पशुधनको बीमा गर्न छाड्दै बीमा कम्पनी

Read Time = 4 mins

चितवन । जिल्लामा लम्पीस्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन् ।

चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बीमा कम्पनीले गाईभैँसीको बीमा गर्न छोडेका बताउनुभयो । “पशुचौपायामा लम्पीस्किन सङ्क्रमण बढेसँगै बीमा कम्पनीले पशुधनको बीमा गर्न छोडेका छन्”, उहाँले भन्नुभयो, “पहिल्यै बीमा गरिएका पशुको समेत लम्पीस्किनबाट मृत्यु भएपछि बीमा रकम दिन ढिलासुस्ती गरेका छन् ।” चितवनमा क्रियाशील कुनै पनि निर्जीवन बीमा कम्पनीले अहिले पशु बीमा नगरेका उहाँको भनाइ छ ।

“चितवनमा अन्य कम्पनीसँगै शिखर इन्सुरेन्स कम्पनीले अनिवार्यरुपमा गाईभैँसीको बीमा गर्ने गरी सरकारसँग सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “अहिले बीमा गरिदिन कृषकले बोलाउँदा उनीहरुले पशु बीमा गर्न नसकिने बताउँदै आएका छन् ।” कृषकको बीमा गरिएका पशुधनको मृत्यु भएको क्षतिपूर्ति रकम तुरुन्त पाउनुपर्ने र नयाँ बीमा पनि तुरुन्तै गरिनुपर्ने कृषकको भनाइ छ ।

ADVERTISEMENT

घरपालुवा जनावरको बीमा गर्दा ८० प्रतिशत प्रिमियम सरकारले तथा २० प्रतिशत प्रिमियम कृषकले तिर्ने गरी सरकारले व्यवस्था गरेको छ ।

कृषकको गुनासो आएपछि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कृषि मन्त्रालयमा टेलिफोनबाटै कृषकको गुनासो राख्नुभयो । “तपाईहरुको समस्याको बारेमा मैले कृषि सचिवलाई टेलिफोन गरेर जानकारी गराएँ”, कृषि सचिवसँगको कुराकानीबारे जानकारी गराउँदै प्रजिअ पौडेलले भन्नुभयो, “सचिव ज्यूले सार्वजनिक सूचना जारी गरेर कृषकको समस्या समाधान गराउँछौँ भन्नुभएको छ ।” कृषि सचिवलाई कृषकको गुनासो जानकारी गराएसँगै प्रजिअ पौडेलले जिल्लामा कार्यरत बीमा कम्पनीलाई बोलाएर छलफल गराउन निर्देशन दिनुभएको छ ।

प्रजिअ पौडेलले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीलाई बीमा कम्पनीलाई बोलाएर कृषकको समस्या सम्बोधन गर्न निर्देशन दिनुभयो । “कृषकको पशु बीमा गर्न तथा मृत्यु भएका पशुको क्षतिपूर्ति रकम उपलब्ध गराउन बीमा कम्पनीसँग सोमबार नै समन्वय बैठक बसाउनू”, प्रजिअ पौडेलले केसीलाई भन्नुभयो, “जिल्लामा कार्यरत सबै बीमा कम्पनी, कृषकसहित समन्वय बैठक बस्नू, आवश्यक परे म पनि आउँछु ।” सरकारले बीमा कम्पनीलाई दिनुपर्ने रकम उपलब्ध गराउँदा समेत कृषकको पशुचौपाया बीमा नगर्ने र क्षतिपूर्ति नदिने कम्पनीलाई कारबाही गर्नसक्ने उहाँको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज