उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।

आज (बुधवार) बाट लागू हुनेगरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताउनु भयो । उहाँले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताउनु भयो ।

उहाँले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताउनु भयो । उहाँले पहिला दरखास्त भरिसकेकाहरुको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गर्नुभयो । प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताउनु भयो । उहाँका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रवन्ध मिलाइएको छ ।

उहाँले भन्नुभयो, ‘हामीले ३० दिनको समय दिएर दरखास्त आह्वान गरेका छौँ । यो नयाँ दरखास्त होइन, पहिला भरिसकेको उम्मेदवारको डाटाका लागि मात्रै खुलाएको हो, यसलाई नयाँ रुपमा नबुझ्न अनुरोध छ । जुन उम्मेदवारले पहिला नै डाटा भर्नुभएको थियो, त्यो उम्मेदवारले विवरण भरिसकेपछि हामीले अब फेरि भर्ना परीक्षा सेड्युल निकालेका छौँ, त्यो अनुसार परीक्षा कार्यक्रम अघि बढ्छ । पहिला ८० हजार भन्दा धेरैले दरखास्त पेस गरेको भन्ने थियो, यी तीन महिनामा । ८० हजार भन्दा धेरैले नै दरखास्त भर्नुहुन्छ होला । १५ हजारले पूरै डाटा भर्नुपर्ने हुन्छ । जसले पहिला दरखास्त भरिसक्नुभएको थियो, उहाँहरुले मात्रै भर्न पाउने हो, नयाँले होइन । डाटा स्टोरेज गर्ने प्रयोजनका लागि पहिला भरिसकेको मान्छेलाई रिएप्लाई गर्न भनेका हौँ । शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने भनेका छौँ । अरु साउनदेखि शुरु हुन्छ । लोकसेवा आयोगले विगत ८/१० वर्षदेखि उम्मेलवारको सम्पूर्ण विवरण अनलाइन सिस्टमबाट लिने र आवश्यक विवरण त्यही रुपमा प्रयोग गर्ने गरेका थियौँ । २०७९ को असोजदेखि चैत्र मसान्तसम्म विभिन्न पदको विज्ञापन गर्छौं, दरखास्त आह्वानको प्रक्रिया हाम्रो लाइभ हुन्छ । यसै क्रममा २०७९ मंसिर, पुस, माघमा गरेको विज्ञापनको दरखास्त आह्वान गरेका थियौँ । फागुन २३ बाट सिस्टममा डाटा नदेखिएपछि सबै डाटाहरु स्टोरेज गरेको ठाउँमा समस्या आयो र समाधान गर्ने कोशिस गर्दा फर्किएन त्यसपछि पहिला दरखास्त दिएको उम्मेदवारहरुको पुनः दरखास्त आह्वान गरेका छौँ ।’

लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?