कालीकोट । कालीकोटमा बालविवाह रोक्नका लागि धामीझाँक्री र विवाह गर्ने पण्डित नै सक्रिय हुन थालेका छन् । पछिल्लो समय स्थानीय सरकार र बालविवाहविरुद्ध अभियान चलाइरहेका गैरसरकारी निकायहरूको सहजीकरणमा बालविवाह रोक्न धामीझाँक्री र विवाह गरिदिने पण्डित नै सक्रिय हुन थालेका हुन् । जिल्लाको शुभकालिका गाउँपालिकामा शनिबार गाउँपालिकामा रहेका सबै देवी देवताका धामीझाँक्री र पण्डितहरूले बालविवाहविरुद्ध ऐक्यबद्धता भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । शुभकालिका गाउँपालिका र किर्डाक नेपालको संयुक्त आयोजनामा भएको धामीझाँक्री तथा पण्डितहरूको भेलामा बालविवाह कोही कसैले गर्ने र गराउने छैनौँ, २० वर्ष नपुगेकालाई लगन दिने छैनौँ, लगन माग्ने आउनेलाई दुलाह र दुलहीको जन्मदर्ता माग्नेछौँ, बालविवाह विरुद्धको अभियानको नेतृत्व धामीझाँक्री र पण्डितहरूले नै गर्नेछौँ र कसैले बालविवाह गर्न लागे सम्बन्धित ठाउँमा जानकारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई पुरस्कारको व्यवस्था गर्दासमेत बालविवाह लुकिछिपी हुने गरेकाले धामीझाँक्रीलाई समेत परिचालन गर्न सम्मेलन गरेको बताउनुभयो । उहाँले सम्मेलनमार्फत धामीझाँक्रीको नयाँ समिति गठन हुने र त्यसैमार्फत बालविवाह विरुद्धको अभियान चलाउने बताउनुभयो ।
बालविवाह, छाउपडी प्रथा, घरेलु हिंसा जस्ता सामाजिक विकृति मुक्त गाउँपालिका बनाउने अभियानमा धामीझाँक्री र पण्डितहरूको साथले उत्साह थपिएको अध्यक्ष आचार्यले बताउनुभएको हो । उहाँले भन्नुभयो, हामी हिंसा र विभेदमुक्त समाज बनाउने अभियानमा छौँ । यो अभियानलाई सफल बनाउनका लागि सबैको सहयोगको अपेक्षा गरेका छौँ । गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले सामाजिक विकृतिहरूका कारण महिला, दलित, बालबालिका जस्ता लक्षित समूहहरूले समस्या भोग्नु परेको बताउँदै यसकाबिरुद्ध कडा रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो, हामीले सुरुवातमा सबैलाई सचेतना जोगाउछौँ । सबै पक्षहरूसँग छलफल गरेर बालविवाह, छाउपडी प्रथा, बहुविवाह, लैंगिक हिंसा जस्ता सामाजिक विकृति विरुद्धको अभियान थाल्छौँ । तर, सचेत बनाउँदा बनाउँदै पनि कसैले हिंसा र विभेद गरे कडा रूपमा कानुनी कारबाही गर्ने व्यवस्था मिलाउछौँ ‘उहाँले भन्नुभयो ।’
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति नन्दबहादुर शाहीले बालविवाह कानुनी र सामाजिक अपराध भएकाले त्यसलाई अन्त्य गर्न लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, विभेद र हिंसा गर्ने जोकोही भए पनि राजनीतिक संरक्षण हुँदैन । सरकार, स्थानीय नागरिक, पण्डित र धामीहरू सबैले थालेको यो सामाजिक विकृति विरुद्धको अभियानमा नेपाली कांग्रेसले पनि ऐक्यबद्धता जनाउँछ । विभेद र हिंसा गर्नेलाई कुनै पनि पार्टीले राजनीतिक संरक्षण गर्न नहुने उहाँको भनाइ थियो । कार्यक्रममा किर्डाक नेपालका सहयात्रा परियोजनाका बालअधिकार अधिकृत प्रकाश शाहीले शुभकालिका गाँउपालिकामा सामाजिक विकृति विरुद्धको अभियानका बिषयमा जानकारी गराउँदै सरकारसँग सहकार्यले विगतमा ७५ प्रतिशत बालविवाह हुने गाउँपालिकामा हाल १५ प्रतिशतमा झरेको बताउनुभयो ।
कार्यक्रममा अन्य सरोकारवालाहरू तथा धामीझाँक्री तथा पण्डितहरूले उमेर नपुगेका कुनै पनि दुलाह वा दुलहीलाई लगन नदिने बताएका छन् । कार्यक्रममा २० बर्ष पुग्दा पनि विवाह नगरेर बसेका ६ जना किशोरीहरूलाई सम्मान गर्नुका साथै सामाजिक विकृति विरुद्धका देउडा, एकल गीत लगायतका सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts