काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटले अत्यावश्यक वनस्पति घ्यू तेल उत्पादन गर्ने उद्योगमा गम्भीर र दीर्घकालीन असर पर्ने भन्दै स्वदेशी उद्योग संरक्षणका लागि सम्बद्ध उद्योगीले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल घ्यू तेल उत्पादक संघले मुलुक आर्थिक मन्दीबाट ग्रसित भएको समयमा सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाले वनस्पति तेल उत्पादनमा आबद्ध उद्योगहरू धरासायी अवस्थामा पुगेको जनाएको छ ।
यसअघिको व्यवस्थामा भन्सार एक प्रतिशत रहेकोमा आगामी बजेटले सो व्यवस्था खारेज गरी भन्सारदर १० प्रतिशत कायम गरेकाले कच्चा पदार्थ आयात गरी नेपालमा वनस्पति तेल तथा घिउ उत्पादन गर्ने उद्योगी निराश बनेको संघले जनाएको छ ।
आन्तरिक तथा बाहृय झड्काको सामना गरिरहेको समयमा सरकारले भन्सार वृद्धि गर्दा उद्योग बन्द हुने अवस्थामा पुगेको संघको भनाइ छ । संघका अनुसार हाल नेपालमा २६ स्वदेशी वनस्पत्ति घ्यू तेल उद्योग सञ्चालनमा रहेका छन् । जुन २५ वर्षदेखि सञ्चालनमा छन् । प्रत्यक्ष र अप्रत्यक्ष एक खर्ब लगानी रहेको छ भने प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा एक लाख ५० हजारलाई रोजगारी सिर्जना गरेको छ ।
वार्षिकरूपमा एक अर्बभन्दा बढी राजस्वमा योगदान पुर्याउँदै आएका छन् । चालु आर्थिक वर्षको वैशाखसम्म घिउ तथा तेल उद्योगले निर्यातमा २०.८३ प्रतिशत योगदान पुर्याएका छन् । वैशाखसम्म वस्तु निर्यात गरी छ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा नेपाल भित्र्याएका छन् । गत आवमा २० अर्ब विदेशी मुद्रा भित्र्याएका घिउ तथा तेल उद्योग कच्चा पदार्थको मूल्यवृद्धि, बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर, तरलता अभावका कारण चालु आवमा विगतका वर्षजस्तो निर्यात गर्न नसकेका हुन् ।
वनस्पति घिउ तेल उद्योगसँग प्रत्यक्षरूपमा साबुन उद्योग, कागज कारखाना, प्याकेजिङ रोल उद्योग, टिना उद्योग, चामलको भुसा प्रयोग र प्लाष्टिक जार तथा बोतल उद्योगहरू जोडिएका छन् । भन्सार वृद्धि गर्दा उपभोक्ता मर्कामा पर्ने र प्रतिलिटर १५ रुपैयाँका दरले तेल तथा घिउको मूल्य बढ्ने भन्दै भन्सारदर एक प्रतिशत नै कायम गर्न संघले माग गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता