काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत् विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधा शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरमा क्युआरमार्फत् भुक्तानी सुविधा सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकमको कार्यालय सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमबीच उक्त सेवाको शुभारम्भ गरिएको हो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सोसम्बन्धी सम्झौतापत्र आदानप्रदान गर्नुभयो । सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत् बिल भुक्तानी गरी सेवाको शुभारम्भ गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताले अब नमस्ते पेको क्युआर प्रयोग गरेर बिल तिर्न सक्नुहुनेछ । अब प्रयोगकर्ताले नगद झिक्न बैंकमा जानुपर्ने झन्झट कम गरी बिल भुक्तानी सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौँ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्नेछ । आधुनिक प्रविधिको प्रयोगमार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।’
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी, सूचना प्रणाली सहयोगी निर्देशनालयका प्रबन्धक शालिकराम सुवेदी र दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले सेवाबारे जानकारी गराएका थिए ।
हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पेको क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा अन्य कार्यालयमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ । कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताले क्युआरमार्फत् भुक्तानीबापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements