काठमाडौं । अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी सोमबार साँझसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी संखुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एक जना बालिका छन् । बाढी एवं पहिरोमा परी संखुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी संखुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर बडायतले बताउनुभयो ।
बेपत्ता हुनेमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई (संखुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारू (कैलाली), राहुल थारू (बर्दिया), रोहित थारू (बर्दिया), पुलसन थारू (बर्दिया), कालीराम थारू (बर्दिया), राजराम थारू (बर्दिया), सुगत थारू (कैलाली), अमर थारू (कैलाली), सीता थारू (कैलाली) र दीपक मगर (संखुवासभा) हुनुहुन्छ ।
त्यस्तैगरी, सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् । बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुग्न असमर्थ
बाढीपहिरो प्रभावितको अवस्था बुझ्न सोमबार कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किनुभयो । नेपाली सेनाको हेलिकोप्टरमा संखुवासभा पुग्नुभएका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उड्नुभएको थियो । तर, खराब मौसमका कारण सेनाको हेलिकोप्टर पाँचथरमा अवतरण हुन सकेन । बाढीपहिरो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकोप्टर विराटनगर विमानस्थलमा फर्काइयो । काठमाडौंबाट सेनाको हेलिकोप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौं फर्किनुभयो । विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार प्रचण्ड श्री एयरलाइन्सको जहाजबाट दिउँसो सवा ३ बजे काठमाडौं फर्किनुभएको हो । उहाँसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानमै काठमाडौं फर्किनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts