विश्व समुदायमा नेपालको ख्याति बढाउने कार्यमा गोर्खालीहरू भनेर चिनिएर नेपालीहरूले मान बढाएका छन् छन् । ज्यानै जाने भए पनि बेइमानीको छायासम्म पनि पर्न नदिएको इतिहास बोकेको नेपालीको २०४६ सालपछि भ्रष्टाचारका अनगन्ती काण्डले विश्व समुदायसामु शिर नराम्ररी निहुरिएको छ । भ्रष्टाचारको काण्डैकाण्डले मुलुकको आर्थिक अवस्था जर्जर भएर टाट पल्टन लागेको छ । खबर र सूचनाहरू प्रविधिको विकासले गर्दा बादलमा बिजुली चम्के झैँ संसारभरि छिनमै पुगिहाल्छन् ।
यिनै सूचनाहरूको आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ को वार्षिक प्रतिवेदनमा नेपाललाई अतिभ्रष्ट देशहरूको सूचीको ३४औं नम्बरमा राखेको छ । टान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट अनुसार नेपालमा भ्रष्टाचार सबै क्षेत्रमा व्यापक रूपमा फैलिएको छ । राजनीतिक बृत्तदेखि सरकारी संयन्त्रहरू, न्यायिक क्षेत्र, पुलिस, स्वास्थ, शिक्षा आदि सबैतिर फैलिएको छ रिपोर्टले भनिरहेकोे छ । नीतिगत निर्णय गरेर गराएर पनि नेपालमा भ्रष्टाचार हुने गरेको छ ।
यस कुराको पुष्टि हालै उजागर हुन आएको नक्कली शरणार्थी प्रकरणले गरेको छ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा पुनर्बास गराउन जनही दशदेखि पचास लाखसम्म उठाएर आपसमा बाँडीचुँडी खाएको काण्डको पर्दाफास भएको छ । यसमा राजनीतिक व्यक्तित्व र उनीहरूका आफन्तहरू प्रशासनिक र गैरराजनीतिक व्यक्तिहरूसमेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट पाइएको छ । गैरराजनीतिक व्यक्ति केशव दुलाल र सानु भण्डारीसमेतको गिरोह जो पहिला पहिला जापान कोरियालगायत देशहरूमा मानव तस्करीको काम गर्दथे संलग्न थिए ।
नेकपा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि गिरफ्तारीमा पर्नुभएको छ । उहाँ फरार रहेर बचाउका लागि राजनीतिक संरक्षण खोजिरहनु भएको थियो । त्यसका लागि पार्टी नेतृत्व तहमा प्रयास नभएको होइन तर जनदबाब थेग्न नसकेर उहाँले गिरफ्तारी दिनुभयो ।
तिनले यही कामको सिलसिलामा अनेक सरकारी निकायहरूमा सम्बन्ध स्थापित गर्दै गृह मन्त्रालयमा पनि आफ्नो पकड जमाए । यस्तो पकड बनाउन सफल भए कि बाँकी भुटानी शरणार्थीको तेस्रो देशमा बसोवासको व्यवस्था मिलाउन कार्यदल गठन गराउन र त्यसमा आपूmले रोजेकै मानिस राख्न मन्त्रिस्तरीय नीतिगत निर्णय गराउन पनि सफल भएको कुरा प्रहरी अनुसन्धानबाट पर्दाफास हुन आएको छ ।
नेकपा एमालेको सरकारकै पालामा गैरराजनीतिक व्यक्तिहरू केशव दुलाल र सानु भण्डारी गिरोहको योजना अनुसार कार्यदल बनाई उनीहरूले प्रस्ताव गरेकै व्यक्तिहरूलाई राखी गृहको पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो । तर, २०७८ असार २९ मा नेपाली कांग्रेसका सभापति देउबाले ओलीलाई विस्थापित गर्दा नै गृहमन्त्री बनेका बालकृष्ण खाँडले एक महिनाभित्रै टेकनारायण पाण्डेलाई गृहसचिवमा अन्यत्रबाट तानेका थिए । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले आफ्नो मोवाइलको फोरम्याट सबै डिलिट गरेर खाली बनाइसकेको पाइए तापनि उक्त गिरोहका अन्य सदस्यको डिभाइसबाट पाण्डे निरन्तर गिरोहको सम्पर्कमा रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
कार्यदल संयोजक पूर्वसहसचिव पन्थीको प्रतिवेदनले ४२९ जनाको नाम छुटेको शरणार्थीको सूचीमा समावेश गर्न सिफारिश गरेको थियो । छुटेका शरणार्थीको नाम अनुसूचीमा राखिएको तर त्यसमा कसैको पनि सही नभएको देखिएको छ । त्यति बेला शायद यिनै र अन्य कारणहरूले कार्यदलको उक्त प्रतिवेदनमाथि प्रश्न उठेपछि मन्त्रालयमा त्यसै थन्केर बसेको थियो । पछि मन्त्री बालकृष्ण खाँण नेतृत्वको गृह प्रशासनले यसमा चासो दिएर फाइल अगाडि बढाएको थियो । गिरोहका सदस्यहरूले नक्कली शरणार्थीबाट पैसा असुल्न थालेको र माथि-माथि भाग पुगेको पुर्याएको प्रहरीले अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहिरो जाँदै गरेको खुलेको छ ।
पक्राउ परेका गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी आदिको बयान अनुसार हालसम्म बहालवाला गृहसचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापाको सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले पार्टी सचिव टेकबहादुर सायमाझीका छोरा सन्दीप रायमाझी, सन्देश शर्मा, सागर थुलुङ राई, टंक गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ । गएको मंगलबार पनि गिरोहका दुई सदस्य रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् । साथै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाँणलाई पनि तहकिकात गर्न प्रहरीले पक्राउ गरिसकेको छ ।
नेकपा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि गिरफ्तारीमा पर्नुभएको छ । उहाँ फरार रहेर बचाउका लागि राजनीतिक संरक्षण खोजिरहनु भएको थियो । त्यसका लागि पार्टी नेतृत्व तहमा प्रयास नभएको होइन तर जनदबाब र मिडियाले उदांग पारिरहेको तथ्य र प्रमाणलाई नजरअन्दाज गर्न नसकेर हाल उहाँलाई एमाले पार्टीबाट केसको टुंगो नलागुञ्जेलसम्म पार्टी सचिवबाट निलम्बन गरेको छ ।
यस सन्दर्भमा प्रहरी अनुसन्धानले केही यस्ता अडियो पनि बाहिर ल्याएको छ जसमा पूर्र्वप्रधानमन्त्री देउवा र गृहमन्त्रीका श्रीमतीहरू आरजु राणा देउवा र मञ्जु खाँडले क्रमस साढे दुई करोड र छ करोड रुपैयाँ बुझिलिएको उजागर हुनआएको छ । तर, सामाजिक सञ्जालमा प्रसारण भइरहेको त्योे अडियोको प्रमाणिकताको चाहिँ जाँच भइरहेको प्रहरीले बताएको छ । एउटा नेपाली उखान छ लहरो तान्दा पहरो थर्कन्छ तर अब यसमा थर्काउने काम मात्र हुनु हुँदैन ।
पहिरो नै झारेर भ्रष्टाचार र भ्रष्टाचार गर्नेको अस्तित्व पुर्नुपर्छ । अब त अति भयो नेपालमा सधैं भ्रष्टाचारका काण्डहरू मच्चिरहने र थामथुम पारेर फाइल थन्क्याउँदै जाने हो भने यो देशको अस्तित्व कहिलेसम्म बाँकी रहला ? मुलुक टाट पल्टिने अवस्थामा पुग्दासम्म पनि कर छली गरेर भन्सार र अन्तशुल्कको दर घटाएर बढाएर व्यापारी र व्यापारी घरानाहरूलाई लाभ पुर्याइरहने कहिलेसम्म ?
गत वर्षको बजेट पेश गर्ने दिनको अघिल्लो रात कुनै खास व्यापारी घरानालाई लाभ पुर्याउने हेतुले असम्बन्धित तेस्रो व्यक्तिलाई सामेल गरी करको दरमा हेरफेर गरेको घटना सार्बजनिक हुँदा सदनको र जनआक्रोस शान्त पार्न र जनताको आँखामा छारो हाल्न मन्त्रीलाई निलम्बन गरी तदर्थ समिति गठन गरी समितिले त्यस्तो केही भए गरेको नदेखिएको रिपोर्टको आधारमा निलम्बन फुकुवा गरी उनै मन्त्रीलाई पुनः पदासीन गराइएको थियो । देशकै अर्थतन्त्रमा गम्भीर असर पर्ने भए गरेकोमा केही घत लाग्दो कार्बाही नगरी पहिला जस्तै ढाकछोप गर्दै गएमा भने यो देशलाई टाट पल्टनबाट कस्ले रोक्न सक्छ ?
यसरी भ्रष्टाचारका कुकृत्यहरू थुप्रिँदै जाने र त्यसउपर समुचित कारबाही नगरी दण्डहीनताको पहाड थुप्रिँदैै जाने हो भने भोलि अन्तर्राष्ट्रिय संघसंस्था र दातृनिकायले हामीलाई कुन आधारमा पत्याउने ? यस किसिमले नेपाल विश्व समुदायबाट पक्कै पनि एक्लिएर अवन्नतिको खाडलतिर जाकिँदै जानेछ । साथै हाम्रा पुर्खाले पूर्वकालदेखि कमाएको प्रतिष्ठा र ख्याति हामीले गुमाएर विश्व समुदायको सामु छिछिदुरदुरको अवस्थामा पुग्नेछौं ।
यही अवसर हो हामीले हाम्रो साख फर्काउने । यदि हामीले अपराधीलाई चाहे ती व्यक्ति वा ओहदाधारी जतिसुकै माथिल्ला हुन् र आफ्नै प्रियपात्र किन नहुन् कुनै मोलाहिजा नगरी समुचित दण्ड दिन दिलाउन सफल हुन सकियो भने र ट्रान्सपरेन्सी इन्टरनेसनलले ताकेता गरेको मनी लाउन्डरिङको कानुन बनाई लागू गरी धमाधम कार्यान्वय नगर्दै लगियो भने हाम्रो गुम्न लागेको साख हामीले फिर्ता ल्याउन सक्छौं । आफ्नै नागरिकलाई अनागरिक बनाएर तिनीहरूसँग अकुत रकम उठाएर भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजना (स्क्याण्डल) सफल भइदिएको भए तिनीहरूले नेपाली र नेपालमा भएका आमाबाबा, धनसम्पत्ति आफ्नो भनेर दाबी गर्न पाउने थिएनन् ।
जन्मभूमिको कुनै माया नराखी नागरिकले आफ्नो देश त्यागी भुटानी शरणार्थी बन्न चाहने बडो दयनीय र विचारणीय कुरो छ । यो सुन्दर शान्त प्राकृतिक सम्पदाले भरिपूर्ण देश त्याग गरी आज किन नेपाली बाहिरिँदै छन् ?
यो कत्रो दुष्चरित्र नेपाली उच्चपदस्थ कर्मचारीको, मन्त्री र मन्त्रीका आसेपासेले पैसाकै लागि राजनीति गरेको देखाइरहेको छ । विचार गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने आज हाम्रो देशको आर्थिक स्थिति, सामाजिक स्थिति यति दयनीय भएर गयो कि जीविका पार्जनकै लागि मानिसहरूले आफ्नाको अपनत्व त्याग्न कुनै सोचविचारै नगरी नक्कली शरणार्थी बन्न चाहन्छन् । जन्मभूमिको कुनै माया नराखी नागरिकले आफ्नो देश त्यागी भुटानी शरणार्थी बन्न चाहने बडो दयनीय र विचारणीय कुरो छ । यो सुन्दर शान्त प्राकृतिक सम्पदाले भरिपूर्ण देशलाई त्याग गरी आज किन नेपाली बाहिरिँदै छन् ? किनभने यहाँ जनता र मुलुकको भविष्यका लागि चाहिँदो आर्थिक गतिविधि गरिएन/गर्न दिइएन ।
मानिसको परक्यापिटल इन्कम आधुनिक परिवेशलाई धान्ने गरी बढ्न सकेन । समय सापेक्ष आवश्यकताको पूर्ति हुन सकेन । भनिन्छ आवश्यकता आविष्कारको जननी हो तर यहाँ त्यस्तो उद्यम उपक्रम केही पनि नभइरहेको र भविष्यमा पनि हुने नदेखिएकोले मानिसले आफ्नो पहिचान र अस्तित्व मेटाउन घुस खुवाएर भए पनि तम्तयार भएर बसेका छन् । यस्ता दूरावस्था सिर्जना हुनुमा यी प्रजातन्त्र र गणतन्त्रका नायकहरू पूर्णरूपले दोषी छन् भनेर जनताले बुझिसकेका छन् । यस्ता अनैतिक भ्रष्टाचारजन्य स्क्याण्डलको पर्दाफास गर्न लगाउने हालको प्रचण्ड नेतृत्वको सरकार, गृहप्रशासन र प्रहरी निकायलाई दिलैदेखि धन्यवाद दिँदै अपराधीलाई संरक्षण गर्ने दबाबमा नपरी केसलाई टुंगोमा पुर्याइछाड्न हामी सबैको जोडदार अपिल हुनुपर्दछ ।






