काठमाडाै । चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीका रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो । पछिल्ला दिनमा नेपाल र चीनको विधायिकी सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले चीन नेपालका पर्यटक स्रोत मुलुकमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकामा खुसी व्यक्त गर्नुभयो ।
चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा विश्वस्त रहेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो हवाई उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाल-चीनबीच केरुङ/रसुवागढी, हिल्सा/पुराङ र तातोपानी/झाङमु नाकामार्फत दुईतर्फी व्यापार सञ्चालन भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाका सञ्चालन हुने विश्वास पनि व्यक्त गर्नुभयो । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगका लागि अनुरोध पनि गर्नुभयो ।
भेटमा चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लिजीले भ्रमणका चीनको छेन्दुबाट पोखरा हवाई उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिनुभएको थियो । पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु-पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा रहेको उहाँले जानकारी गराउनुभयो ।
अध्यक्ष तिमिल्सिना नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनुभएको छ । तिब्बत्मा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवल शमशेर जबरा र प्रदीप यादव तथा राष्ट्रियसभाका सदस्य उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरीलगायत सहभागी हुनुहुन्छ । रासस

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा