घर न घाटको बन्दै ‘बोटे समुदाय’

एकातिर विकास अर्कोतिर बेरोजगार बढ्दै

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 12 mins

पाल्पा । डुंगा चलाएर गुजारा गर्दै आउनुभएका पाल्पाको बगनासकाली गाउँपालिकास्थित दैलातुङका ६० वर्षीय रामबहादुर बोटेलाई यतिबेला आर्थिक समस्याले पिरोल्ने गरेको छ । कालीगण्डकी नदीमा दैनिक डुंगा चलाएरै सातजनाको परिवार पाल्दै आउनुभएका बोटेलाई पुल बनेपछि आर्थिक समस्या उत्पन्न भएको हो । कालीगण्डकी नदी नजिकै झुपडी बनाएर बस्नुभएका उहाँ पहिले-पहिले डुंगा चलाएर रोजीरोटी चलाउँदै आएको भए पनि कालीगण्डकी नदीमा पुल निर्माणसँगै उहाँको छाक नै खोसिएको छ । बोटे भन्नुहुन्छ, ‘२० वर्षको उमेरदेखि डुंगा चलाएको हुँ, पुल बनेपछि छाकै खोसियो ।’ विकास आवश्यक भए पनि विपन्न जनतामा त्यसले पार्ने असरलाई बुझेर विकल्पको बाटो सरकारले दिनुपर्ने उहाँको तर्क छ । ‘जमानामा डुंगा चलाउँदा वारपार गरेको चार रुपैयाँ लिन्थ्यौँ,’ उहाँले भन्नुभयो, ‘कतिले पैसा दिँदैनथे र अरनी माग्थ्यौँ । दिनभरि जम्मा गरेको अरनी घरमा ल्याएर बिहान-बेलुकाको छाक टार्नुपथ्र्यो ।’ विस्तारै सडक खुले, पुल बने । नयाँ पुस्तामा पनि डुंगा चलाउने र माछा मार्ने मोह हराएको उहाँ बताउनुुहुन्छ ।

बगनासकाली दर्पुकका ६६ वर्षीय नरबहादुर बोटेले कालीगण्डकी नदीमा ३५ वर्षसम्म डुंगा चलाउनुभयो । डुंगा चलाएरै पाँचजना छोराछोरी हुर्काउनुभयो । तर, अहिले यहाँ झोलुंगे पुल बनेपछि भने उहाँको आम्दानीको स्रोत नै बन्द भएको छ । उहाँ भन्नुहुन्छ, ‘उमेरले डाँडापारिको घामजस्तै भएको छु, डुंगा चलाउने पेशा नै बन्द भयो, अब केही गर्न सक्दिनँ, पाँच जनाको परिवार कसरी पाल्ने चिन्ताले दिनहुँ सताइरहन्छ ।’ अर्का ५८ वर्षीय दलबहादुर बोटेले पनि लामो समयसम्म राम्दी घाटमा डुंगा चलाउनुभयो । वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित नदी वारिपारि गराउने काममा उहाँ निकै सिपालु मानिनुहुन्थ्यो’ राम्दी घाटमा दिनमा दुईवटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फुर्सद हुन्नथ्यो,’ उहाँले पुराना दिन सम्झिँदै भन्नुभयो, ‘दैनिक दुई/तीन सयसम्म यात्रुलाई नदी वारपार गराउँथ्यौँ ।’ अहिले पुल बनेपछि सबै पुलबाट यात्रा गर्ने भएपछि उहाँको डुंगा चलाउने पेशा रोकिएको मात्र छैन साँझ बिहानको छाक टार्नसमेत धौ धौ भएको छ । उहाँ भन्नुहुन्छ ‘आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन पर्‍यो, काम केही छैन ।’

बस्ती-बस्ती पुग्नका लागि सडकका ट्र्याक खोलिए । नदी र सामान्य खोल्सामा पुल बने । झोलुंगे पुलको संख्या पनि थपियो । दुर्गमका बासिन्दाले विकास महसुस गर्नसक्ने अवस्था त बन्यो  तर नदी किनारमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका बोटे समुदायको रोजीरोटी भने खोसिएको छ । डुंगा चल्ने विभिन्न घाटमा हाल धमाधम पुल निर्माण भएका छन् । डुंगा विस्थापित भएका छन् । कालीगण्डकीको राम्दीघाट, आँधीघाट, खोरियाघाट, केलादीघाट, पुट्टारघाट, घुमारीघाट, भुजातघाट, असेर्दीघाट र बालीघाट लगायतका दर्जनौँ घाटमा जमानामा वारिपारि गर्न डुंगा चल्थे । अहिले यी घाटमा झोलुंगे र पक्की पुल छन् । जसका कारण डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको डुंगा चलाउने पेशा रोकिएको छ ।

पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा दैलातुङ र दर्पुक पर्दछ । यहाँ सीमान्तकृत बोटे समुदाय छ । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका ३२ घर छन् भने दर्पुकमा ८० घर बोटे समुदाय छन् । तर, अधिकांशको आफ्नो घर छैन । कालीगण्डकी नदी किनारमा डुंगा तार्ने र माछ मारेर गुजार चलाउँदै आएको यो समुदाय अहिले दुवै काम ठप्प भएपछि विचल्लीमा परेका छन् । माछा मार्नसमेत रोक लगाएपछि उनीहरू थप समस्यामा परेका हुन् । झुपडीमा लालबालासँगै रहेका उनीहरूका लागि न नयाँ काम पाइन्छ न त परम्परागत रूपमा गर्दै आएको काम नै छ ।

ADVERTISEMENT

आफैं घर बनाएर बस्ने क्षमतासमेत नभएका उनीहरूले जनता आवास कार्यक्रममार्फत घरवासको जोहो गरिदिन स्थानीय सरकासँग माग गरेका छन् । बर्खायाम सुरु हुन लागेकाले आफूहरू चुहिने छानोमुनि रात कटाउन बाध्य भएको भन्दै सरकारसँग गुहार मागेका हुन् । हरेक निर्वाचनमा घर बनाइदिने आश्वासन पाए पनि आफूहरूको घर अहिलेसम्म नबनेको समुुदायका अगुवा सुमित्रा बोटे बताउनुहुन्छ । गरिबीका कारण उनीहरू घाम पानी नछेक्ने झुुपडी घरमा बस्न बाध्य छन् । यहाँका ५५ घरपरिवार त झन् घरवासविहीन छन् । आर्थिक वर्ष २०७६/०७७ मा लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत आठ घर निर्माण गरिदिए पनि त्यो पर्याप्त छैन । बजेट अभावले तत्कालीन समयमा सबैको घर बन्न नसकेकाले आगामी वर्ष बाँकी घर बनाउन सुरु गर्ने आश्वासन पाएको भए पनि अहिलेसम्म सुरसार नहुँदा यस वर्षको वर्खायाम पनि चुहिने घरबाटै रात कटाउनुपर्ने होकि भन्ने चिन्तामा रहेको गजवीर बोटे बताउनुहुन्छ । यो समुदायको आर्थिक अवस्था सुधारका लागि स्थानीय सरकारले ठोस कार्यक्रम बनाउन सकेको छैन । बोटे बस्तीसम्म मोटर बाटो, पिउने पानी व्यवस्थापन र बोटे समुदायकै लागि लक्षित गरेर दर्पुकमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइए पनि रोजगारी सिर्जनाको सवालमा ठोस कार्यक्रम बन्न नसकेको बगनासकाली गाउँपालिका-६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘विगत तीन वर्षअघि यहाँका समुदायमा बाख्रापालनका लागि पालिकाबाट सहयोग हुन्थ्यो तर यसपटक भने त्यो पनि छैन् ।’ अहिले केही गैरसरकारी संस्थासँगको समन्वयमा दर्पुकका बोटे समुदायमा कृषि र पशुपालनका कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । प्रत्यक्ष रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।

बोटे बालबालिकाको शैक्षिक अवस्था
दैलातुङ फाँटको बोटे गाउँनजिकै कक्षा ८ सम्म पढाइ हुने दैलातुङ आधारभूत विद्यालय छ । दर्पुकमा पनि विद्यालय छ । यी विद्यालयमा अधिकांश बोटे समुदायका बालबालिका छन् । केही वर्ष अघिसम्म यहाँका बोटे अभिभावकमा छोरा÷छोरी विद्यालय पठाउनुपर्छ भन्ने चेतनासमेत थिएन । बालबालिका पनि विद्यालय जान र पढ्न रुचि देखाउँदैनथे । तर, अहिले पढ्नुपर्छ भन्ने चेतना भए पनि आर्थिक अभावका कारण धेरै बालबालिकाहरू विद्यालय जान सकेका छैनन् । बोटे बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले उनीहरूलाई दैनिक खाजा भत्ताको व्यवस्थासमेत गरेको छ । तर, उक्त कार्यक्रम त्यति प्रभावकारी हुन सकेको छैन । उनीहरूमा सरसफाइ, नियमित गृहकार्य, न्यानो लुगा, आवश्यक शैक्षिक सामग्रीको भने सधैं अभाव छ । गाउँकै विद्यालयमा जसोतसो कक्षा ८ सम्म पढेका बोटे बालबालिका माध्यमिक शिक्षा लिनका लागि झण्डै दुई घण्टाको उकालो पैदलबाट खानीगाउँ मावि रामबगैँचा पुग्नुपर्छ । त्यसैले कक्षा ८ पास भइसकेपछि निकै कमले मात्रै माध्यमिक शिक्षा लिने गरेका छन् ।

एकातिर घरायसी काम, अर्कोतिर आर्थिक अभाव र विद्यालय आउन/जानकै समस्याले ज्यादै कमले मात्रै माध्यमिक शिक्षा लिने गरेका छन् । यस्तै, वडा नं-६ को दर्पुकमा रहेको भगवती आधारभूत विद्यालयमा कक्षा इसिडीदेखि कक्षा ८ सम्म पढाइ हुन्छ । यहाँबाट कक्षा ८ उत्तीर्ण भई बालबालिका माध्यमिक शिक्षाका लागि बगनासकाली-४ राम्दीमा रहेको राम माविमा पुग्छन् । यहाँ पनि ८ पास भए पनि उपल्लो कक्षा पढ्ने कमै हुन्छ । आर्थिक समस्याका कारण बोटे बालबालिकाले पढाइ नियमित गर्न सकिरहेका छैनन् । यो समस्या समाधानका लागि स्थानीय सरकारले समेत चासो दिएका छैनन् । बोटे बालबालिका केन्द्रित कुनै कार्यक्रम उनीहरूले बनाएका छैनन् । कहिलेकाहीँ यो समुदायका विद्यार्थीका लागि कुनै-कुनै गैरसरकारी संस्था र सहयोगी व्यक्तिहरूले शैक्षिक सामग्री वितरण गर्ने गरे पनि त्यसमा नियमितता भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *