प्राधिकरणद्वारा विपन्नलाई निःशुल्क विद्युत् मिटर

Read Time = 5 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिकरूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेश महोत्तरीको गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गत क्षेत्रका बसोबास गर्ने विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो । प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत् विपन्नलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ ।

विपन्नले प्राधिकरणको मापदण्डअनुसारको पाँचदेखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसिबी बक्स निःशुल्क पाउनेछन् भने मिटर जडानका लागि सेवा शुल्क लाग्दैन । मिटरको एक हजार नौ सय ३५ रुपैयाँ, एमसिबीको मूल्य, अधिकतम् दुईवटा पोल (करिब एक सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिघरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका पालिकामा बसोबास गर्ने विपन्न घरपरिपारलाई निःशुल्क मिटर वितरण गर्नुभएको हो । उक्त केन्द्रअन्तर्गतका क्रमशः ६८ र एक सय ६२ विपन्नलाई निःशुल्क मिटर वितरण गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँको खोजी गरी त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकलाई विद्युत् पुर्‍याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोही नागरिक पनि विद्युत्बाट वञ्चित हुनुनपरोस् भनेर विपन्नलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो, पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्नले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फत् हुने विद्युतीय दुर्घटना कम हुनेछ ।’

ADVERTISEMENT

मधेशलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै उहाँले विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो । मधेश प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘खेत-खेतमा विद्युत् पुर्‍याएर सिँचाइमार्फत् उब्जनी र उत्पादकत्व बढाउनुपर्छ, यसका लागि स्थानीय तहसँगको सहकार्यमा सिँचाइको विद्युतीकरण अघि बढाएका छौँ ।’ तराई/मधेश क्षेत्रमा सिँचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो । एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र दुई सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीतभण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिँचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ ।

मधेश प्रदेशका आठ जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये गृहस्थ ग्राहकको संख्या नौ लाख ३४ हजार छ । जसमध्ये घरमा पाँच एम्पियरको सिंगल फेज मिटर राखी मासिकरूपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या दुई लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज