नौ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई सर्वोच्चको आदेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतले नौ महिनाभित्र संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई आदेश जारी गरेको छ । थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि फैसला गर्दै सर्वोच्चले सरकारका नाममा यस्तो आदेश दिएको हो । लोकसेवा आयोग र सार्वजनिक संस्थाको कर्मचारी भर्ना सूचनामा थारू समुदायलाई आरक्षण नदिइएको भन्दै रिट दायर भएको थियो ।
सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सबै वर्ग र समूहलाई कानूनमै आरक्षण व्यवस्था गर्न पनि भनेको छ ।

सर्वोच्चले आदेशमा भनेको छ, ‘आरक्षणको व्यवस्थाको कार्यान्वयन कानुनमार्फत गरिनुपर्ने हुँदा संघीय निजामति सेवा ऐन तथा अन्य ऐन, नियम, विनियम समेतका सेवा सम्बन्धी कानूनी व्यवस्थाको निर्माण लगायत आवश्यक सबै प्रवन्ध मिलाउने कार्य यो आदेश प्राप्त भएको ९ (नौ) महिनाभित्र सम्पन्न गर्नू गराउनू भनी विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतका विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिएको छ ।’

ADVERTISEMENT

थारु समुदाय कुल जनसंख्याको ६.६ प्रतिशत भएकाले सरकारी सेवामा त्यति नै प्रतिशत आरक्षणको माग गर्दै रिट परेको थियो । गत माघ २४ गते फैसला भएर हालै सार्वजनिक पूर्णपाठमा सर्वोच्चले थारु समुदायका लागि यति नै आरणको व्यवस्था गर भन्नु उचित नहुने भएकाले त्यो समुदायको अवस्थाका आधारमा आरक्षणको व्यवस्था आउँदा विज्ञापनहरूमा गर्न भनेको छ ।

आदेशमा भनिएको छ, ‘सेवा सम्बन्धी ऐन, नियम, विनियममा व्यवस्था नगरी आरक्षण सम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्न नसकिने र सो व्यवस्था गर्दा रोजगारीको आरक्षणको लागि समाहित हुने कुन वर्ग र समूहको लागि कति प्रतिशत आरक्षण गर्ने, पछौटेपनको मापन र सहभागिताको आधार के हुने भन्ने कुरा कार्यपालिका तथा विधायिकाले संविधानका व्यवस्थाहरूको रोहमा तय गर्नुपर्ने हुँदा केवल जनसाहिक आधारमा अहिले नै थारु वा यो समूहको लागि यो यति प्रतिशतले पदहरू आरक्षण गर भन्न मिल्ने देखिँदैन ।’
सरकारले पटक–पटक कोशिश गरे पनि संघीय निजामति ऐन आउन सकेको छैन । अघिल्लो संसदमा विधेयक पेश भए पनि कानुनी धारण नगरी निष्क्रिय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?