काठमाडौं । अखिल नेपाल किसान महासंघले पनि राष्ट्रिय दुग्ध विकास बोर्डको खारेजीको तयारीप्रति आपत्ति जनाएको छ । बोर्डकै कारण नेपालको दुग्ध क्षेत्र आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको भन्दै बोर्ड खारेज भएमा सम्पूर्ण दुग्ध क्षेत्र नै धरासायी हुने महासंघको भनाइ छ । दुग्ध विकास तथा डेरी उद्योगीले पनि बोर्ड खारेजीको तयारीप्रति आपत्ति जनाएका छन् ।
बोर्डद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बोर्डलाई सरकारले खारेजी प्रक्रिया अघि बढाउने कुरा नीति तथा कार्यक्रममा उल्लेख गर्नु आम दुध उत्पादन गर्ने नेपाली किसानमाथि ठूलो अन्याय हुनेछ । बोर्ड नै दुग्ध क्षेत्रलाई नियमन र व्यवस्थित गर्ने एकमात्र थलो भएकाले बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिन महासंघ जोडदार माग गर्दछ ।’
साथै कृषि क्षेत्रमा बीमा सकारात्मक कार्यक्रम भए तापनि सफल कार्यान्वयनमा प्रशस्त चुनौती रहेको उल्लेख गर्दै महासंघले दूरदराजका किसानसम्म बीमाको सूचना तथा पहुँच पुग्नै नसकेको जनाएको छ । विस्तारै बीमा सेवा सुरुवात भएका क्षेत्रमा समेत बीमा भुक्तानी नपाउने झन्झटिलो बीमा प्रक्रियाले समस्या आउने गरेको भन्दै महासंघले कृषि बीमा पोलिसी जारी नहुने दाबी पनि स्थगन भएको विभिन्न समाचारमाध्यममा प्रकाशित समाचारप्रति महासंघले पनि चिन्ता प्रकट गरेको छ ।
निर्जीवन बीमा कम्पनीले विगत तीन वर्षदेखि बीमा अनुदानबापतको सरकारवाट पाउनुपर्ने भुक्तानी नपाएको र दाबीबापत दुई अर्ब ९४ करोड ५९ लाखभन्दा बढी रकम भुक्तानी नगरेको भन्दै बीमालेख जारी गर्न र दाबी भुक्तानी गर्न बन्द गरिएकोमा कृषि बीमाको सेवाबाट कृषक प्रत्यक्षरूपमा प्रभावित बन्न पुगेको पनि महासंघले जनाएको छ ।
पशु र बाली बीमा नीति किसानमैत्री रहँदारहँदै पनि ग्रामीण साना र सीमान्तकृत किसानको पहुँच पुग्न नसकेको अवस्था मनन गरी किसानले महसुस गर्ने गरी बाली र पशु बीमा कार्यक्रमको स्थानीयकरणसहित किसानले बीमा गर्न र भुक्तानी प्राप्त गर्न पाउने अधिकारको रक्षा गर्दै अबिलम्ब बीमा कार्यक्रम सुरु हुने वातावरण निर्माणको माग गरिएको छ ।
त्यस्तै, हाल देशैभर पशुपक्षीमा देखापरेको लम्पी स्किनले पशुपालक कृषकलाई ठूलो नोक्सानी भएको भन्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले रोग नियन्त्रणका लागि सम्बन्धित सरोकारवाला निकायले पहलकदमी लिई सरकारले कृषकलाई तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने बताउनुभएको छ ।







Breaking news with related posts