✍️ बन्धु पोख्रेल
अहिले नेपालमा सर्वाधिक चर्चा पाएको शब्द हो भ्रष्टाचार । के-कस्तोलाई मान्ने त भ्रष्टाचार ? भ्रष्ट+आचार=भ्रष्टाचार यसको शाब्दिक अर्थ खोज्दा व्यक्तिको आचरणसँग जोडिन पुग्छ । कुनै पनि प्रकारको अनियमित र अनुचित कार्य भ्रष्टाचार हो । जसको आचरण भ्रष्ट छ भन्नुको मतलब जसको नियत अनुचित लाभ लिन चाहने छ त्यो पनि भ्रष्ट हो व्यवहारमा भ्रष्टाचार देखियोस् वा नदेखियोस् । भनिन्छ लोभको भाँडो कहिले भरिँदैन । छिटो र मिहिनेत नगरी धन कमाउने लालसामा मतिभ्रष्ट हुन्छ । भ्रष्टाचार नहुने ठाउँ वा मुलुक सायदै भेटिएलान् । जहाँ पनि हुँदोरहेछ भ्रष्टाचार तर मात्रामा कम वा बढी अवश्य हुन्छ । भ्रष्टाचार बढी गरिब मुलुकहरूमा हुनेगरेको छ । अर्को शब्दमा भ्रष्टाचारको कारणले केही देशहरू अत्यन्त गरिब देशमा दर्ज हुन पुग्दछन् जसमा नेपाल पनि एक हो ।
नेपालमा बढी भ्रष्टाचार हुने कारण के हो त ?
नेपालमा बढी भ्रष्टाचार हुनुका मुख्य दुईवटा कारण हुन् :
१) जोसँग धनसम्पति छ त्यही नै ठूलो हो भन्ने सामाजिक मान्यता
२) भ्रष्टहरूलाई कारबाही नहुनु ।
हामीकहाँ जोसँग धनसम्पत्ति छ त्यही ठूलो भन्ने विद्यमान जुन सामाजिक मान्यता छ त्यही नै भ्रष्टाचारको जड हो । धनसम्पत्ति भए पुग्यो, त्यो कसरी कमाएको हो भनेर हेरिँदैन । जसरी कमाऊ त्यो मतलब भएन तर सम्पत्ति बढी चाहियो ठूलो मान्छे बन्न र सम्मान पाउन । यसले गर्दा कसरी छिटो कमाउने भन्ने कुरा खेलिरहेको हुन्छ प्रायःको दिमागमा । कमाउन त धेरै उपाय हुन सक्छन् त्यसमा लागानी र मिहिनेत र धैर्य आवश्यक पर्छ । विनालगानी, विनामेहनत छिटो कमाएर ठूलो मान्छे बन्ने लालसाले मान्छे कमाउन अवैध बाटो खोज्न थाल्छ ।
अनि भ्रष्टाचार गरेर अनियमितता गरेर कमाएको देख्दादेख्दै पनि समाजले आँखा चिम्लिदिन्छ । यदाकदा कुरा निस्कने परिस्थिति देखियो भने त्यो हिस्सा पाउनका लागि भन्ने बुझाइ हुन्छ र हुन्छ पनि त्यस्तै हिस्सा दिएर बुझो लगाइन्छ । सम्बन्धित निकायमा उजुरी गर्नुको अर्थ हुन्छ त्यो निकायका व्यक्तिलाई आम्दानीको स्रोत जुटाइदिनु । सामान्यतः मुद्दा सुरु नै हुँदैन । सुरु भए पनि सम्बन्धित निकायबाट अगाडि बढ्दैन । सम्बन्धित निकायबाट अघि बढ्नुको अर्थ हुन्छ आरोपित व्यक्तिले त्यहाँ हिस्सा बुझाएको रहेनछ वा घमण्ड गरेर हिस्सा बुझाउन तयार भएन छ ।
मुद्दा बढ्दै गएर न्यायालयमा पुग्यो भने न्यायालयले चोख्याइदिन्छ । न्यायालयबाट अपराधी करार हुनुभनेको असम्भव प्रायः हुन्छ र यदाकदा भइहाल्यो भने यस्तो बुझ्नुपर्ने हुन्छ कि न्यायमूर्तिहरूलाई नजराना टक्र्याइएन वा न्यायमूर्तिहरू खल्ती भर्न डराउने परिस्थिति सिर्जना भयो वा यति धेरै माग गरियो कि त्यसभन्दा पहिले नै बढी खर्च भइसकेकाले माग बमोजिम टक्र्याउन सम्भव भएन । यसो भन्दै गर्दा भ्रष्टाचार नगर्ने कर्मचारी वा न्यायाधीशहरू छँदैछैनन् भन्ने चाहिँ होइन । इमानदारहरू पनि छन् तर निरीह छन् उनीहरूले भूमिका नै पाउँदैनन् । भ्रष्टहरूकै बोली बिक्छ, उनीहरूकै बोलवाला छ ।
भ्रष्टाचार गर्नेहरूलाई मानसम्मान होइन कि सामाजिक बहिष्कार गर्ने र कठघरामा उभ्याउन लागि पर्ने परिपाटीको सुरुवात गर्नु पर्यो । विद्यालय, मठ-मन्दिरलगायत जुनसुकै सामाजिक काममा जसले बढी रकम योगदान गर्छ उसैलाई सम्मान गर्ने होइन कि भ्रष्टाचार गरेर कमाएको रकम हामी लिँदैनौं भन्ने हिम्मत गर्नुपर्यो ।
‘हामी अरूले भ्रष्टाचार गरेको टुलुटुलु हेरेर बस्न सक्दैनौं त्यसैले आफैं भ्रष्टाचार गर्छौं’ भनेजस्तै भएको छ । उपभोक्ता समितिले प्राप्त रकममा जनश्रमदान थपेर उत्कृष्ट काम गर्छ भन्ने मान्यताको आधारमा उपभोक्ता समितिमार्फत काम गर्ने नीति ल्याइएको होला तर यहाँ त जनश्रमदान गर्नु त कता हो कता प्राप्त बजेट पोल्टामा पार्न कसकसलाई राख्दा सजिलो हुन्छ भनेर योजना अनुसार समिति बन्छ । उपभोक्ता समितिले कामको निरीक्षण गर्न आउनेलाई निरीक्षण गर्न नदिई लखेटेको समाचार पढ्नुपर्छ । काम राम्रो गरेको छ भने निरीक्षण गर्न दिन केको आपत्ति ?
निर्माणमा गुणस्तरीय सामान खरिद गरेको बिल बनाएर गुणस्तरहीन सामानको प्रयोग गर्नु भ्रष्टाचार होइन ? एक घण्टा डोजर चलाएर १० घण्टाको बिल बनाउने अनि बाँडीचुँडी खाने अनि १५००/प्रतिघण्टाको डोजर चलाएर २५००/प्रतिघण्टाको भुक्तानी देखाएर खानु भ्रष्टाचार होइन ? एउटा विद्यालयका शिक्षकले स्टेसनरीमा बढी मूल्य वा बढी परिणामको बिल बनाउँछ । बालबालिकाको खाजामा आफ्नो फाइदा निकाल्छ । एउटा किसानले अनुदानको लोभमा यो गर्छु ऊ गर्छु भनेर अनुदान लिन्छ तर सो नगरी रकम पचाउँछ । ऋण लिएर उद्योगधन्धा खोल्ने अनि उद्योगपति बनेर सान देखाउने बढी खर्च गर्ने अनि घाटा भयो भनेर ऋण/ब्याज मिनाहाको प्रक्रियामा लाग्नुजस्ता कुरा भ्रष्टाचार होइनन् ? घाटा लागेको उद्योगमा आफैं आगो लगाएर बीमा दाबीतिर लाग्नु भ्रष्टाचार होइन ?
व्यवसायहरूमा अनुगमन हुँदैछ भन्ने सूचना पाउँनासाथ पसल नै बन्द गरेर हिँड्नुपर्ने परिस्थिति कसरी आउँछ ? हुनसक्छ बढी मूल्यमा सामान बेचिने गरेको होस् वा अवैध बाटोबाट खरिद गरिएको सामान बेचिने गरिएको होस् वा मिति समाप्त भइसकेका वस्तु बेचिने होस् वा प्रतिबन्धित कारोबार गरिएको होस् वा नापतौलका औजारमा घप्ला गरिएको होस्, तब न भागिन्छ व्यवसाय बन्द गरेर । के यो अनियमितता होइन ? के यो भ्रष्टाचार होइन ? सुन काकारोबार गर्नेहरूको व्यवसायमा अनुगमन हुँदा आन्दोलन हुनुभनेको सुनमा अन्य धातु मिसाउन पाउनुपर्छ भनेको होइन ?
पानी उद्योगको निरीक्षणमा आपत्ति हुनुभनेको दूषित पानी बेच्न पाउनुपर्छ भनेको होइन ? के यस्ता गतिविधि अनियमितता होइनन् ? के यी भ्रष्टाचार होइनन् ? माथिल्लो स्तरमा गरिने नीतिगत भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, संगठित भ्रष्टाचारले त जुनस्तरमा चर्चा पाएका छन् त्यो जगजाहेर छ । तर सोचौं त कति प्रतिशत कुराहरू बाहिर आउँदा हुन् ?
अरूलाई जानकारी नै नभई गुपचुपमा कति भ्रष्टाचार भएका होलान् ? राजनीतिक वृत्तमा पनि जसले बढी पैसा खर्च गर्छ उसैका कार्यकर्ता बढी हुन्छन् उसैका समर्थक बढी हुन्छन् । उम्मेदवारको योग्यता क्षमताभन्दा उसले गरेको खर्चले काम गरिरहेको देखिन्छ । खर्च गर्छ अनि चुनाव जित्छ जितेपछि उसको ध्यान हिजो गरेको खर्च उठाउने र अर्को चुनावका लागि जुटाउने हुने नै भयो तर ऊ त्यतिमा सीमित कहाँ हुनु आफ्ना सन्तानदर सन्तानका लागि जम्मा कसरी गर्ने भन्नेमा केन्द्रित हुन्छ, अनि हुन जान्छन् अहिले चर्चामा आएका जस्ता घटनाहरू ।
भ्रष्टाचारका विरुद्धमा जुन आवाज उठिरहेका छन् ती प्रसंशायोग्य छन् । हामी भ्रष्टाचारको विरुद्धमा कलम चलाइरहनेहरूका लागि यस्ता कुराहरूले सन्तुष्टि दिनु स्वाभाविक हो । सर्वसाधारणमा पनि नैरास्यमा यसले केही आशा जगाउला तर भ्रष्टाचार रोकिने कुरा त टाडाको कल्पना भयो । घटाउन पनि कति मद्दत गर्ला ? टेबलमाथिबाटै लेनदेन हुने गरेकोमा टेबलमुनिबाट हुनेसम्म त गराउला । भ्रष्टाचार घटाउन सबभन्दा पहिले हाम्रो मानसिकता बदलिनु जरुरी छ ।
तल्लो तह अर्थात् गाउँशहर टोलटोलमा भ्रष्टाचार गर्नेहरूलाई मानसम्मान होइन कि सामाजिक बहिष्कार गर्ने उसलाई कठघरामा उभ्याउन लागि पर्ने परिपाटीको सुरुवात गर्नु पर्यो । विद्यालय, मठ-मन्दिरलगायत जुनसुकै सामाजिक काममा जसले बढी रकम योगदान गर्छ उसैलाई सम्मान गर्ने होइन कि भ्रष्टाचार गरेर कमाएको रकम हामी लिँदैनौं भन्ने हिम्मत गर्नुप-यो । समाजमा पुँजीपतिलाई होइन जसले समाजलाई मार्गदर्शन गर्छ र सही बाटोमा डोहोर्याउँछ उसलाई सम्मान गर्ने परिपाटीको विकास गर्नुप-यो । अनिमात्र भ्रष्टाचार कम हुनेछ ।
पाणिनी तपोभूमि पणेना, अर्घाखाँची हाल : अस्टिन टेक्सास, युएसए







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता