काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज बयान लिइने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका उहाँको आज बयान लिइन लागिएको हो ।
यसअघि सो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान लिएको थियो ।
प्रहरी परिसर काठमाडौंको हिरासतमा रहनुभएका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंगलबार दुई दिनको म्याद थपेको छ ।
शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो । उहाँविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।






