उद्घाटन भएको ६ महिनापछि पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान

डिबी शर्मा
डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चीनबाट उडेको एयरलाइन्सले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किएको छ । विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

विमानमा पोखराको फेवातालमा असार ८ र ९ गते आयोजना हुने नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरू बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित सातजना सांसदको टोली जेठ २७ गते चीन भ्रमणमा गएको थियो ।

अंग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन भने सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो ।

चीनको सिचुआन एयरलाइन्सको बुधबार चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच असार १ गते सम्झौता भएको थियो ।

चिनियाँ नागरिकलाई पोखरा भ्रमणको निम्तो
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकको वृद्धि हुने बताउनुभएको छ । विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटक पोखरा आउने सम्भावना उच्च रहेको बताउनुभयो । नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलजस्तै समयसमयमा विभिन्न फेस्टिबलको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटक वृद्धि गर्न सकिने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताउनुभयो । उहाँले चीनका विभिन्न नगरसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि बताउनुभयो । चीनले आगामी दिनमा पनि विभिन्न मुख्य सहरबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको उहाँको भनाइ छ । प्रमुख आचार्यले चिनियाँ नागरिकलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिनुभयो ।

विमानस्थल बिआरआई परियोजनाअन्तर्गत हो : चिनियाँ राजदूत
नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको दोहो¥याउनुभएको छ । पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको दोहो¥याउनुभएको हो । यसअघि विमानस्थल उद्घाटनका क्रममा उहाँले विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताउनुभएको थियो । ‘हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो ।’ पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।

सुरुवातभन्दा ठूलो कुरा निरन्तर सञ्चालन गर्नु हो : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताउनुभएको छ । विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरु गर्नु पहिलो कदम भए पनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘यो शुरुवात गर्नु धेरै ठूलो कुरा हो । योभन्दा पनि ठूलो कुरा यसलाई निरन्तर सञ्चालन गर्नु हो,’ उहाँले भन्नुभयो, ‘सगरमाथा विश्व शिखर मात्रै होइन, विश्वकै अग्लो सिमाना पनि हो । यो प्राकृतिक सिमाना जति अग्लो छ । त्योभन्दा अग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।’ मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भाञ्जाभाञ्जी आएजस्तो लाग्ने गरेको बताउनुभयो ।

विमानस्थल नियमित बनाउन सबैले साझा प्रयत्न गरौँ : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षले जागरुकता देखाउनुपर्ने बताउनुभएको छ । उहाँले उडान नियमित रूपमा गर्नसके मात्रै पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । खुसियाली कायम राख्न सबैको साझा प्रयत्न गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भारतसँग जमीनको खुला सिमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभयो । ‘अब धेरै तयारी गरेर उडानलाई नियमित गर्नुछ । उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने अर्को ६ महिनामा आउने भयो भने केही अर्थ हुँदैन,’ उहाँले भन्नुभयो, ‘यो खुसियाली सधैँ कायम राख्नको लागि सबै पक्षले साझा प्रयत्न गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *