काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणिकरण लगाउने मन्त्रीपरिषदको सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नु भएको छ ।
तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण नगरेको सो विधेयक संवैधानिक र कानूनी हिसावले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमाणिकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिनुपर्ने उहाँको तर्क थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकीर गर्दै पछि हट्न आग्रह गर्नु भयो ।
उहाँले गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था पनि उपयुक्त नभएको बताउनु भयो ।
सांसद सुवालले भन्नु भयो, ‘नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ । तर, विदेशीलाई दिनु हुँदैन । २०६३ सालयता सार्वजनिक सर्जिमन गराई विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नु पर्छ । जन्मको आधारमा विदेशी नेपाली भएकाका छोराछोरीहरुलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु उचित होइन । यो नेपाललृाई सिक्किमजस्तै बनाउने हो । र, शासकहरु लेन्डुपजस्तै हुने बाटो हो । यो देशद्रोही बाटोबाट सरकार पछि हटनु जरुरी छ । अघिल्लो राष्ट्रपतिले प्रमाणिकरण गर्न अस्विकार गर्नु भएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसदलाई छलेर मन्त्रीपरिषदबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणिकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरुरी छ । र, संसदमा नागरिकता विधेयक ल्याउन जरुरी छ । जन्मको आधारमा नेपाली नागरिकता पाउन आमा र बुबा दुवै वंशजको आधारमा नेपाली नागरिक हुनुपर्ने कानुनी व्यवस्था जरुरी छ । गैर आवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरु हुन । नेपालको भूराजनीति अनुसार गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई उपयुक्त छैन ।’
सांसद सुवालले नेपालको भूराजनीतिका कारण पनि गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था उपयुक्त नभएको बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts