काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुलदर घटाएको छ । मे १७ मा मनाइने आइटियु डे २०२३ का अवसरमा जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुलदर कायम हुनेछ ।
नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा धेरै नै कम महसुलदरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट सात रुपैयाँमात्र शुल्क लाग्नेछ भने नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट सात रुपैयाँ लाग्नेछ ।
एसएमएस गर्दा प्रतिएसएमएस सात रुपैयाँ नै लाग्नेछ । हाल भारतको कुनै नम्बरमा कल गर्दा ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ र एसएमएस गर्दा २४ लाग्ने व्यवस्था छ । त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँमात्र लाग्नेछ भने आएको कल उठाउँदा प्रतिमिनेट २५ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपैयाँ लाग्नेछ ।
हाल कुनै नम्बरमा कल गर्दा एक सय ३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस ३४ रुपैयाँ लाग्ने गरेको छ । डाटा चलाउँदा हाल प्रतिएमबी ४० रहेकोमा अब प्रति सय केबी ०.४९ पैसामात्र लाग्नेछ । जसअनुसार प्रतिएमबी करिब पाँच रुपैयाँमात्र लाग्ने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts