‘रेकर्ड ब्रेक’ गर्ने गर्मी

धेरै ठाउँको तापक्रम हालसम्मकै उच्च, केही दिन अझै बढ्ने

डिबी शर्मा
डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै गएको छ । गर्मी बढेसँगै अधिकतम तापक्रमले कतिपय ठाउँमा ‘रेकर्ड ब्रेक’ गर्न थालेको छ । नवलपुरको दम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुंगालगायत ठाउँमा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगेको छ । तापक्रमको रेकर्ड ब्रेक हुने क्रम अझै जारी छ । अझै केही दिन तातो हावाको लहर जारी रहने भएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नवलपुरको दुम्कौलीमा शुक्रबार ४४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जुन अहिलेसम्म मापन गरिएको सबैभन्दा बढी तापक्रम हो । गएको जेठ २३ गते ओखलढुंगामा ३१.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । समुद्री सतहदेखि एक हजार ७३१ मिटरको उचाइको ओखलढुंगामा मापन गरिएको यो अहिलेसम्मकै उच्च तापक्रम हो । पूर्वको पहाडी जिल्ला इलामको कन्याम र पहाड तथा तराईंका धरानमा पनि उच्च तापक्रम मापन गरिएको छ । पोखरामा पनि २३ वर्षयताकै गर्मी रेकर्ड भएको छ ।

दोलखा, दार्चुला, काठमाडौंको ककनीजस्ता उच्च पहाडी क्षेत्रमा स्थापना गरिएका मौसम मापन केन्द्रले तापक्रमको उच्च वृद्धि भएको संकेत दिइरहेका छन् । जल तथा मौसम विज्ञान विभागले स्थापना गरेका देशभरका ८३ वटा मापन केन्द्रमध्ये दुई दर्जन बढीमा ४० डिग्रीभन्दा माथिको तापक्रम मापन गरिएको छ । विराटनगर, वीरगञ्ज, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगढी, भैरहवालगायत तराईंका अधिकांश ठाउँमा दिउँसोको तापक्रम ४० डिग्रीभन्दा माथि छ । नेपालमा अहिलेसम्म सबैभन्दा धेरै तापक्रम २०५२ असार २ गते कैलालीको धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

तराईमा मात्रै होइन पहाडी र हिमाली क्षेत्रमासमेत गर्मी बढ्न थालेको छ । उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । तराई र कतिपय पहाडमा समेत उखरमाउलो गर्मीका कारण स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गराएका छन् । बर्खे बिदामा मिलाउने गरी अधिकांश स्थानीय तहले गर्मी बिदा दिएका हुन् । यो क्रम अझै बढ्दो छ ।

ADVERTISEMENT

१२ वर्षपछि नाम्चे बजारमा सबैभन्दा बढी तापमान
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा गर्मी बढेको छ । समुद्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो । १२ वर्षअघि नाम्चेमा यस्तै तापक्रम बढेको थियो । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो । विगत केही वर्षयता यसै सिजनमा नाम्चे बजारको औसत तापक्रम ४-५ डिग्री सेल्सियस हुने गरेको थियो ।

मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने
तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने भएको हो । मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तत्काल मनसुन भित्रिने सम्भावना नदेखिए पनि अब मनसुनी गतिविधि बढ्न सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण देशको पूर्वी भेगमा मौसम बदली भइरहेको छ । पूर्वी क्षेत्रमा देखिएको बदली मध्य र पश्चिमसम्म पुग्दा गर्मी विस्तारै घट्दै जाने उहाँले बताउनुभयो । नेपालमा मनसुन प्रवेश गर्ने औसत समय १३ जुन भए पनि अझै एक दुई दिन ढिला हुने देखिएको छ । मनसुन अहिले भारतको केरला आइपुगेको छ । मौसमविद्का अनुसार हाल तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ । तातो हावाबाट बच्न घरभित्रै अथवा चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपीलगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *