काठमाडौं । नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ ।
सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरु फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने उहाँको तर्क थियो । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकमा शुन्य समयमा बोल्दै सांसद मैनालीले सो क्षेत्रलाई प्राचिन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भन्नु भयो, ‘बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो । अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरुमा श्रीकृष्णको मन्दिर, स्वामि नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरु फेला परिराखेको छ । तसर्थ, म सरकारसँग प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र, विश्व सम्पदा सूचिमा समावेश गरियोस भनेर जोडदार माग गर्न चाहन्छु ।’
सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाई गर्न नहुने पनि बताउनु भयो ।







Breaking news with related posts