आत्महत्या बाध्यता कि खिन्नता ?

Read Time = 16 mins

✍️ सुरेशकुमार भट्ट

आत्महत्याको सवाल सुरु गर्नुअघि आत्मा भनेको के हो ? निरूपण गर्नु जरुरी देखिन्छ । आत्मा के हो ? यसको रूप कस्तो हुन्छ ? यो जीव हो कि ? जीवभित्रको अजीव हो ? वा जीव परिचालन गर्ने अदृश्य शक्ति हो ? यो भौतिक हो कि ? अभौतिक हो ? यसले मर्ने जन्मने गर्छ कि गर्दैन ? यावत् प्रश्नको पेटारो कृष्ण भगवानकै वचन श्रीमद्भागवत गीताबाट विवेचना गरौं । के भन्छन् भगवान आत्मालाई उनकै मुखराबिन्दबाट भनिएका भनिएको यी वाणी वचनलाई सूक्ष्मरूपमा मनन गरौँ । कृष्णकै मुखबाट भनिएको छ :
‘नैनम् छिदन्ति शस्राणि नैनम् दहति पावकः
न चैनं क्लेदयन्त्यापो न शोषयति मारूतः।
श्रीमद्भागवत गीता अ २/२३
न शस्त्र काट्दछ यसलाई न आगोले जलाउँछ
न पानीले गलाउँछ यसलाई न हावाले सुकाउँछ ।’
यहाँ भनिएनुसार आत्मालाई न काट्न सकिन्छ न मार्न सकिन्छ न पोल्न सकिन्छ न गलाउन सकिन्छ न सुकाउन सकिन्छ । त्यसैले आत्मा अजर अमर छ भनिएकाले हामीले भन्ने गरेको आत्महत्या शब्द के सही छ त ? आत्माको हत्या गरेर हत्या हुन्छ त ? यो त मर्दै मर्दैन अनि कसरी भयो त आत्महत्या ? नमरीकनै हत्या कसरी ? तसर्थ यो आत्महत्या भन्ने शब्दै ठीक छैन यो त भौतिक जीवको मरण हो आत्माको मरण होइन आत्मा मर्दै मर्दैन । त्यसैले आत्महत्या भन्ने शब्दको सट्टा अर्को शब्दको प्रयोग गरिनुपर्छ ।

आत्मा जन्मदैन, मर्दैन, बुढो हुँदैन, काटिँदैन, जल्दैन, गल्दैन जे हो त्यही नित्य रहिरहन्छ । जुन शरीरमा बसेको हो त्यो नासिँदा अर्कोमा गएर नयाँ रूप लिएर बस्छ । त्यसैले आत्मा अमर छ । यो अमर आत्माको हत्या हुन सक्दैन ।

हाम्रो नेपाली शब्दकोश भन्छ-आत्महत्या आफूले आफैँलाई मार्ने काम, जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम, आत्मघात । मान्छे मर्ने आत्माले छोड्ने अन्यत्र सर्ने हो आत्मा न मारिन्छ न मर्छ । अनि कसरी यो शब्द अर्थपूर्ण बन्यो त ?
यसैगरी फेरि गीताकै अध्याय दुईकै २०/२२ श्लोकमा भनिएको छ :
न जायते म्रियते वा कदाचित्
नायं भूत्वा भविता वा न भूयः
अजो नित्यः शास्वतोयऽयं पुराणो
न हन्यते हन्य माने शरीरे ।
नेपाली भाषामा बुझ्दा
न जन्म लिन्छ न कहिले मर्छ,
न भयो न हुन्छ न कैले टर्छ ।
जन्म नलिने न नासिने पुरातनी
शरीर नाशिदा आत्मा ननासिनी ।
श्लोक २२ मा भनिएको छ :
वासांसी जीर्णानि यथा विहाय
न वानि ग्रिहृणाति नरो पराणि
तथा शरीराणि विहाय जिर्णा
न्यान्यानि संयाति नवानि देही ।
पुरानो लुगा त्यागेर नयाँ फेरे जस्तै हो यो ।
आत्मा जन्मदैन, मर्दैन, बुढो हुँदैन, काटिँदैन, जल्दैन, गल्दैन जे हो त्यही नित्य रहिरहन्छ । किनकि यो सनातन हो । बरु जुन शरीरमा बसेको हो त्यो नासिँदा अर्कोमा गएर नयाँ रूप लिएर बस्छ । त्यसैले आत्मा अमर छ । यो अमर आत्माको हत्या हुन सक्दैन । तसर्थ आत्महत्या भन्ने लोकको भनाइ गलत हो । प्राण हत्या, इच्छा मरण, पार्थिव शरीर बिसर्जन, देह त्याग, प्राणोत्सर्ग, प्राण त्याग आदि भन्न सकिन्छ । जसरी एउटा मृत्यु शब्दलाई यति धेरै शब्दको प्रयोग गर्दछन् । म¥यो भन्नका लागि-मृत्यु बुझाउन बोलिने अर्थात मृत्युको पर्यायवाची शब्द र सांकेतिक समअर्थी शब्द जति सायद कुनै शब्दको छैन ठोकेरै भन्न सकिन्छ ल हेरौँ-

मृत्यु, स्वर्गवास, स्वर्ग भयो, बैकुण्ठ बास भयो, स्वर्ग लोक गए, परमधाम भए, स्वर्ग गए, कालले लग्यो, यमराजले लगे, महाप्रस्थान भए, इहलीला समाप्त भयो, कालले घिच्यायो, ब्रहृमलिन हुनु, महासमाधिस्थ हुनु, आलु खानु, सिल्टिम्मुर खानु, मास छर्न जानु, माथि गयो, जिब्रो टोक्यो, बही बुझायो, मिति पुग्यो, टिकट काट्यो, खाता बन्द भयो, मानु सकियो, उदो फर्काएर, बुर्की छरेर, मुठी राखेर, मुठी बाँधे, गोडा तन्काए, आँखा चिम्लिए, धर्मराजकोमा गए, अञ्जुलि खाए, सिद्धिए, चिलिम फर्के, दाग बत्ती भयो, चितामा पुगे, आगोले खायो, भष्म भए, उँधो जन्ती लगे, घारामा कसेर, सेतै पारेर, उँधो मुन्टो लाए, पैताला फर्काए, गए, छाडे, देह त्याग गर्नु, पिन्सिन पाक्यो, प्राणान्त, बिलिन भए, अस्ताए, नुन छरे, सास गयो, निदाए, चिर निद्रामा परे, घाट लगे, डाँडो काटे, दिन सकियो, नफर्कने बाटो गए, अझै कति छन् यस्ता शब्द ।

यी त एकै छिन् स्मरणमा आएका मात्र हुन् । यी शब्द ल्याउनुको तात्पर्य ‘आत्महत्या’ शब्दका सट्टा यिनै वा यस्तै संग्रह गरी लिन सकिन्छ कि भन्ने पनि हो । अर्कोतिर मर्नलाई प्रोत्साहन गर्ने कामलाई निरुत्साहन भनेर कानुनविद् मख्ख छन् । जसले मर्न प्रोत्साहित गरेको गराएको छ उसैलाई निरुत्साहन भन्छन् । सायद अर्थ लाउलान् जिउन निरास बनाएकोले निरुत्साहन भन्ने होलान् तर त्यसभन्दा अगाडि जीवन जिउनका लागि होइन र ? मान्छे सबभन्दा बढी के मा डराउँछ ? मरिन्छ कि भनेर । यसको अर्थ बाँच्न पाए हुन्थ्यो भन्ने नै हो । यसरी बाँच्न चाहनेलाई मर्नतिर उद्दत्त गराउनु भनेको मर्नलाई प्रोत्साहन गरेको हो नि ।

त्यसैले मर्नतिर प्रोत्साहितहुँदै गएपछि पो जिउनमा निरुत्साहित हुन्छ । तसर्थ प्रोत्साहीले त मर्नलाई प्रोत्साहन गर्‍यो नि । तसर्थ यो प्रोत्साही र निरुत्साही बारे भाषाविज्ञबीच गहन छलफलबाट निरूपण हुनुपर्छ भन्ने पंक्तिकारको जिकिर हो । किनकि आत्महत्या जस्तै यो निरुत्साहन शब्द पनि ठीक मिलेको छैन । अर्कोतर्फ जुन उमेरकालाई पनि बलत्कार भनिदिने ? उमेर अंग पूर्ण नभएकालाई बलत्कार हुन्छ त एउटा बालिका जसको अंग नै पूर्ण भएको छैन उसलाई ललाइफकाइ झुक्याई प्रकृतिविपरीत करणी ग¥यो जबरजस्तीसँग त्यो जबरजस्ती बाल करणी हो । बलत्कार एउटै शब्दले त्यसलाई समेट्दैन ।

तसर्थ जघन्य अपराधको कोटीमा राख्नुपर्छ र सय वर्षमाथिको सजाय तोक्नुपर्छ । जब उमेरले पूर्ण भएका तर सल्लाह र सम्मति बेगर बलको भरमा कुनै यौन अपराधीले करणी गरिहाल्यो भने त्यसलाई चाहिँ बलत्कार भन्नुपर्छ भन्ने लाग्छ । एकान्तमा वा परिस्थितिको फाइदा उठाएर बलको भरमा नमान्दा नमान्दै करणी गर्‍यो भने त्यो बलात्कार भयो भन्ने लाग्छ । यो प्रसंग किन पनि यहाँ उठाइयो भने हाम्रा कतिपय प्रयोगमा ल्याइएका शब्दले पनि अपराधीलाई छुट दिने र मौका मिले कमाई खाने बाटो बनेको देखिन्छ । त्यसैले आत्महत्यासँगै यी शब्दहरूबारे प्रसंग चलाइएको हो ।

ADVERTISEMENT

अब आत्महत्या शब्दको सट्टा ‘प्राण घात’ ‘प्राण हत्या’ ‘देह त्याग’ किनकि ‘प्राणी हत्या’ अरू प्राणधारीको भयो भने ‘प्राण हत्या’ स्वयंको भयो । देह त्याग अझैं उपयुक्त हो कि ? भन्न त अरूलाई पनि प्राणै लियो भन्छौँ, त्यसैले ‘इच्छा मरण’ भन्दा उपयुक्त लाग्छ तर अरूको कारण आफ्नो प्राण बिसर्जन गर्नेलाई पनि ‘ईच्छा मरण’ त भन्न सकिँदैन नि । इच्छा मरण भन्दा देह त्याग नै उचित हो कि । त्यसैले मर्न प्रोत्साहन गर्नेलाई मर्न बाध्य बनाउनेलाई कम्तीमा पचास वर्षको सजाय हुनुपर्छ । तसर्थ प्रोत्साहीलाई कम्तिमा पचास वर्षको राज्यले मिनाहा दिन नसक्ने गरी सजाय तोक्नुपर्छ । गाली बेइज्जतीको जस्तो फितलो कानुनी अपराध यस्ता प्राण घातमा हुनुहुन्न ।

बाध्यता र नैराश्य दुवै प्राणघातका कारक हुन सक्छन् जुन परिवार र निकटका मानिसकै कारण हुन्छ । यस कुरालाई समाजले गम्भीरतापूर्वक लिनुपर्दछ । डिप्रेसन भनेर पन्छिइरहन किमार्थ मिल्दैन । डिप्रेसन गराउने तत्वको खोजी र निदान नै आत्महत्याको पहिलो रोकथाम हो ।

कहाँबाट सुरु हुन्छ त मनोचिकित्सक डाक्टरले सजिलै भन्ने गरेको ‘डिप्रेसन’ ‘खिन्नता’ रहेछ /डिप्रेसनमा रहिछ त्यसैले निरास भयो आत्महत्या ग¥यो ।’ के यत्ति हो त ? यसको उत्तर ? डिप्रेसन उत्पत्तिका कारण खोज्नुपर्दैन ? किन हुन्छ डिप्रेसन ? कहाँबाट हुनसक्छ डिप्रेसन ? त्यहीबाट ‘समाजमा मानसिक उपचारका लागि सचेतना अभियान’ ? चलाउन र घरेलु हिंसालगायतको रोकथाम, निराशालाई आशामा र खिन्नतालाई प्रशन्नतामा ल्याउन सकिँदैन ? अवश्य सकिन्छ तर सामाजिक संघसंस्था र सामाजिक मनोविज्ञान बेत्ता परामर्शदात्रीहरूको गहिरो चासो र लगनशीलता हुनु जरुरी छ ।

यसलाई निर्मूल गर्न नसकिएला तर न्यून गर्न पक्कै सकिन्छ तर सम्बन्धित व्यक्ति संघसंस्थाको साँचो सत्य सेवा दिने दृढ संकल्प र इच्छाशक्ति हुनुपर्छ अनि विशुद्ध मानवीय सेवामूलक आत्मा जाँगर र निःस्वार्थ सेवा हुनुपर्छ । कमाउमूलकमात्र नभई सेवामूलक अठोट भए पक्कै पनि भइरहेका हिंसात्मक दुर्घटनालाई केही हदसम्म रोक्न नसके पनिन्यून अवश्य गर्न सकिन्छ । तर प्रयत्न चाहिँ गर्नै पर्छ । निरन्तरता दिनु जरुरी छ ।

लोग्ने बिचलनमा जानुमा स्वास्नी कारक र स्वास्नी विचलनमा गएमा वा भएमा लोग्ने कारक हुन्छ । यसको पहिलो सुरुवात उसको परिवार, निकटस्थ जनहरूबाट सुरु हुन्छ । रोकथामको अभियान सुरुवात उसको नजिकको नाता सम्बन्धबाट खोजी गरी सचेतनाका लागि प्रयास गर्नुपर्दछ । प्रेमीप्रेमीका वा बाबुआमा वा छोराछोरी हुन सक्छन् पीडक जसको कारण डिप्रेसन सुरु हुन्छ । नारीहरूमा भन्दा पुरुषमा बढी खिन्नता वा नैराश्य बढी हुन्छ । त्यसैले त नारी ३० प्रतिशतलेर पुरुष ७० प्रतिशतले आत्महत्या गरेको भेटिन्छ । अति विचलित र निरास बनिसकेको मान्छेसँग मुख्यत तीनवटा विकल्प हुन्छन् । जसलाई छोटकरीमा यसरी लिन सकिन्छ :
क : पीडाको वातावरणबाट पर हुन चाहन्छ,
ख : पीडकलाई मारेर पीडा मुक्त भई आफू बाँच्न चाहन्छ,
ग : आफूलाई निराश र कुनै पनि उपायहीन पाएपछि मृत्युवरण गर्दछ । आत्महत्या गर्छ ।

यिनै कुरालाई मुख्य रूपमा ध्यानमा राखेर पीडक र पीडितलाई चिनेर उनीहरूले थाहै नपाउने गरी अलग अलग सचेतन गर्ने र निराशाबाट आशावादीतामा परिणत गर्ने गराउने प्रयाश गर्नुपर्छ ।

बाध्यता र नैराश्य दुवै प्राणघातका कारक हुन सक्छन् जुन परिवार र निकटका मानिसकै कारण हुन्छ । यस कुरालाई समाजले गम्भीरतापूर्वक लिनुपर्दछ । डिप्रेसन भनेर पन्छिइरहन किमार्थ मिल्दैन । डिप्रेसन गराउने तत्वको खोजी र निदान नै आत्महत्याको पहिलो रोकथाम हो । दोस्रो हो औषधीको सेवन । हाल नर्थ क्योरोलाइना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज