गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
मङ्गलबार नगरपालिकाको १३औं नगरसभामा सभाका अध्यक्ष एवम् नगरप्रमुख खिलध्वज पन्थीले सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पर्यटन विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा समावेश गरी २३८ बुदें वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगरप्रमुख पन्थीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम अनुसार नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न नगरपालिकामा डिजिटल सूचनापाटी, मोबाईल एप्स, सामाजिक सञ्जाल, ग्रूप म्यासेज नागरिक एप्स, नागरिक बडापत्र र वेभसाईटमार्फत् सार्वजनिक गरी नगरपालिकाको कार्यलाई पारदर्शी बनाइनेछ । नगरकार्यपालिकाको कार्यालय र मातहतका निकायबाट सम्पादन भएका कार्यहरूको विवरण ई–बुलेटिनमार्फत मासिक रूपमा प्रकाशन गर्ने कार्यको शुरुवात गरिने नगरप्रमुख पन्थीले बताउनुभयो ।
“सञ्चारकर्मीसँग नगरपालिका” कार्यक्रममार्फत नगरपालिकाको बृहत्तरहितको लागि योगदान दिएका संचारकर्मीहरूको मनोबल उच्च बनाउन प्रोत्साहित गरिने बताउँदै रेसुङ्गा नगरलाई स्मार्ट सिटीको रूपमा विकसित गर्न आवश्यक भौतिक पूर्वाधार तथा प्रविधिको उच्चतम प्रयोग गर्दै लगिने उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नागरिकको भूमि माथिको पहुँच सुनिश्चित गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको लागि भूमि आयोगको समन्वयमा जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराइनेछ । “जनतासँग मेयर कार्यक्रम’’ मार्फत नगरपालिकाका सबै वडाहरूमा पुगी सेवाप्रवाह, विकास निर्माण लगायतका विषयहरूमा जनतासँग समय समयमा साक्षात्कार गरिने उल्लेख छ ।
दक्षिण कोरियाको इन्छिन् महानगरपालिकासँग भगिनी सम्बन्धको प्रक्रिया अगाडी बढिसकेकोले नगरपालिकाको वृहत्तर हित एवं अनुभव आदान–प्रदानको लागि अन्य देशका नगरपालिकासँग समेत् भगिनी सम्बन्ध कायम गर्न पहल गरिने नगरप्रमुख पन्थीले उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रममा शिक्षामा विशिष्टीकरण कार्यक्रम अन्तर्गत विद्यालयमा कक्षा ११/१२ मा होटल मेनेजमेन्ट कार्यक्रम सञ्चालन गर्न पहल गरिने, प्राविधिक शिक्षा र उच्च शिक्षामा (खासगरी स्नातक र स्नातकोत्तर) अध्ययनरत विद्यार्थीहरुलाई तम्घासमा सञ्चालित शैक्षिक संस्थामा अध्ययनको लागि आकर्षित गर्न र टिकाउन जिल्ला भित्रका अन्य स्थानीय तहहरुसँग परिपूरकताको माध्यमबाट सहकार्य गर्ने मोडालिटी तय गरी कार्यान्वयन गरिने उल्लेख छ ।
“आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ’’ भन्ने नारालाई साकार पार्न “आमासँग नगरपालिका’’ कार्यक्रम घोषणा गर्न पहल गरिने उहाँले बताउनुभयो ।
समाजमा जकडिएर रहेको छुवाछुत प्रथालाई अन्त्य गरी छुवाछुत मुक्त नगरपालिका घोषणा गरिने लक्ष्य रहेको समेते नगरप्रमुख पन्थीले उल्लेख गर्नुभएको थियो ।
“किसानसँग नगरपालिका” कार्यक्रम सञ्चालन गरिने छ र उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई सम्मान गरिनेछ ।’’ उहाँले भन्नुभयो,– ‘‘व्यावसायिक कृषि तथा पशुपालन गर्ने किसानहरुमध्येबाट उत्कृष्ट कृषकलाई पुरस्कृत गरिनेछ ।’’
गरीबी न्यूनीकरण तथा रोजगारी अभिवृद्धिका लागि करार खेती र बाँझो जग्गा सदुपयोग सम्बन्धी नीति ल्याइने बताउँदै कृषियोग्य जमिनको चक्ला बन्दीलाई प्रोत्साहन गर्ने र भूमि बैंकको अवधारणालाई कार्यान्वयनमा ल्याई खेतीयोग्य बाँझो जग्गा भाडामा लिई व्यवसायिक खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न भाडामा अनुदान दिइने समेत उहाँले बताउनुभएको छ ।
रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक, जैविक विविधताको संरक्षण र पर्यटनको विकास गर्न शुभारम्भ भएको “जाऊँ हिँड रेसुङ्गा“ अभियानलाई आ.व. २०८०/८१ मा थप व्यवस्थापनका साथ प्रभावकारी रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचार प्रसार गरी देशकै पर्यटन हब बनाउनका लागि आ.व. २०८०/८१ लाई रेसुङ्गा भ्रमण वर्षको रूपमा मनाउने र सो अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका ख्याति प्राप्त विशिष्ट व्यक्तिहरूलाई भ्रमण गराउने कार्यक्रम रहेको उल्लेख पर्यटन सूचना केन्द्र स्थापना तथा सञ्चालन गरिने बताउनुभयो ।
पर्यटनलाई बढवा दिन निजी क्षेत्रको लगानीमा रेसुङ्गा क्षेत्रमा जीपलाइन, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग, घोडचडी जस्ता साहसिक खेलहरू सञ्चालन गर्न पहल गरिने बताउँदै उहाँले यसैं वर्षदेखि जिपलाईन तयार गरी सञ्चालन कार्य अगाडि बढाउने समेत उल्लेख गर्नुभयो । खाना महोत्सव, सुन्तला महोत्सव, खेल महोत्सव जस्ता अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने समेत उहाँले बताउनुभयो ।
रेसुङ्गा रिङ रोडको बाँकी ट्रयाक यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै तम्घास बजारलाई सफा र सुन्दर बनाउन बजार प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन वास सेण्टर राख्न निजी क्षेत्रलाई प्रेरित गरिने समेत नगरप्रमुख पन्थीले बताउनुभयो ।
नगररसभाको अर्को बैठक असार १० गते बस्ने भएको सभाका सचिव एवम् प्रमुख प्रशासकीय हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच