नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा खुट्टा नकमाउन प्रधानमन्त्रीलाई दलहरूको सुझाव

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ज्ञापनपत्र बुझाउँदै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सबै दोषीलाई कारबाही गर्न माग गरेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय सरकारले नक्कली शरणार्थी काण्डमा संलग्नहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै कारबाही प्रक्रिया नरोक्न पनि आग्रह गर्नुभएको छ ।

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासमा आफूहरूको साथ र सहयोग रहने भन्दै राप्रपाका शीर्ष नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोसिसको विरुद्धमा छ । तसर्थ, अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ ।’

उक्त काण्डमा राज्य संयन्त्र नै संलग्न रहेको तथा ठूलो गिरोह रहेको हुनसक्ने भन्दै राप्रपाका शीर्ष नेताहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘नक्कली शरणार्थी काण्डमा राज्य संयन्त्र नै संलग्न रहेको देखिन्छ । ठूलै गिरोह यसमा लागेको हुनसक्छ । तर, यसमा राजनीतिक दबाब वा प्रभावबाट कुनै पनि दोषीले उन्मुक्ति नपाओस् ।’ राप्रपाले छानबिनमा दोषीलाई उम्खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्नेसमेत चेतावनी दिएको छ । साथै, विगतका ठुल्ठूला भ्रष्टाचार काण्डका फाइलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानविन गर्नसमेत राप्रपाले माग गरेको छ । पहिलो चरणमा पार्टीले ज्ञापनपत्र बुझाएको र आवश्यकताअनुसार भ्रष्टाचारविरुद्ध पार्टीले कार्यक्रमहरू तय गरेर अघि बढ्ने राप्रपाले जनाएको छ ।

प्रधानमन्त्रीको प्रतिबद्धता : ‘अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्यो, पछि हट्दिनँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा नेताहरूसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्यतथ्य छानविन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आउनुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै दबाब आए पनि अब पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको हो । ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय बनिसकेको छ । त्यसैले यो विषयबाट ब्याक हुन मिल्दैन । हुँदैनौँ ।’ प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार हुनुहुन्छ ।

दबाब र प्रभावमा नपर्न कांग्रेस शीर्ष नेताको सुझाव
नेपाली कांग्रेसका शीर्ष तहका तीन नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिँदै दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिएका हुन् । साथै उनीहरूले उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस् भनेर प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् । यसैगरी, कांग्रेसका नेता प्रकाशमान सिंहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गर्नुभएको छ । नेता सिंहले यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको टिप्पणी गर्दै भन्नुभएको छ, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहीँ कतैबाट प्रभावित बनाउने प्रयास नहोस् । यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निक्र्योल हुन सकोस् ।’ नेता सिंहले प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

छानविन प्रभावकारी होस् : टिआई नेपाल
ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई हदैसम्म कारबाही हुनुपर्ने माग गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारुकतापूर्ण अनुसन्धानको स्वागत गर्दै टिआई नेपालले शुक्रबार जारी विज्ञप्तिमार्फत भनेको छ, ‘हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबाबबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानविन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् र अपराधीहरू जुनसुकै पद र तहका भए पनि तिनलाई हदैसम्मको कारबाही होस् भनी टिआई नेपाल जोडदार आग्रह गर्दछ ।’

प्रहरीलाई स्वतन्त्र ढंगले छानविन गर्न देऊ : भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने बताउनुभएको छ । राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको दबाबका कारण निर्मला पन्त प्रकरणको अनुसन्धान बरालिएको तर्फ स्मरण गराउँदै भट्टराईले भन्नुभयो, ‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भत्र्सना गर्ने पनि कुनै शब्द नै छैन । पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई शुद्धीकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जागृत गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको जालो नष्ट गर्ने, नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’

सरकार ढल्छ कि भन्ने चिन्ता नलिन लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएकोमा धन्यवाद दिनुभएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएका सभापति लामिछानेले भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो सधैँ साथ हुने स्पष्ट पार्नुका साथै सरकार ढल्छ कि भनेर चिन्ता नलिन पनि आग्रह गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रण दलहरूको साझा एजेण्डा हुनुपर्ने भन्दै आफ्नो दलले सधँै त्यसको समर्थन गर्ने जानकारी दिँदै सभापति लामिछानेले भन्नुभयो, ‘भ्रष्टाचारका फाइल खोल्दा सरकार ढल्छ कि भनेर चिन्ता नलिनुस् भनेर मैले भनेको छु । अहिलेको छानविन अघि बढाउनुस् र अरू फाइलहरू पनि खोल्दै जानुस् भनेको छु ।’ लामिछानेसँगको भेटवार्ता प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेको र यसलाई टुंगोमा पु¥याउने स्पष्ट पार्नुभएको छ । सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रसंग उठाउँदै प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछानेलाई भन्नुभयो, ‘भ्रष्टाचारका फाइल खोलेका बेला तपाईंहरूले समर्थन नै फिर्ता लिनुभयो । हुन त यो संयोग मात्र पनि होला । सरकारले भ्रष्टाचारका यस्ता विषयमा निष्पक्ष र इमान्दार ढंगबाट छानविन गर्छ । तपाईंहरू सरकारलाई सहयोग गर्नुस् ।’ रास्वपाले गत वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रकरणले अन्तर्राष्ट्रिय जगत्मा नेपालको साख गिर्यो : यादव
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख कमजोर भएको टिप्पणी गर्नुभएको छ । सरकारमा रहेकै जिम्मेवार व्यक्ति नै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘देशकै साख र छवि धुमिल भएको नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष हुनुपर्छ । यसमा संलग्न कुनै पनि व्यक्तिलाई छाड्नु हुँदैन ।’

अनेरास्ववियुको प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाही माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र, आरआर लगायतका कलेज अगाडि प्रदर्शन गरेको हो । उनीहरूले वाइडबडी काण्ड, लडाकु शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचार काण्डमा पनि छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । विभिन्न कालखण्डमा भएका अनियमितता,आर्थिक हिनामिना, ठूलो साना सबै खाले भ्रष्टाचारको जालो तोडेर सुशासन युक्त नेपाल निर्माणका लागि भन्दै अनेरास्ववियुनिकट विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

मानव अधिकार समितिले प्रदर्शन गर्ने
मानव अधिकार तथा शान्ति समाजले कुशासन र दण्डहीनताविरुद्ध जेठ १ माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ । ‘सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाऊ ः संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याऊ’ भन्ने नारासहित प्रदर्शन गर्न लागेको समितिको भनाइ छ । काठमाडौंको माइतीघर मण्डलामा हुने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरूको सहभागिता रहने समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *