काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपेक्षाअनुसारको मौद्रिक नीति आउन नसकेको गुनासो गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘दी नेसनल बैंकिङ डिस्कोर्ष २०२३’ मा उहाँले यस्तो गुनासो गर्नुभएको हो । अर्थमन्त्री महतले भन्नुभयो, ‘मौद्रिक नीतिले पोलिसी रेट घट्छ भन्ने आशा लागेको थियो, केही प्राविधिक कारणबस हुन सकेनछ तर त्यो धेरै लगानीकर्ताको माग रहेकाले चाँडै पूरा हुने विश्वास छ ।’
अर्थमन्त्री महतले अहिले बैंकिङ क्षेत्र स्वस्थ रहेको भन्दै केही समस्या भए राष्ट्र बैंकले हेर्ने बताउनुभयो । लघुवित्तमा देखिएको जोखिम कम गराउँदै जान र सहकारीमा पनि नियमन बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
बैंकले सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री महतले साना उद्योग व्यवसायले सहजै ऋण पाउन सक्छन् कि सक्दैनन् भन्ने मुख्य सरोकारको विषय भएको बताउनुभयो । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर अझै घट्दै जाने बताउनुभयो । मौद्रिक नीतिको समीक्षाले ब्याजदर घट्ने संकेत गरेको र असारसम्ममा स्प्रेडदर चार प्रतिशतमा झार्नुपर्ने भएकाले ब्याजदर अझै घट्ने उहाँको भनाइ थियो ।
अध्यक्ष केसीले राष्ट्र बैंकले प्रभावकारी मोनिटरिङ गरेका कारण बैंकिङ क्षेत्र स्वस्थ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकिङ क्षेत्रमा अहिले केही सुधार देखिएको छ । यसो हुँदै गर्दा एनपिएल बढ्ने, पूर्वाधारलगायतका क्षेत्रमा समस्या भए पनि आशावादी बन्ने धेरै ठाउँ छन्, त्यसका लागि आगामी मौद्रिक नीतिले सहयोग गर्नेछ ।’ साथै उहाँले बैंकिङ क्षेत्रमा काम गर्न सुरक्षा थ्रेट रहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले खराब कर्जा बढे पनि उठाउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोन गरेर पैसा माग्दा ऋणीले आत्महत्या गर्ने हुन् कि भन्ने त्रास छ, आत्महत्या दुरुत्साहन मुद्दामा परिएला भनेर फोन गरेर कर्जा उठाउन सक्ने अवस्था छैन ।’ अप्ठ्यारो समयमा पनि मौद्रिक नीतिको समीक्षा निकै राम्रो आएको भन्दै उहाँले उद्योग, व्यापार व्यवसाय सुधारतर्फ जान सक्ने दाबी गर्नुभयो ।






