्रले भौतिकभन्दा पनि आध्यात्मिक रूपमा बढी महत्व दिएको पाइन्छ किनकि हामी ग्रहलाई देवता मान्दछौँ । देवभावले पूजा गर्दछौँ । भौतिक नभई अध्यात्मको ज्ञान पनि असम्भव हुन्छ । यसैले सर्वप्रथम भौतिक वस्तुको दर्शन हुन्छ र उक्त भौतिकभित्र अध्यात्मको खोज विशेष रहने गर्दछ । आत्मिक तत्वलाई जहाँ स्वीकार गरिन्छ त्यो नै अध्यात्म हो । हरेक परमाणुमा अध्यात्म विद्यमान छ । हामीले स्वीकारे पनि नस्वीकारे पनि । जो शाश्वत छ त्यो नित्य रही नै रहन्छ जसलाई प्रत्यक्ष आँखाले देख्न सकिँदैन । यसैले आत्माको व्याख्या गीताम यसरी गरिएको छ :
‘न जायते म्रियते वाकदाचिन्नायं भूत्वभवितावा न भूयः ।
अजो नित्यःशाश्वतोद्रयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।’ गीता, २।२०
अर्थात् यो आत्मा न कुनै समयमा जन्मिएको थियो, न यो मर्छ नै । यसलाई फेरि उत्पन्न गर्न पनि सकिँदैन, यो त शाश्वत र नित्य छ । भौतिक वस्तु अनित्य छन् । हाम्रो शरीर भौतिक हो यसैले यो अनित्य छ । यसको निश्चित आयु छ । उक्त आयु सकिएपछि हाम्रो शरीर र आत्माको विच्छेद हुन्छ । आत्मा अमर भएकाले नित्यर शाश्वत रहिरहन्छ भने भौतिक शरीर पञ्चतत्वमा मिलेर जान्छ । यस्तै आकाशीय भौतिक ग्रहपिण्डको पनि निश्चित आयु छ । उक्त समयसम्म भौतिक उपस्थिति देख्न सकिन्छ । सोपश्चात् ग्रहको पनि केवल उही आध्यात्मिक स्वरूप रहिरहन्छ जो नित्य र शाश्वत छ ।
ज्योतिषशास्त्रमा ग्रहको आत्मिक पक्षलाई व्याख्या गर्न निरयण पद्धति प्रचलनमा ल्याइएको हो । ग्रह भौतिक रूपमा देखेर होइन आध्यात्मिक रूपमा दृष्ट भएपछि नै अधिक प्रभावकारी र फलदायी रहन्छन् । यसैले निरयण पद्धतिका हरेक ग्रह ध्रुवाभिमुख हुन्छ ।
परम अक्षर अर्थत् कहिले पनि नष्ट नहुने तत्व ब्रहृम हो । प्रत्येक वस्तुको आफ्नो मूलभूत स्वभाव अध्यात्म हो । हामीले देख्ने ग्रहभौतिक हुन् भने हामीले मान्ने ग्रह आध्यात्मिक हुन् । ग्रहले भौतिक रूपमा पार्ने प्रभावभन्दा पनि आध्यात्मिक रूपमा पार्ने प्रभाव अधिक महŒवपूर्ण रहन्छ जुन सूक्ष्म हुन्छ । जसलाई प्रत्यक्ष वोध गर्न सकिँदैन । यसैले ज्योतिषशास्त्रमा ग्रहको आत्मिक पक्षलाई व्याख्या गर्न निरयण पद्धति प्रचलनमा ल्याइएको हो । ग्रह भौतिक रूपमा देखेर होइन आध्यात्मिक रूपमा दृष्ट भएपछि नै अधिक प्रभावकारी र फलदायी रहन्छन् । यसैले निरयण पद्धतिका हरेक ग्रह ध्रुवाभिमुख हुन्छ ।
ध्रुवप्रोत रहनु आत्मिक पक्षलाई जागृत गर्नु हो किनकि कालिदासले पनि ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा....’ त्यत्तिकै भनेका होइनन् । हाम्रो आत्मिक ऊर्जाको स्रोत उत्तर दिशामा छ । यसैले आज पृथ्वीको नापनक्सा लिन पनि उत्तरी ध्रुवलाई आधार मानिन्छ । अकाशको नापनक्सा परिगणना पनि यही उत्तरी ध्रुवमै आधारित छ । हाम्रो पौरस्त्य परम्परामा त ध्रुवको वरिपरि सप्तर्षि घुम्छन् । अर्थात् ध्रुवप्रदेशकै सुमेरु पर्वतमा रहने ब्रहमाजीले सृष्टि विष्णु भगवान्ले स्थिति र शङ्कर भगवानले लय गर्ने कुरा इतिहास पुराणबाट पनि जान्न सकिन्छ ।
सामान्य रूपमा भन्ने हो भने अध्यात्म भनेको आफूभित्रको चेतन तत्वलाई अनुभूत गर्नु हो । चेतन तत्व परमात्मासँग जोडिएको हुन्छ । आत्मा नै परमात्माको अंश भएकोले यसको ज्ञान र खोजको मार्ग अध्यामिक मार्ग हो । हरेक व्यक्ति र वस्तु भौतिक र आध्यात्मिक दुवै हो । कसैले म अध्यात्माई मान्दिन भन्न सक्छन् तर ती स्वयंमा अध्यात्महीन हुँदैनन् । किनकि सूक्ष्म रूपमा हरेक व्यक्ति र वस्तु एउटै आत्मिक तत्वबाट अनुप्राणित हुन्छन् । यसैले ग्रहका भौतिक पिण्डले भन्दा पनि आत्मिक पिण्डले प्रदान गर्ने शक्तिको विशेष महत्व रहने गर्दछ । यसैले त हाम्रा ज्योतिषीय गणना नासाका दृक्पक्षीय गणनासँग मेल खाँदैनन् । ग्रहण भौतिक हो । यसैले ग्रहण गणना दृक्सिद्ध पद्धतिबाट गर्नुपर्दछ भन्ने हाम्रा महर्षिको मत छ :
‘अदृष्टफलसिद्ध्यर्थं यथार्कगणितं कुरू
गणितं यदिदृट्यर्थं तद्दृष्ट्युद्भवतस्सदा ।।’ (निर्णयसिन्धु)
अदृष्ट फलसिद्धिका लागि ग्रहपिण्डको अदृश्य ग्रह (देव बिम्ब) आवश्यक हुन्छ किनकि भौतक चक्षुद्वारा देवताको दर्शन असम्भव छ । अदृष्ट फलका लागि पञ्चाङ्ग उपयोगी तिथ्यादिको निर्णयमा दृग्गणितलाई ऋषिले निषेध गरेका छन् । यसैले हाम्रा पात्रा सूर्यसिद्धान्तमा आधारित छन् । जो आत्मिक पक्षलाई उजागर गर्न नै साधना गरिएका छन् ।
भौतिकका तुलनामा आत्मिक बल अति प्रभावकारी हुन्छ । भौतिक बल क्षणिक हुन्छ भने आत्मिक बल शाश्वत रहन्छ । सूर्यको तापभन्दा पनि सूर्यबाट प्राप्त हुने आत्मिक ऊर्जाको विश्लेषण ज्योतिष शास्त्रमा गरिएको छ । सूर्यका सहस्र किरणको भौतिक प्रभाव हामीलाई पर्छ । सूर्यले पोल्छ यो भौतिक कुरा हो । सूर्यबाट आत्मिक शक्तिको प्रवाह हुन्छ भन्ने चिन्तन आध्यात्मिक हो । सूर्यको पूजा गर्ने, उपासना गर्ने, जपध्यानादि गर्ने सबै कुरा आत्मिक फलसिद्धिका निम्ति गरिएका हुन् । भौतिक रूपमा सूर्यका दूषित किरण छेक्न सक्ने र सकारात्मक किरण ग्रहण गर्न सक्ने सामथ्र्य हामीमा हुँदैन । सूर्यलाई छेकेर पनि छेक्न असम्भव छ ।
आजको विज्ञानले भौतिक वस्तुमात्र स्वीकार्छ भने ज्योतिषले भौतिकका साथै अध्यात्मिक पक्षलाई पनि आफ्नो अध्ययनको केन्द्र बनाएको छ । यसैले ज्योतिषशास्त्र भौतिक र आध्यात्मिक दुवै पक्षको चिन्तन गर्ने शास्त्र हो । मूलतः ज्योतिष आध्यात्मिक पक्षको ज्ञान गराउने शास्त्र हो ।
यसैले हाम्रा ऋषिमहर्षिले सूर्यको आत्मिक प्रभावलाई जान्न, बुझ्न र तदनुसार जीवन यापन गर्न अभिप्रेरित गरेका छन् । यसैले सूर्यको उपासना भनेको हामीभित्र रहेको सूर्यजन्य आत्मिक वृत्तिको ध्यान हो जुन भौतिक आँखाले देखिँदैन । यसैगरी अन्य ग्रहका पनि आत्मिक पक्षको चिन्तन नै हाम्रा शास्त्रमा व्यक्त पाइन्छ । चन्द्रमाको शीतलता भौतिक पक्ष हो । भौतिक चन्द्रमालाई पूजा गरेर हाम्रो मन शान्त हुन सक्दैन । तर, आत्मिक अझ भनौँ आध्यात्मिक चन्द्रमाको उपासनाले तत्जन्य वृत्तिमा प्रभाव पार्न सक्ने हुन्छ । यही शास्त्रको निष्कर्ष पाइन्छ । अन्य ग्रहका सन्दर्भमा पनि यही कुरा विद्यमान रहने गर्दछ ।
नवग्रह हामी आफूमै विद्यमान छन् । यसैले त हस्तरेखमा प्रत्येक ग्रहका पर्वत उल्लेख छन् । हाम्रो शरीर नै बहृमाण्डको सूक्ष्म एकाइ हो । भौतिक रूपमा हामी भिन्न देखिन्छौँ तर आत्मिक रूपमा हामी एकीकृत छौँ । यसैले त कोसांै टाढा रहेका ग्रहको उपासना गरेर हामी आध्यात्मिक शक्तिको आर्जन गर्दछौँ । यसरी ग्रहको उपाना गर्नु भनेको हामी आफूमा रहेका तत्जन्य वृत्तिलाई जागृत गराउनु हो ।
हामी अनन्त शक्तिका संवाहक हौँ । यसरी ऊर्जाको स्रोत बढाउन भौतिकभन्दा पनि आत्मिक पक्ष अझ भनौँ आध्यात्मिक पक्षलाई सबल बनाउनु जरुरी हुन्छ । सूर्यले दिने तातो राप भौतिक हो । किरणबाट आउँने तत्व भौतिक हो तर हाम्रो आत्मिक वृत्ति आध्यात्मिक हो । हामीमा हुने अग्नितत्व र सूर्यमा हुने अग्नितत्वको सूक्ष्म सादृश्य आत्मिक हुन्छ । आफूमा भएको अग्नितत्वको ऊर्जालाई सबल तुल्याउन सूर्यको उपासना गर्दछौँ ।
त्यो तत्वको मात्रात्मक अवस्थितिको सन्तुलन भौतिक मार्ग भएर अध्यात्ममा गई टुङ्गिने गर्दछ । यसैले भौतिक दृश्यरूप हो । जो स्थूल हुन्छ । प्रत्यक्ष वेद्य पनि हुन्छ तर आत्मिक पक्ष अदृश्य, सूक्ष्म र अवेद्य हुन्छ तर भौतिकभन्दा हजारौँ गुणा शक्तिशाली आध्यात्मिक पक्ष रहने गर्दछ । यसैले हाम्रा पौरस्त्य जीवन पद्धति भौतिक हुँदै अध्यात्ममा गएर समाहित भएका छन् किनकि अन्तिम सत्य अध्यात्म हो ।
यसैले आकाशमा देखिने ग्रहतारा भौतिक पिण्ड हुन् । भौतिक दृष्ट हुन्छन् । प्रत्यक्ष पनि हुन्छन् । तिनै ग्रहताराको आत्मिक सूक्ष्म रूप पनि रहन्छ । यही सूक्ष्म रूपको अध्ययन अनुसन्धान गर्नका निम्ति ज्योतिषीय परिगणना हुने गर्दछन् । सायन र निरयण दुबै गणना ज्योतिषमा विद्यमान छन् । सायन दृष्ट हो भने निरयण अदृष्ट हो । यसैले ज्योतिष भौतिक मार्ग हुँदै अध्यात्मको मन्दिरमा पुर्याउने शास्त्र हो । यसैले आजका भौतिक गणनासँग ज्योतिषको तादात्म्य नरहन सक्छ ।
आजको विज्ञानले भौतिक वस्तुमात्र स्वीकार्छ भने ज्योतिषले भौतिकका साथै अध्यात्मिक पक्षलाई पनि आफ्नो अध्ययनको केन्द्र बनाएको छ । यसैले ज्योतिषशास्त्र भौतिक र आध्यात्मिक दुवै पक्षको चिन्तन गर्ने शास्त्र हो । मूलतः ज्योतिष आध्यात्मिक पक्षको ज्ञान गराउने शास्त्र हो । यसैले ग्रह भौतिक र आध्यात्मिक दुवै हुन् । ज्योतिषमा ग्रहका भौतिक र आध्यात्मिक दुवै पक्षको अध्ययन अनुसन्धान हुने गर्दछ । मूलतः ज्योतिषशास्त्रले वर्णन गरेका ग्रह आध्यात्मिक हुुन् किनकि आत्मिक ज्ञान नै हाम्रो परं लक्ष हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा