जुबा, (दक्षिण सुडान) । सुडानमा युद्धरत पक्ष सातदिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् । दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्टं फोर्सेस (एसएएफ) प्रमुखले वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन् । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ-आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएका छन् ।
दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसका निम्ति वार्ता अपरिहार्य भएको बताउनुभयो । उहाँले दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गर्नाका साथै दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने जानकारी दिनुभएको छ । शीघ्र वार्ताका निम्ति प्रतिनिधिको नाम पठाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।
व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजीएडी) का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजीएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजीएडीले युद्धविरामको पहल गरेको हो ।
सुडानको सेना र अर्धसैनिक बल प्यापिड सपोर्ट फोर्स (आरएसएफ) को नेतृत्वबीच शक्ति बाँडफाँटको विषय नमिल्दा गत अप्रिल १५ देखि दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको थियो । दुवै सुरक्षा निकायबीच लडाइँ सुरु भएको बुधबार २० दिन भइसकेको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता