लम्पी स्किनबाट नौ हजारभन्दा बढी पशु मरे

Read Time = 5 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनलगायत दुुग्ध क्षेत्रका सरोकारवाला निकायहरूले लम्पी स्किन रोग तत्काल रोकथाम गरी क्षति भएका किसानलाई राहत उपलब्ध गराउन सम्बन्धितलाई ध्यानाकर्षण गराएको छ । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किनको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्ष गत माघमा झापाबाट सुरु भएको रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् भने तीन लाख ५५ हजार छ सय ९८ पशु संक्रमित छन् । रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिसकेको छ ।

प्रकोप अझै बढ्ने क्रममा रहेको पशु सेवा विभागले जनाएको छ । देशभर लम्पीको प्रकोप देखिए पनि स्थानीय तह, जिल्ला तथा प्रदेशबाट समयमै रोगको रिपोर्टिङ नहुँदा र सोसम्बन्धी पूर्ण जानकारी नहुँदा संक्रमित पशुको संख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको र रोग नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभएको छ ।

पशु चिकित्सकका अनुसार लम्पी स्किन पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक संक्रमण गराउने सीमाविहीन रोग हो । जसले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना ल्याउने, छालाको गुणस्तर घटाउने गर्छ । भैँसीको तुलनामा गाई, गोरु तथा बाच्छाबाच्छीमा बढी देखा परेको रोग फैलिने क्रम बढ्दो क्रममा रहेको छ । विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको विज्ञहरूले बताएका छन् ।

ADVERTISEMENT

संक्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजनन्योग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्छ । रोग लागेका पशुमा १०५.८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो गाँठो देखा पर्ने, मुख, नाकको फोरावरिपरि, पुच्छर, अण्डकोष, फाँचोवरिपरि समेत दुख्ने गाँठा देखिने, लंगडोपना, थुनेलो, बाली नजाने, गर्भ तुहिनेजस्ता समस्या देखिन्छन् । सबैभन्दा बढी कर्णाली प्रदेशमा चार हजार सात सय ७५ पशु मरिसकेका छन् भने सुदूरपश्चिममा दुर्ई हजार सात सय ४७, कोशीमा एक हजार एक सय ३२, गण्डकीमा तीन सय ३०, बागमतीमा दुर्ई सय ८१, लुम्बिनीमा एक सय १०, मधेश प्रदेशमा ३५ पशु हालसम्म मरेको विभागको तथ्यांक छ । संक्रमित पशुमा औषधि र शक्तिवद्र्धक खानेकुराले निको हुने दर ३० प्रतिशत भएको विभागले जनाएको छ । रोग देखिनेबित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने, ज्वरो आएको पशुलाई आराम गराउने, प्रशस्तमात्रामा सफा पानी खान दिने, पातलो कुँडो वा नरम घाँस खान दिने, सक्खर पानी खुवाउने, गोठवरिपरि सफा राख्नेलगायतका सुझाव विभागले दिएको छ । तर, सुझाव सबै स्थानीय तह र किसान तहमा पुग्न सकेको छैन ।

त्यसैले सम्बन्धित निकाय केन्द्रदेखि स्थानीय तहसम्म सबैलाई विद्यमान अवस्थालाई गम्भीररूपमा लिन र यथासम्भव नोक्सानी भएको ठाउँमा किसानलाई राहत उपलब्ध गराउन, रोगले नछोएको स्थानमा रोकथामका लागि तत्काल भ्याक्सिन लगाई सुरक्षित रहन सहयोग गर्न एसोसिएसनले सबै स्थानीय तहलाई आग्रह गरेको छ । उक्त कार्यका लागि एसोसिएसनले पूर्णरूपमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज