काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा ई–हाजिरीको तयारी गर्न निर्देशन दिनुभएको छ । आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि सभामुख घिमिरेले संसद् सचिवालयलाई ई–हाजिरीको तयारी गर्न र राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देशन दिनुभएको हो ।
छलफलमा सभामुख घिमिरेले संसद्मा सांसदहरूको उपस्थिति कमजोर रहेको भन्दै सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको उल्लेख गर्नुभएको थियो । उहाँले राजनीतिक दल तथा सांसदहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षणसमेत गराउनुभएको छ । संसद्मा ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे उहाँले छलफलमा जानकारी दिनुभएको थियो ।
त्यसैगरी, संसद् नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने र कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने कुरा पनि सभामुख घिमिरेले जानकारी गराउनुभएको थियो । उहाँले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन पनि निर्देशन दिनुभएको छ । बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतक र कार्यव्यवस्थामा प्रतिनिधित्व गर्ने नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सदस्यहरूको नाम बुझाउन निर्देशन दिनुभएको हो ।
संघीय संसद्को संसदीय सुनुवाइ समिति गठन नहुँदा प्रधानन्यायाधीश, न्यायाधीश लगायतको नियुक्ति प्रक्रिया रोकिने भएको छ । त्यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि गठन भएको छैन । राष्ट्रियसभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइसकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नाम राजनीतिक दलहरूले बुझाउन बाँकी नै रहेको छ । दुवै समितिमा १५÷१५ सदस्य हुन्छन् जसमध्ये १२ जना प्रतिनिधिसभा र तीनजना राष्ट्रियसभाबाट हुने कानुनी व्यवस्था रहेको छ ।
प्रधानमन्त्रीले अब हरेक महिना सांसदहरूलाई जवाफ दिनुपर्ने
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने बताउनुभएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा उहाँले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने बताउनुभएको हो ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि कानुनमन्त्री, दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर समय निर्धारण गरिने सभामुख घिमिरेको भनाइ थियो । ‘नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ,’ बैठकमा उहाँले भन्नुभयो, ‘कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुन्छ ।’ सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिलाई पनि कानुनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।
संसद् बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । उहाँले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताउनुभयो । उहाँले सांसदहरूको हाजिरी अनलाइन हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठकमा महिनाको एकपटक प्रधानमन्त्रीले संसद्मा जवाफ दिने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सदनलाई प्रभावकारी बनाउने कुरामा छलफल भयो, सांसदहरू हाजिर गरेर हिँड्ने प्रवृत्ति छ, ई–हाजिरी गर्ने व्यवस्थाका बारेमा कुरा भएको छ । बजेट अधिवेशनको बारेमा पनि छलफल भएको छ । संसद्लाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एकपटक प्रधानमन्त्रीले आएर सभामा जवाफ दिनुपर्ने कुरामा छलफल गरेका छौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts