नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको ओलीको दाबी

‘हुँडारले झैँ ज्युँदै खान लागेका थिए, एमालेलाई जोगायौँ’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा करकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘नेपालमा छानविन कसरी हुन्छ ?’ भन्ने थाहा भएको बताउनुभएको हो । ‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर करकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सहृय हुँदैन,’ ओलीले भन्नुभयो, ‘आरोप लगाइदिएपछि पुग्यो । हामीले छानविन देखेका छौँ । थुप्रै कुरा भोगेर आएका छौँ । त्यसैकारण परिवर्तन गर्न लागेका छौँ ।’

कार्यक्रममा एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गर्नुभयो । ‘नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा भन्न चाहन्छु एमाले संलग्न थिएन, छैन र हुने छैन । भ्रष्टाचारको विषयमा एमाले संलग्न हुँदैन । यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्ने गरी यस वा कुनै प्रकारको अनुचित अनैतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफैँ अग्रसर हुन्छ र अघि बढ्छ । हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन,’ ओलीले भन्नुभयो ‘भ्रष्टाचार देश, जनता, विकास, समाज र नैतिकता समाप्त पार्ने कुरा हो । भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका बेइमानहरूको पार्टी होइन । त्यसकारण कुनै पनि कहीँ कतै दोषी हुन्छ साथ सहयोग दिन मात्रै होइन आफैँ अग्रसर भएर पनि कारबाही गर्छ ।’

ADVERTISEMENT

ओलीले देश राजनीतिक अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गर्नुभयोे । ‘सरकार चलाउने खर्च पैसा छैन । बजेट कसरी ल्याउने रहेछ ? सरकार चलाउने सेवा दिने काम हुन्छ । सरकार चलाउने अवस्थामा छैन । कर्मचारीले तनखा नपाउने अवस्था के गर्छ ? भोकै बसेर काम गर्छ ? यसमा सिंगै देश चनाखो हुनुपर्ने अवस्थामा छ,’ उहाँले भन्नुभयो । सार्वजनिक संवादमा भाषाको स्तर खस्केको भन्दै ओलीले असन्तुष्टि जनाउनुभयो । ‘भाषा अन्ततः अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक स्वीकार भाषा प्रयोग गरेर तब मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्छ । गर्नै नसक्ने भएको छ । त्यस्तो घटिया र नराम्रो भाषा प्रयोग गरेर तल्लोस्तरको भाषा प्रयोग गरेर मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्ने अब अश्लील बोलिन्छ वा कसैको अपमान गरिन्छ जबको कसैको विरुद्ध मर्यादाहीन ढंगले बोलिन्छ वा सामाजिक मूल्य र मान्यताविरुद्ध गएर बोलिन्छ,’ ओलीले भन्नुभयो, ‘हाम्रो सामाजिक प्रचलनहरू, भाषिक गहनताहरूलाई, महानतालाई क्षत विक्षत गर्ने तहमा बोलिन्छ । समाजले मूल्य मान्यता र संस्कृतिलाई कमजोर पार्दै छ ।’

ओेलीले पार्टीलाई हुँडारहरूको आक्रमणबाट जोगाएको टिप्पणी पनि गर्नुभयो । उहाँले एमालेलाई पछिल्लो दुई वर्ष ज्युँदै खाएर सिध्याउने स्थितिबाट जोगाएको जिकिर गर्नुभयो । ‘दसै दिशाबाट हमला भयो । हामीमाथि ज्यान लिने किसिमको हमला भयो । तलबाट, माथिबाट, वर्तिर, पर्तिर, आग्नेय, नैऋत्य, वायव्य, इशान, पूर्व, पश्चिम, उत्तर दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला भयो,’ उहाँले जनसंगठनका नेताहरू सामु भन्नुभयो । हुँडारको बथानले जस्तो कसैले खुट्टा, कसैले हात टोकेको उनको टिप्पणी थियो । ‘कसैले टाउकातिर झम्टन्छ हिँहिँहिँ कराएको छ, झम्टिएको छ, टोकेको छ, ज्युँदै खाएर सिध्याउन खोजेका थिए, त्यो विचित्र स्थिति हामीले बेहोर्नुपरेको थियो । त्यो स्थिति बेहोरेर त्यस प्रतिकूल परिस्थितिबाट यी दुई वर्ष हामीले पार्टीलाई जोगायौँ,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *