पूर्वी नेपालमा बाढी पहिरोको बबण्डर, जनधनको ठूलो क्षति

डिबी शर्मा
डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । पूर्वी नेपालमा अविरल वर्षासँगै आएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ । असारको सुरुवातमै अविरल वर्षासँगै आएको बाढी पहिरोले पूर्वी नेपालमा मानवीयसँगै ठूलो भौतिक क्षति गरेको हो । शनिबार रातिको वर्षासँगै आएको बाढी पहिरोमा परेर दुई जनाले ज्यान गुमाएका छन् भने दुई दर्जन बढी बेपत्ता भएका छन् । ज्यान गुमाउने दुईजना संखुवासभा र ताप्लेजुङका हुन् । बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् ।

बाढी पहिरोले विभिन्न स्थानका सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । संखुवासभाको चैनपुर नगरपालिकास्थित हेवा खोला र पिलुवा खोलामा आएको बाढीले खोलाको छेउमा रहेका केही घरहरूमा क्षति पु¥याएको छ । दोभानेस्थित निर्माणाधीन सुपरहेवा खोला हाइड्रो पावर र सोही हाइड्रो पावरमा काम गर्ने मजदुर बस्नको लागि बनाइएको क्याम्पमा समेत क्षति पुर्‍याएको छ । बाढीले बगाएर हाइड्रोमा काम गर्ने १६ जना कामदार सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुरुमा १८ जना बेपत्ता भएकोमा तीनजना सकुशल फेला परेका हुन् ।

वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यातायातका साधन चल्ने अवस्था छैन । यसले उद्धारमा समेत समस्या भइरहेको प्रहरीले जनाएको छ । बाढीले पाँचखपन नगरपालिका-५ टुँडीखेल वेशी र चैनपुर नगरपालिका-६ भन्ज्याङ खर्क वेशी जोडने हेवा खोलास्थित मोटरेवल पक्की पुलसमेत पूर्णरूपमा क्षति भएको प्रहरीको भनाइ छ ।
उक्त खोलामा आएको बाढीले पाँचखपन नगरपालिका-७ एक्ले वेशी र चैनपुर नगरपालिका-६ जोड्ने हेवा खोलामा रहेको झोलुंगे पुल र पाँचखपन नगरपालिका-५ सातपत्रे वेशी र चैनपुर नगरपालिका-८ जोड्ने हेवा खोलामा रहेको झोलुंगे पुलसमेत पूण क्षति भएको छ । प्रहरीका अनुसार पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ को सिमानामा पर्ने हेवाखोमा अविरल वर्षापछि आएको बाढीले सोही खोलामा रहेको हाइवे मेची राजमार्गको पुल बगाएको छ ।

मेची राजमार्ग अवरोध भएको छ । साथै सोही खोलाको बाढीको कारण फिदिम नगरपालिका–४ माझिटारस्थित तमोर करिडोर सडकखण्डमा फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने बेलीब्रिजसमेत बगाई सडकखण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ । बाढीको कारण हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिका बस्ने ५ जना सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

सडक सञ्जालविच्छेद भएका ठाउँमा बेलीब्रिज बनाउँछौँ : मन्त्री ज्वाला
बाढीका कारण पुल भत्काएर अवरुद्ध बनेका पूर्वी नेपालका सडक खुलाउन सरकारले तत्कालै बेलीब्रिज बनाउने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेची राजमार्ग र तमोर करिडोरमा भत्किएका पुल निर्माणको कामलाई तीव्रता दिइने बताउनुभएको हो । शनिबारको बाढीका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम प्रभावित भएको जानकारी दिँदै मन्त्री ज्वालाले पीडितको उद्धारका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाइरहेको बताउनुभयो । ‘मेची राजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोला पुल भत्किएको र तमोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएको छ, विद्युत् पनि टुटेको छ,’ मन्त्री ज्वालाले भन्नुभयो, ‘सडक खुलाउन प्रयास सुरु भइसकेको छ । तत्कालै बेलीब्रिज बनाउँछौँ ।’ बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइभर्सनको माध्यमबाट सडक खुलाउने तयारी रहेको उहाँले बताउनुभयो । मेची राजमार्गको हेवाखोलामा बेलीब्रिज राखिने भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि त्यहाँ बेलीब्रिज राख्न लागिएको हो । हेवा खोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज पठाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।

उद्धार र राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण
नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै सांसदसमेत रहनुभएका सचिव भट्टराईले घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभयो । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले घटनाका पीडितलाई राहत र उद्धार कार्यमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । सचिव भट्टराईको पीडितहरूको राहत र उद्धार कार्यक्रममा जुटन रेडक्रसलगायत अन्तर्राष्ट्रिय संघ, संस्थालाई पनि आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद दीपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको भन्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले बेपत्ता भएकाहरूको खोजी कार्यमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनामा खर्बाैंको नोक्सान भएको बताउनुभयो । ‘पूर्वी पहाडमा अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । कति क्षति भयो भनेर अनुमान गर्न सकिन्न । अनुमानभन्दा ठूलो क्षति भएको छ,’ उहाँले भन्नुभयो, ‘अर्बौंैको क्षति भएको आँकडा आइराखेको छ । सरकारले तत्कालै उद्धार, राहत र सहयोग पुर्‍यायोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *