पुनः नेकपा ब्युँताउने बहस

प्रस्थान बिन्दु समाजवादी मोर्चा, गन्तव्य बृहत् वाम एकता

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । मुलुकको राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ । मुलुकको राजनीतिमा विभिन्न खेमामा विभाजित वाम घटकहरूबीच फेरि नेकपा ब्युताएर वाम एकता गर्ने बहस सुरु भएको हो । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवुमार नेपालले नेकपा ब्युँताउन प्रस्ताव अघि सारेसँगै वाम घटकहरूमा फेरि एकताको बहसले ठाउँ पाएको हो । पार्टी नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेपछि अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव अघि सारेको कतिपयको टिप्पणी छ । पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेकपा एसका नेताहरू पूर्वपार्टी नेकपा एमालेमै फर्किने क्रम बढेपछि अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव अघि सार्नुभएको हो । पार्टीको तेस्रो वरीयतामा रहेका नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, केन्द्रीय सचिव भागवत विश्वासी, स्थायी कमिटी सदस्य चुँडामणि जंगली, केन्द्रीय सदस्य हीराचन्द्र केसी, शारदा स्वर्णकारलगायत नेताहरूले नेकपा एस छाडेपछि अध्यक्ष नेपाललाई पार्टीमा नेताहरू जोगाइराख्ने चुनौती थपिएको छ । नेताहरू जोगाउँनै मुस्किल देखेपछि अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव अघि सारेको एमालेका नेताहरूको टिप्पणी छ ।

मुलुकका दुई ठूला वाम दलहरू नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ जेठमा पार्टी एकता भएर नेकपा गठन भएको थियो । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गरेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्ने ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग/अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने फैसला गरेको थियो । अदालतको उक्त फैसलासँगै नेकपा विघटन हुनुको साथै एमाले र माओवादी केन्द्र पूर्ववत् राजनीतिक दलको रूपमा अस्तित्वमा रहेका छन् ।

हुन त नेकपा ब्युँताउने बहस यो पहिलोपटक होइन । गत वर्ष वैशाखमा भएको स्थानीय तह निर्वाचन अघि र मंसिरमा भएको आमनिर्वाचन अघि पनि यो बहस चलेको थियो । आमनिर्वाचनको परिणामपछि सरकार गठनको बेला पनि वाम एकताको बहस थप चुलियो । तर, राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएसँगै यो बहस सेलाएको थियो । तर, पार्टीभित्र संकट बढ्दै गएपछि केही समय अघिदेखि नै नेकपा एसका अध्यक्ष नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुरानै पार्टी ब्युँताउन सार्वजनिकरूपमै प्रस्ताव राख्दै आएपछि पुनः बहस सुरु भएको हो । अध्यक्ष नेपालको प्रस्तावमा माओवादी केन्द्र सकारात्मक भए पनि एमालेले भने रुची देखाएका छैन । आफूलाई सत्ता बहिर्गमन गराउन विपक्षीलाई सहयोग गरेको र पार्टी फुटाएको भन्दै नेपालप्रति एमाले अध्यक्ष ओली अझै रुष्ट हुनुहुन्छ । त्यसैले पनि ओलीले माधवको प्रस्ताव सहजै स्वीकार्ने अवस्था छैन । एमालेले माधव नेपालले कम्युनिष्ट पार्टी ब्युँताउन प्रस्ताव गर्नु नै हास्यास्पद भएको टिप्पणी गरेको छ । सत्ता गठबन्धनमा अप्ठ्यारो परेको बेलामा बार्गेनिङका लागि एकताको प्रसंग उठाएको एमाले नेताहरूको टिप्पणी छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा ब्युँताउने कुरा बेमौसमी बाजा भएको टिप्पणी गर्दै भन्नुभयो, ‘हामीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने लक्ष्यका साथ प्रचण्डजीको नेतृत्वमा सरकार बनायौँ । तर, उहाँले धोखा दिनुभयो । त्यसपछि माधवजीलाई राष्ट्रपतिमा प्रस्ताव गर्‍यौँ । तर, त्यो प्रस्तावलाई पनि उहाँले लात हान्नुभयो । त्यसैले अहिले उहाँको प्रस्तावको कुनै अर्थ छैन । र, नेकपा ब्युँताउने सम्भावना पनि छैन ।’

तर, नेकपा एसले भने नेकपा ब्युँताउने प्रस्तावबारे फरक तर्क पेस गरेको छ । कम्युनिष्ट आन्दोलनलाई नयाँ गतिमा अगाडि बढाउन नेकपा ब्युँताउनुको विकल्प नभएको जिकिर गर्दै नेकपा एसका प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो, ‘नेकपालाई समाप्त गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन ओरालो लागिरहेको छ । यसको दोषी एमाले अध्यक्ष ओली हुन् । त्यसैले कम्युनिष्ट आन्दोलनलाई नयाँ गति दिनको लागि नेकपा ब्युँताउन अध्यक्ष नेपालले आह्वान गर्नुभएको हो ।’

ADVERTISEMENT

यता, सत्तारूढ दल नेकपा माओवादी केन्द्रले पनि तत्काल नेकपा ब्युँताउने परिस्थिति निर्माण भइनसकेको बताएको छ । यो विषयमा छलफल नै नभएको दाबी गर्दै माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले भन्नुभयो, ‘नेकपा ब्युँताउने अहिले नै सम्भावना देखिएको छैन । जुनबेला सर्वोच्चले एमाले र माओवादीलाई छुट्याइदियो त्यही बेलामा हाम्रो बहुमत भएको बेलामा भएको भए पार्टी हाम्रै हुन्थ्यो । त्यो बेलामा आयोगमा जानुपथ्र्यो । तर, त्यो हुन सकेन ।’ राजनीतिक क्षेत्रका जानकारहरू भने माधव नेपालले आफ्नो राजनीति जोगाउनको लागि नेकपा ब्युँताउने प्रस्ताव अघि सारेको टिप्पणी गरेका छन् । वाम दलका नेताहरूको आफ्नै प्रयासले तत्काल नेकपा ब्युँतिन सम्भव नभएको तर जसरी २०७४ सालमा नेकपा गठन गर्न अन्तर्राष्ट्रिय शक्तिले भूमिका खेल्यो त्यही भूमिका पुनरावृत्ति भए मात्र नेकपा ब्युँतिन सक्ने उनीहरूको जिकिर छ ।

माओवादी केन्द्रको प्राथमिकता समाजवादी केन्द्र
नेकपा ब्युँताउने बहस चलिरहेको बेला माओवादी केन्द्रले भने समाजवादी केन्द्र निर्माणमा जोड दिएको छ । माओवादी केन्द्र तत्काल एमाले बाहेकको वाम एकताको पक्षमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक वर्षदेखि वर्तमान सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एसबीच पार्टी एकताको प्रयासमा लागिरहनु भएको छ । तर, तत्काल पार्टी एकता सम्भव नभएपछि मोर्चा घोषणा गर्ने सत्ता गठबन्धनमा आबद्ध यी तीन दलको तयारी छ । मोर्चामा यी तीन दलसँगै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि सहभागी हुने पक्कापक्की भएको नेताहरूको भनाइ छ । तीनै दलमा आबद्ध नेताहरूले केही दिनभित्रै समाजवादी मोर्चा घोषणा हुने दाबी गरेका छन् ।

फेरि नयाँ नेकपा बनाउँछौँ : प्रचण्ड
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ । समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने गरी पहलकदमी लिइएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन । फेरि एकताका लागि पहल गर्नुपर्नेछ । एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ । फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ ।’ अध्यक्ष प्रचण्डले अहिले समाजवादीहरूको बृहत्तर मोर्चा बनाउने र अर्कोतिर वामपन्थीहरूको एकताको विषयमा छलफल भइरहेको जानकारीसमेत दिनुभएको छ ।

पार्टी पुनर्गठनको योजना छ : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई रूपान्तरण र पुनर्गठनको आवश्यकता रहेको बताउनुभएको छ । अब पार्टी पुनर्निर्माणको योजनालाई अगाडि बढाउनुको विकल्प नभएको जिकिर गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘पार्टी रूपान्तरण र पुनर्गठनको योजनामा छलफल केन्द्रीय समितिमा हुन्छ । पार्टी निर्माणमा को रिसाउँछ को खुसाउँछ भनेर अब हेरिन्न । सरकारमा अहिले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणमा को पर्छ भनेर हेरेका छैनौँ । त्यसरी नै पार्टी निर्माणका लागि अगाडि बढ्ने छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *