काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहकको विश्वास, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारी, साथ दिने कर्मचारी, सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायलाई धन्यवाद दिनुभयो ।
आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तरीयता थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने उहाँले जानकारी गराउनुभयो । २३औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
कोशी प्रदेशको बिर्तामोडमा ५६, मधेश प्रदेशको वीरगञ्जमा १६, बागमती प्रदेशको नारायणगढमा ३९ र काठमाडौंमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल तीन सय १० पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको २०८० चैतसम्ममा लगानी १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष करिब एक खर्ब ५८ अर्ब रुपैयाँ सञ्चित रहेको छ । साथै कम्पनीले देशभर झण्डै एक सय ९२ कार्यालय सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता