इलाम । विश्वका ६० बढी हिमश्रङ्खलाको दृश्यमा रमाउन सकिने इलामको सन्दकपूरमा खानेपानीको समस्या छ । माइनदीको मुहान क्षेत्र सन्दकपूरमा दैनिक सयौँ पर्यटकको उपभोगका लागि खानेपानी समस्या समाधानका लागि होटल व्यवसायीले गाडिमा पानी ढुवानी गर्नुपर्ने बाध्यता रहेको हो । ३६ सय ३६ मिटर उचाईमा रहेको सन्दकपूर इलामको शिर हो ।
विश्वभरका हजारौँ पर्यटकहरुको आकर्षणको केन्द्र सन्दकपूरमा खानेपानीको समस्या छ । बस्तिमुनी माई नदीको मुहान क्षेत्र भएकाले यहाँ बसोबास गर्नेहरुका लागि गाडिमा पानी बोक्नुपर्ने बाध्यता छ । वर्षातमा पानी ढुवानीका लागि कच्चिसडक बाधक छ भने हिउँदमा पानीको मुहान क्षेत्र नै जमेर बरफ बन्छ । जसले गर्दा स्थानीयले हिउँदमा हरेक दिन बरफ पग्लेपछि पानी संकलन गर्नुपर्छ ।
सन्दकपूर गाउँपालिका २ मा अवस्थित सन्दकपूरमा नेपाल भारत दुवैपट्टि होटल व्यवसाय छन् । होटल व्यवसायीले पिकअपमा प्लाष्टिक ट्याङ्किबाट पानी ढुवानी गर्दै आएका छन् । पिकअपमा २ वटा प्लाष्टिक ट्याङ्किबाट पानी ढुवानी गरेको हरेक ट्रिपको ८ सय रुपैयाँ लाग्छ । हिउँदमा हिउँ र वर्षातको झरि झेल्दै विश्वभरका पर्यटकको सेवामा खट्ने होटल व्यवसायीको सुविधाका लागि खानेपानी आयोजना नै निर्माण पनि हुँदैछ । प्रदेश १ सरकारबाट खानेपानीको सहज सुविधा उपलब्धि गराउन अहिले आयोजनाको काम धमाधम हुँदै आएको वडाध्यक्ष सनम राईले बताउनुभयो ।
प्रदेश १ सरकारबाट सन्दकपूरमा खानेपानी पु¥याउन लफ्टिङ्ग प्रविधिबाट आयोजना संचालन गर्न पूर्वाधार निर्माणको काम हुँदै आएको छ । नेपाल, भारत, भुटान र चीनको तिब्बतका ६० बढी हिमश्रङ्खला दृश्यावलोकन गर्न सकिने सन्दकपूरमा विश्वभरका पर्यटकहरु पुग्ने गरेका छन् ।
सिमसार संरक्षण
सन्दकपूर गाउँपालिका इलामका नदीनालाको मुहान क्षेत्र मात्रै हैन इलाम सदरमुकामका हजारौ नागरिकको खानेपानी श्रोत पनि हो । सिमसार र नदिनालाको मुहान क्षेत्र रहेको सन्दपूर क्षेत्रको हिमाली क्षेत्रमा अहिले वन संरक्षणका काम पनि धमाधम हुँदै आएका छन् । सन्दकपूर गाउँपालिका इलामको शिर हो । सन्दकपूर मुहान भएर बन्ने नदीले इलाममा मात्रै नभएर झापामा हजारौँ हेक्टर जमिन सिचाईसँगै खानेपानीको श्रोत पनि भएको छ । सन्दकपूर पुवा, माई, राते, मेवा, धुवा, जमुना, इङ्ला, गिताङ खोलाको मुहान क्षेत्र हो ।
यी खोला मिसिएर बनेको नदीलाई इलामको चुरे क्षेत्र र झापामा कन्काई नदी भनिन्छ । लाखौँको जिविपोपार्जनको माध्यम बनेको नदीको मुहान क्षेत्र रहेका र सिमसार क्षेत्र संरक्षण सन्दकपूर पालिकाको प्राथमिकता हो । सिमसार क्षेत्रमा जैविक विविधता संरक्षणसँगै वृक्षारोपणको काम हुँदै आएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो ।
सिमसार संरक्षणको थालनी पालिकाको पहिलो ५ वर्षे कार्यकालमा नै भएको थियो । नेपाल भारत सीमा क्षेत्रका उजाड डाँडाहरुमा वृक्षारोपण गर्ने नीति लिएको पालिकाले स्थानीय जातका रुखबिरुवाको नर्सरी नै स्थापना गरेको छ । नर्सरीमा उत्पादन भएको बिरुवा सामुदायिक वन समूहको समन्वयमा वृक्षारोपण हुदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको सन्दकपूरको भारतीय भु–भागमा सिंहलिला संरक्षित क्षेत्र छ । जसका कारण सयौँ चराहरु र वन्यजन्तुको बास नेपालपट्टि पनि हुने भएकाले वन संरक्षण र विस्तारमा पालिकाले लगानी गर्दै आएको हो । पालिकाको काममा इलाममा विद्युत उत्पादन गर्ने जलविद्युत आयोजनाहरुले पनि सहयोग गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच