काठमाडौं । हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फरेन्स सुरू भएको हो । कन्क्लेभ उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो । सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत् कुल पुँजीगत बजेटको एक प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उहाँले जानकारी गराउनुभयो ।
सरकारले डिजिटल डिभाइड कम गर्न डिजिटल अर्थतन्त्रमा जोड दिएको भन्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताउनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन भएको बताउनुभयो । सूचना प्रविधि मनोरञ्जनमात्र नभई उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि भएको उहाँको भनाइ थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रविधिको तीव्र विकाससँगै प्रत्येक राष्ट्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण भएको र त्यसबाट नेपालसमेत अछुतो नरहेको बताउनुभयो । हुवावे दक्षिण एसिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि हुवावेले सहयोग गर्ने बताउनुभयो । आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयासस्वरूप दुईदिने कन्क्लेभ आयोजना गरिएको बताउनुभयो ।
कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञसहित ७० बढी स्रोत व्यक्तिको सहभागिता रहेको छ भने विभिन्न छ विषयवस्तुमा १५ बढी सत्र सञ्चालन हुनेछन् । कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषयविज्ञको उपस्थिति रहेको छ । डिजिटल क्यापाबिलिटजबारे वल्र्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई, हुवावे एसिया प्यासिफिक क्षेत्रका सिनियर इण्डष्ट्री सोलुसन एक्सपर्ट ली युनसेङ र डिजिटल नेपाल पहलबारेमा सञ्चार सचिव कृष्णबहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, क्यान महासंघका अध्यक्ष रञ्जीत पोदार, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायत नेपाल सरकारका उच्च अधिकारी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्वलगायतको उपस्थिति रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts