‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

चितवन । नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताउनुभएको छ । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले अरू अङ्गलाई असर गर्ने जनाउँदै उहाँहरुले नियन्त्रणमा राख्न सके समस्या नआउने बताउनुभएको हो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा श्यामराज रेग्मीले समय समयमा शारीरिक परीक्षण र नियमित औषधि सेवन गरे उच्च रक्तचापले समस्या नल्याउने बताउनुभयो । उहाँले उच्च रक्तचाप भएकाहरुले मुख्य गरी मुटु, मिर्गौला, मधुमेह, कोलेस्ट्रोल र थाइराइडको अवस्थाका बारेमा समयसमयमा परीक्षण गरेर हेर्नुपर्ने बताउनुभयो ।

उच्च रक्तचाप हुने खास कारण कसैलाई थाहा नहुने जानकारी दिँदै उहाँले भन्नुभयो, “उच्च रक्तचाप हुने धेरै कारण हुन्छन्, ९५ प्रतिशत मानिसमा उच्च रक्तचापको कारण थाहा हुँदैन ।” पाँच प्रतिशतमा बाहिरी कारण हुने जनाउँदै उहाँले मिर्गौला, थाइराइडको रोग र इन्डोक्राइमसम्बन्धी रोग (हर्मोनको वृद्धि) का कारण उच्च रक्तचाप हुन सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाथ रोगमा उपयोग हुने स्टेरोइड भन्ने औषधि धेरै समयसम्म प्रयोग गरेपछि उच्च रक्तचाप हुन सक्छ ।”

दैनिक जीवनशैली र मोटोपनाका कारणले पनि उच्च रक्तचाप हुन सक्छ । यी सबैबाहेक केही नभएकालाई पनि उच्च रक्तचाप हुन सक्ने उहाँ बताउनुहुन्छ । वंशजका आधारमा पनि उच्च रक्तचाप हुनसक्ने डा रेग्मीको भनाइ छ । उहाँले भन्नुभयो, “उच्च रक्तचाप हुनु आफैँमा ठूलो कुरा होइन, अर्थात् रोग लाग्नु ठूलो कुरा होइन, रोग लागिसकेपछि उपचार र रोकथाम ठूलो कुरा हो ।”

रक्तचाप भनेको रगतका नली (रक्तनाली) मा चाप पर्ने हो । रक्तनली शरीरका सबै भागमा पुगेका हुन्छन् । त्यही भएर रक्तचापले शरीरका सबै भागमा असर गर्दछ । उहाँले भन्नुभयो, “मिर्गौला फेलियर गराउन सक्छ, दिमागमा स्टक गरेर प्यारालाइसिस गराउन सक्छ, हातखुट्टाका नसा बन्द भएर नसै काट्नुपर्ने समस्या आउन सक्छ ।”

ADVERTISEMENT

भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनिने जनाउँदै उहाँले विना कुनै लक्षण पनि यसले शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वमै उच्च रक्तचापको अवस्था बढिरहेको छ, पहिला १० प्रतिशत, २० प्रतिशत उच्च रक्तचापका बिरामी थिए, अहिले बढ्दै गएर एक सयमा ३६ प्रतिशतसम्ममा उच्च रक्तचाप देखिन थालेको छ”, उहाँले भन्नुभयो, “मुटुले रगत फ्याँक्ने क्रममा रक्तनलीको भित्तामा दबाब पर्छ, त्यो दबाबलाई खासमा रक्तचाप भनिन्छ, नलीमा बग्ने रगत उत्तिकै छ, तर नली विभिन्न कारणले साँघुरो हुन पुग्यो भने रगतले नलीलाई दिने चाप बढ्छ ।”

उहाँका अनुसार यसरी रक्तनलीमा बढेको चाप नै उच्च रक्तचाप (हाई बिपी_ हो । त्यसका कारण मुटु, मिर्गौला, मस्तिष्क र आँखामा जटिलता जस्ता विभिन्न स्वास्थ्य समस्याले अकालमै जीवन क्षति हुन सक्ने उहाँ बताउनुहुन्छ ।

उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, टाउको भारी हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, श्वास लिन कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखापर्ने उहाँको भनाइ छ ।

वयस्क व्यक्ति हरेकले कम्तीमा पनि एक वर्षमा एक पटक आफ्नो रक्तचाप अनिवार्य जाँच गराउन डा गौतमले सुझाव दिनुभयो । यसो गरे भविष्यको सम्भावित दुर्घटनाबाट बच्न सकिने जनाउँदै उहाँले उच्च रक्तचाप भएको व्यक्ति चिकित्सकसँग नियमित परामर्शमा रहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यदि कसैको घरमा उच्च रक्तचापका बिरामी छन् भने उसको घरपरिवार झन् बढी सजक हुनुपर्छ, परिवारको सबैले समयसमयमा उच्च रक्तचाप जँचाउनुपर्छ ।”
-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज