कांग्रेस रूपान्तरण अभियान

केन्द्रीय समिति नबोलाए विशेष महाधिवेशन बोलाउने तेस्रो पुस्ताका नेताहरूको चेतावनी

डिबी शर्मा
डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । पार्टी रूपान्तरणको अभियानमा रहेको नेपाली कांग्रेसका तेस्रो पुस्ताका नेताहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । मंगलबार राजधानीमा भेला भएका उनीहरूले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । बागमती प्रदेशस्तरीय भेलामा सहभागी अभियानका अधिकांश नेताहरूले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । तत्काल केन्द्रीय समिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउने चेतावनीसमेत उनीहरूले दिएका छन् । कांग्रेसको गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका नेताहरूले पटक–पटक बैठक बस्न माग गर्दै आए पनि सभापति शेरबहादुर देउवाको अनिच्छाको कारणले बैठक बस्न नसकेको उनीहरूको आरोप छ । कांग्रेस विधानअनुसार पार्टीको बैठक दुई महिनाको अन्तरमा बस्नुपर्ने उल्लेख छ ।

पार्टी विधानअनुसार चल्नुपर्ने, नेतृत्वमा रहेको व्यक्तिवादी चरित्र अन्त्य हुनुपर्ने र पार्टीमा पुस्तान्तरण हुनुपर्नेमा उनीहरूले जोड दिएका छन् । गत १७ वैशाखमा मधेश प्रदेशको राजधानी जनकपुरबाट नेताहरूले पार्टी रूपान्तरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । भेलामा केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, नेताहरू भूपेन्द्रजंग शाही, गुरुराज घिमिरे, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी लगायतको सहभागिता थियो । भेलामा कांग्रेसका शीर्षस्थ र दोस्रो पुस्ताका नेताहरूलाई समेत बोलाइएको थिएन । अभियानले २० जेठमा गण्डकी प्रदेशको पोखरा र २२ जेठमा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गरिने बताएको छ । यस्तै, २४ जेठमा कर्णाली प्रदेशको सुर्खेत, २६ जेठमा सुदूरपश्चिम प्रदेशको धनगढी र २९ जेठमा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गरिने तयारी छ । अभियानका लागि कोशीमा घिमिरे, मधेशमा कर्ण, बागमतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मा दिइएको छ । सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेपछि प्राप्त सुझावका आधारमा थप कार्यक्रम चलाउने नेता जगदीश्वरनरसिंह केसीले बताउनुभयो ।

ADVERTISEMENT

उपसभापति र महामन्त्रीहरूले समेत बैठक बोलाउन माग गरे पनि नेतृत्वले सुनेन : आचार्य
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिनुभएको छ । मंगलबार काठमाडौंमा रूपान्तरण अभियानको बागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै उहाँले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्नुभयो । केन्द्रीय समिति बैठक नबोलाए विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाउन बाध्य हुने उहाँको चेतावनी छ । ‘पार्टीको विधानअनुरूप हरेक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भए पनि १० महिनासम्म बैठक बस्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘बैठक नबोलाए विधानले दिएको अधिकार प्रयोग गरेर हामी विशेष महाधिवेशन बोलाउन बाध्य हुनेछौँ ।’ पार्टीका उपसभापति र महामन्त्रीहरूले समेत पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेको भए पनि नेतृत्वले नसुनेको बताउनुभयो ।

वर्तमान नेतृत्वको क्रेज सकियो, अब नयाँ आउनुपर्छ : केसी
कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले पार्टीलाई सुधार गरेर गुटगत राजनीतिलाई बिदा गर्नुपर्ने बताउनुभयो । एकताबद्ध भएर सबैजना पार्टी रूपान्तरण अभियानमा लाग्नुपर्ने उहाँको भनाइ छ । केसीले पार्टीमा समयअनुकूल नीति, भ्रातृ संस्थाहरूको पुनर्जीवन, व्यक्तिवादी र गुटकेन्द्रित राजनीतिको अन्त्यका लागि सञ्चालन गरिएको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । ‘एकताबद्ध भएर सबै पार्टी रूपान्तरण अभियानमा लाग्नुपर्छ । वर्तमान नेतृत्वको क्रेज सकिएको छ । अब नयाँ नेतृत्व आउनुपर्छ,’ उहाँले भन्नुभयो । केसीले पन्ध्रौँ महाधिवेशन चाँडो आयोजना हुनुपर्ने रूपान्तरण अभियानको प्रमुख एजेण्डा रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *