खेचराद्रि अर्थात् खप्तड

Read Time = 17 mins

विषय प्रवेश :
माओवादीका क्रान्तिकारी नेता भनिएका हाम्रा प्रधानमन्त्री नवलपरासीको बढीमालिका, भारतको महकालेश्वर, सुदूर पश्चिमको खप्तडक्षेत्र र काठमाडौंको पशुपति पुगेपछि देश र विदेश सबैतिर उनका विषयमा चर्चा चुलिएको छ । दशहरा पर्वको सेरोफेरोमा योग गुरु रामदेवसँगै खप्तड कार्यक्रमको उद्घाटन भएको छ यसै जेठमासमा । खप्तड क्षेत्रको संक्षिप्त चर्चा गर्ने यो लेखको आशय रहेको छ ।

परिचय :
खप्तड पर्वतीय क्षेत्र हो, यो पार्थिव तीर्थस्थल हो । तीर्थका धेरै भेद छन्, स्थावर र जंगम तीर्थ मुख्य हुन् । स्वयं निर्मित स्थावर तीर्थ हो, साधकहरूद्वारा कथा, पुराण, सत्संग गरिनेलाई जंगमतीर्थ भनिन्छ, जुन चलायमान हुन्छ । तीर्थका पनि मूल दुई भेद छन्, जलको महत्ताले तीर्थ हुन्छ भने स्थलको महत्ताले धाम हुन्छ । पार्थिव तीर्थ भनेको हिमालय, मैदान, चौर, वन बुटेन, खुला पर्वत विभिन्न हुन् । गोसाइँकुण्ड, मुक्तिनाथ, गंगोत्तरी, यमुनोत्तरी, कैलाशपर्वत, गण्डकी, दामोदरकुण्डलगायत पर्वत श्रेणीहरू पार्थिव तीर्थका रूपमा परिचित छन् र पर्वतीय क्षेत्रमा पर्ने खप्तड पनि पार्थिव तीर्थस्थल हो ।

विशाल स्कन्द पुराणमा खप्तडको चर्चा छ, यसलाई खेचराद्रि भनिएको छ । खेचर शब्दमा अद्रि जोडिँदा खेचराद्रि हुन्छ । खेचर शब्दको अर्थ आकाशमा उड्ने चराहरू भन्ने बुझिन्छ । शब्दार्थमा जाँदा खेचराद्रि भन्नाले अग्लो, आकाशसमेतलाई छुन प्रयत्नरत, उचो वा गगनचुम्बी सम्झनुपर्ने हुन्छ । पक्षीहरू पनि मूलतः दुई रूपका हुन्छन्, एक स्थायीबास गर्ने, अर्का मौसमी भनौं आगन्तुक, हिँउदमा भाग्ने, वर्षा, गृष्ममा आउने, बस्ने । संक्षेपमा खेचराद्रि अर्थात् खप्तडको अर्थ हुन्छ विशाल हिमालय पर्वत ।

धर्मग्रन्थ के भन्छन् ?
तृ धातुमा थक् प्रत्यय लाग्दा तीर्थ शब्द बन्छ । तीर्यते अनेन अर्थात् जसबाट तरिन्छ त्यसको नाम तीर्थ हो । तरतिपापादिकं यस्मात् अर्थात् जसबाट पापहरूबाट मुक्ति मिल्छ त्यसलाई तीर्थ भनिन्छ र अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यतितीर्थक्षेत्रे कृतं पापं बज्रलेपो भविष्यति भन्ने अर्थमा अरू क्षेत्रमा अन्जानमा भएका पाप तीर्थ क्षेत्रबाट नाश हुन्छन् भने तीर्थ क्षेत्रमा भएका पाप भने बज्र समान स्थिर हुन्छन् । तीर्थ स्थावर र जंगम गरी दुई प्रकारको हुन्छ । त्यसमा पनि जलको महत्वले तीर्थ हुने माथि भनियो भने माटोको महत्वले धाम हुन्छ । धर्तीमा स्थिर रहेर पुण्य प्रदान गरिने क्षेत्र स्थावर हो भने चलायमान क्षेत्र भनौं चलफिर गरी प्राप्त हुने पुण्यलाई जंगम तीर्थ भनिन्छ । शाश्त्रको अध्ययन, सत्संग, कथा, पुराण आदिभगवत् नाम संकिर्तनलाई जंगम तीर्थ भनिन्छ ।

कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो । त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीलाअवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारहरूले यसैलाई जंगमतीर्थ भनेका हुन् ।

भागवतको विश्रामश्लोकले नाम संकिर्तनं यस्य सर्व पाप प्रणाशनम् प्रणामो दुःखशमनं तं नमामि हरिं परं भनेको छ । भागवतको आद्यश्लोक भनेको सच्चिदानन्दरुपायविश्वोत्पत्यादिहेतवे तापत्रयविनाशायश्रीकृष्णाय वयं नुमः हो । अर्थात् सृष्टि, स्थिति र संहारका प्रतीक, मानिसका तीन किसिमका ताप आध्यात्मिक, आदि दैविक र आदिभौतिक ताप शमन गर्ने श्रीकृष्णलाई नमन र भगवत् नामले जीवका सबै पापहरू नाश हुन्छन् भन्ने यी वाक्यहरूको मर्म हो । त्यसैले महाकविले आर्यघाटमा अन्तिम विश्राम लिँदा भने ‘आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो विवेक ।’

जति प्रयत्न गरे पनि संसारका स्थावर तीर्थ सबै भेट्न सकिन्न, त्यसैले स्कन्द पुराणले भनेको छ : सत्यतीर्थं क्षमातीर्थं तीर्थमिन्द्रियनिग्रहः सर्वभूतदयातीर्थं तीर्थंच प्रियवादिता, ज्ञान तीथं तपस्तीर्थं कथितं तीर्थ सप्तकम् । अर्थात् मानिसको विधिव्यवहार सत्यवादिता, अरुप्रतिको क्षमाभाव, आप्mना इन्द्रियहरूलाई शमन, सबै प्राणीप्रतिको दया, प्यारो र मिठो वचन, ज्ञान प्राप्ति र वितरण, मन, वचन र कर्मप्रतिको तप यी सात प्रकारका तीर्थ सेवन जरुरी छ ।

महाभारतमा भगवन् श्रीकृष्ण युधिष्ठिरलाई भन्नुहुन्छ : आत्मानदी संयमपुण्यतीर्थाः सत्योदकाः शीलतटा दयोर्भिः तत्रावगाहं कुरु पाण्डुपुत्र न वारिणा शुद्ध्यतिचान्तरात्मा । अर्थात् आत्मा नदी हो, संयम तीर्थ हो, सत्य जल हो, दया नदीका किनारा हुन्, पानीले मात्र शुद्ध हुने होइन । अन्तर आत्मामा डुबुल्की मार्नुपर्छ, जसरी गोताखोरहरूले समुद्रको मणि लिन सक्छन्, पानीले मात्र शुद्ध हुने भए त जलचरहरूले ठूलो पुण्य कमाउँथे ।

त्यसो त गृहस्थजीवन आफैँ तीर्थ क्षेत्र हो र त हाम्रा महाकविले भने हाडहरूका सुन्दर खम्बा मांस पिण्डका दिवार नसानदीका तरल तरंग मन्दिर आपैंm अपार । मातातीर्थ, पितातीर्थ, गुरुतीर्थ, भक्ततीर्थ, पतितीर्थ, पत्नीतीर्थ यी सबै तीर्थमा गोता लाउँदा गृहस्थ जीवन आफैँमा तीर्थ बन्छ अर्थात् बुबाआमाको सेवा, गुरुप्रतिको श्रद्धा, भक्तजनको सेवा, पतिपत्नीबीचको सामान्जस्यता यी तीर्थ सेवा नै हुन् । त्यसैले स्थावर वा जंगम जुन तीर्थमा पुगे पनि हात, खुट्टाको संयम, मन, बुद्धिको संयम, विद्या र तपको संयम, सन्तोष र उपकार, दम्भ र आहारको संयम, जितेन्द्रियको भाव र व्यवहार, कुभाषण नगर्ने, खराब संगतबाट टाढा रहने, क्रोधको अभाव, मतिले गतिनिर्धारण गरी सत्यवादी, दृढ निश्चयी भई हर प्राणीप्रतिको दयाले ईश्वरको याद हुने हुन्छ, ईश्वरको याद भनेको गृहस्थको तीर्र्थको जीवनयापन हो, भनेको घरै तीर्थ हो ।

नीतिले भनेको छ तीर्थानि सर्वाणि बसन्तितत्रयत्राच्युतोद्दार कथा प्रसंग । अर्थात् कलिमा स्थावर तीर्थमा प्रदूषण बढ्छ, प्रदूषण भन्नु नै पाप हो । त्यसैले तीर्थ त्यहीँ हुन्छ जहाँ भगवत् सेवा, चर्चा, चिन्तन, कथा प्रसंग, लीलाअवतार प्रसंग र तिनका नाम जहाँ लिइन्छ त्यहीँ तीर्थ हुन्छ र शास्त्रकारहरूले यसैलाई जंगमतीर्थ भनेका हुन् ।

ADVERTISEMENT

हजारौं योजन (एक योजन बराबर ४ कोस) टाढाबाट गंगाको नाम लिए पनि सबै किसिमका पाप, कल्मषहरू हट्ने छन् भनिएको छ गंगागंगेति यो ब्रुयात् योजनानां शतैरपिमुच्यते सर्व पापेभ्यः विष्णुलोकं स गच्छिति । मूल कुरा शास्त्रको भनाइ यन्द्रिय नि ग्रह हो, नीतिले भनेको छ आपदां कथितमार्गमिद्रियाणांमशयम तज्जयं सुकृतं मार्गं येनेष्टं तेन गम्यताम् अर्थात् इन्द्रिय अशंयमी हुनु भनेको कुमार्ग र त्यसमाथिको विजय भनेको सुमार्ग हो जुन मन लाग्छ त्यही अपनाऊँ किनभने शास्त्र शस्त्र भएर आउँदैन बाटोमात्रै देखाउँछ ।

श्रीमद्रभागवतमा राजा युधिष्ठिर विदुरलाई भन्छन् भवद्विधाभागवतास्तीर्थभूता स्वयं विभो । तीर्थीकुर्वन्तितीथानि स्वान्तः स्थेन गदाभृता ।। अर्थात् तपाईं जस्ता भगवद् भक्त तीर्थरुप हुनुहुन्छ, तपाईं जहाँ बस्नुहुन्छ त्यो क्षेत्र तीर्थ बन्छ, तीर्थस्थल हुन्छ, पवित्र हुन्छ ठाउँ । साँच्चै साधक १०८ परमहंस स्वामीजी महाराज सच्चिदानन्द सरस्वती खप्तडक्षेत्रमा बस्नुभयो । दीर्घकालसम्म उहाँले त्यहाँ साधना गर्नुभयो खप्तड बाबाकै रूपमा । सिद्ध पुरुषको तपस्थल यो क्षेत्र विश्वमै चर्चाको विषय बन्न पुग्यो ।

सुदूरपश्चिमका जिल्ला बाजुराबाट पश्चिम, डोटीबाट पूर्व, बझाँङबाट दक्षिण र अछामबाट उत्तरतिर पर्छ खप्तड । यस क्षेत्रलाई सरकारले वि. सं. २०४२ सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरेको हो । निकुञ्जको क्षेत्रफल १२५ र सबै खप्तडको क्षेत्रफल १ हजार २४ वर्ग किमीभन्दा बढीको छ ।

खप्तड बाबाका आध्यात्मिक धेरै पुस्तकहरू पनि प्रकाशित छन् । यस क्षेत्रमा धेरै भक्तहरू पुग्ने गरेका छन्, रामदेव स्वामी र उनको समूह अनि हाम्रा सरकारी टोली पनि यसपालि त्यहाँ पुगेको छ, खासगरी धर्मलाई नसा भन्ने कम्युनिष्ट विचारधारा बोकेका प्रचण्डहरू जसले देशलाई धर्म निरपेक्ष बनाए, ठूलो हिंसा गरे, धेरै जनधनको क्षति गरे सशस्त्र युद्धका नाममा, पूर्वीय धर्म दर्शनको ज्यादै ठूलो खिल्ली उडाए, सयौं मन्दिर भत्काए, जनै चुँडाल्न लगाए ।

कहाँ छ खप्तड ?
हाम्रा विभिन्न जिल्लामध्ये सुदूरपश्चिमका जिल्ला बाजुराबाट पश्चिम, डोटीबाट पूर्व, बझाँङबाट दक्षिण र अछामबाट उत्तरतिर पर्छ खप्तड । यस क्षेत्रलाई सरकारले विसं २०४२ सालमा राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरेको हो । निकुञ्जको क्षेत्रफल करिब १२५ वर्ग किमी रहेको छ भने सबै खप्तडको क्षेत्रफल १ हजार २४ वर्ग किमीभन्दा बढीको छ । यहाँ हिमाली बोट बिरुवा, आयुर्वेदिक वनस्पति, अनकौं जडिबुटी, देवदार सल्लाहरू, ओखर र गुराँस रंगीबिरंगी लेकाली पूmलहरू छन् । हरिया चौर अनि जनावरहरूमा भालु, चितुवा, बँदेल, रतुवा मृग, कस्तुरी मृग धेरै छन् ।

पक्षीहरूमा मुनाल, डाँफे, कालिज, प्युरा, च्याखुरा, लडेवा पाइन्छन्, सल्ला, खसु्र, निगालो, जंगली कुकुर, बाँदर, लंगुर र असंख्य पशुपन्छीहरूको बासस्थान नै भएको छ खप्तड क्षेत्र र प्राकृतिको खानी नै भनिन्छ यसलाई, सम्पदामा हाम्रो देश संसारमै अब्बल छ । यो क्षेत्र समुद्र सतहबाट २४०० देखि ३७०० मिटर अग्लाइसम्म पर्छ ।

कसरी जाने त्यहाँ ?
पूर्वपश्चिम राजमार्ग कैलालीको अत्तरिया पुग्नुपर्छ पहिले, अत्तरियाबाट सेती राजमार्ग गोदाबरी चढ्दै डडेल्धुरा सदरमुकाम नलागी सिधै दिपायल डोटी सिलगढी हुँदै दुई पीपल भिँग्राना भएर पैदल हिँडेर खप्तड पुग्न सकिन्छ । अछामको बाटो भएर जान सकिन्छ बा, अत्तरिया डडेल्धुरा हुँदै बझाँङ चैनपुर नजिकै तमेल बजार कालुखेत हुँदै दारुगाउँ, छान्न लोहखडा भई पैदल मार्गबाट पनि जान सकिन्छ र बाजुरा सदरमुकामबाट पनि । जेठ, असार, श्रावण खासगरी जनैपूर्णिमा र गंगादसहरा जेठमा त ठूलै मेला लाग्छ त्यहाँ ।
के के छन् त अरू ?

खप्तड लेकबाट सुरु भई आउने दुई खोलाको संगम छ, दुई जलप्रवाहमा एकको नाम सहश्रलिंग हो जसलाई स्थानीय भाषामा सोलिंग भनिन्छ । अर्कोको नाम हो डाफ्याकोट, दुवैको संगम त्रिवेणीमा हुन्छ जहाँ एक सानो मन्दिर छ । यस मन्दिरमा बाबाले स्थापना गरेका अन्नपूर्ण, गणेश, शिव, कुमारका मूर्तिहरू छन् । यहीँ बाबाको कुटी पनि छ ।

करिब १० हजार ५ सय फिटको उचाइमा सहस्रलिंग छ जुन प्राकृतिक चुचुरो हो । ठूलो चुचुरोलाई शिव, दोस्रोलाई पार्वती र तेस्रो चुचुरोलाई गणेश मानेर पूजा हुने गरेको छ । शिखरमा पुग्न कठिनाइ हुने हुँदा तल रहेको समथर जमिनमै पूजास्थल बनाइएको छ, हवन कुण्ड छ, देवदेवीका धेरै मूर्तिहरू छन् । श्रावण शुक्ल पूर्णिमा वा जनै पूर्णिमामा त्यहीँ मेला भरिन्छ र अलि पर गणेशको पुरानो मूर्ति प्रस्तर रहेको छ ।
खापरदह खप्तडको अर्को मुख्य विशेषता हो । करिव सय मिटर लम्बाइ, पचास मिटर उचाइ भएको, कहिल्यै पानी नसुक्ने प्राकृतिक ताल हेर्न लायक छ । पहिले कुनै दुई सिद्ध पुरुषहरू त्यहाँ बस्थे रे उनीहरूकै नामबाट खापर रहेको भन्ने बुझिन्छ । दहकै नजिक एक मन्दिर पनि छ । खप्तड एक रमणीय पर्यटकस्थल हो, प्रकृतिले हराभरा भएको क्षेत्र हो खासै ठूला भवन, मन्दिरहरू छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज