काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसरले प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो । परिसर स्रोतका अनुसार आज (सोमबार) प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । परिसरका एक प्रहरी अधिकारीले प्रतिवेदन बुझाउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । प्रहरीले यसअघि नै प्रतिवेदन बुझाउने तयारी गरे पनि तयारी नपुगेको भन्दै आज मात्रै प्रतिवेदन बुझाउने तयारी गरेको हो । प्रहरी स्रोतका अनुसार संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको, राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउने विषयमा अध्ययन भइरहेको छ ।
यस्तै, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले ६० दिनभित्र मुद्दा दर्ता गर्न आफूहरूलाई अध्ययनका लागि पर्याप्त समय हुनेगरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरेको छ । संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन म्याद पाउँछ । चैत १२ गतेबाट प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । सरकारी वकिल कार्यालयले अभियोग दर्ता गरेपछि उनीहरूको अदालतमा बयान अघि बढ्नेछ । त्यसपछि थुनछेक बहस सुरु हुन्छ ।
जिल्ला अदालतले मुद्दाको फैसला गरुन्जेल उनीहरूलाई थुनामै राख्ने कि थुनाबाहिर राखेर फैसला गर्ने भन्ने आदेश दिनेछ ।
प्रकरणमा पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा र बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सागर शर्मा पोखरेल, गोविन्द चौधरी, सागर थुलुङ राई, सन्दीप रायमाझी, टंक गुरुङसहित १६ जना पक्राउ परेका छन् ।
आङ्टावा शेर्पाविरुद्ध पाँच जनाको किटानी जाहेरी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङ्टावा शेर्पाविरुद्ध पाँच जनाले किटानी जाहेरी दिएका छन् । दोलखाका पाँच जनाले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरुद्ध जाहेरी दिएका हुन् । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आङ्टावा १ जेठमा प्रहरी कार्यालय आफैँ पुग्नुभएको थियो । त्यसयता उहाँ हिरासतमै हुनुहुन्छ । भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उहाँविरुद्ध वैशाख २९ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको सूचना र प्रहरीले खोजी गर्न थालेपछि आङ्टावा कम्बल बोकेर आफैँ प्रहरीमा पुग्नुभएको थियो । त्यसपछि प्रहरीले सोधपुछ गर्दा नक्कली शरणार्थी प्रकरणमा उहाँको संलग्नता खुलेको थियो ।
यसअघि आङ्टावाविरुद्ध कुनै उजुरी परेको थिएन । तर, प्रहरीले सकेसम्म आइतबार नै मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाउन तयारी गरिरहँदा उहाँविरुद्ध उजुरी आएको हो ।
प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा छुट्दैनन् : गृहमन्त्री
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा बिनापूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान अघि बढेको बताउनुभएको छ । आइतबार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले प्रकरणका दोषी र अपराधी कुनै पनि हालतमा नछुट्ने दाहोर्याउनुभयो । ‘निष्पक्ष ढंगले बिनापूर्वाग्रह स्वतन्त्र ढंगले अनुसन्धान पक्रिया अघि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘निर्दोष कोहीलाई उसको सामाजिक प्रतिष्ठामा आँच आउनेगरी अनावश्यक दुःख दिनेगरी तानिने काम हुँदैन, दोषी र अपराधी कुनै पनि हालतमा छुट्दैनन् ।’ भ्रष्टचार विरुद्धको अभियानलाई व्यवस्थित रूपमा अघि बढाउने सरकारको योजना रहेको उहाँको भनाइ थियो । यो प्रक्रियामा कोही निर्दोष नफस्ने र कोही दोषीले छुट्कारा नपाउने उहाँले दोहो¥याउनुभयो ।
प्रकरणमा दोषी देखिएका सबैलाई कडा कारबाही गर्न माओवादीको आग्रह
सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई सरकारले अगाडि बढाएको कारबाहीले आम नागरिकमा उत्साह पैदा भएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी माओवादी केन्द्रले प्रकरणमा दोषी देखिएका सबैलाई कडा कारबाही गर्न आग्रह गरेको जनाएको हो । प्रकरणमा संलग्न दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्न र कुनै पनि प्रकारको सम्झौता नगरोस् भन्ने पार्टीको विशेष आग्रह रहेको उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । ‘नक्कली भुटानी शरणार्थीको प्रकरणमा सरकारले चालेको कदमले आम नागरिकमा सकारात्मक प्रभाव पारेको छ । पार्टीले यसअघि नै सरकारलाई खुट्टा नकमाई अघि बढ्न भनिसकेको छ,’ उहाँले भन्नुभयो । महराले पछिल्लो समय पार्टीका शीर्ष नेताबीच भइरहेको भेट सम्झौतामा आधारित नभएको स्पष्ट पारेको छ । माओवादीले तत्कालीन लडाकु शिविर व्यवस्थापनमा कुनै पनि आर्थिक अनियमितता नभएको जिकिर गरेको छ । महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको माओवादीको ठहर छ ।






