जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु

Read Time = 4 mins

काठमाडौं । प्रविधि भित्रिएको झण्डै आधा शताब्दीपछि नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इँटा उत्पादन सुरु भएको छ । इँटाभट्टाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँदै आए पनि आधुनिक प्रविधिबाट इँटा उत्पादन गर्ने कार्य निजी क्षेत्रबाट हुन सकेको थिएन । तर, कास्कीको पोखरास्थित पोल्याङमा कम्पनीले आफ्नै एक सय रोपनी क्षेत्रफलमा उद्योग राखी इँटाको उत्पादन सुरु गरेको हो । पोखरा र दमौलीबाट करिब २० किलोमिटरको दूरीमा रहेको पोखरा इको रेड ब्रिक्स प्रालिले झण्डै ३० करोड लगानीमा जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु गरेको छ । पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इञ्जिनियर कृष्णभक्त दुवालले कारखानाबाट वार्षिक डेढ करोड इँटा उत्पादन गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ । करिब ४५ वर्षअघि भक्तपुरको चाइनिज इँटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इँटा तथा टायल कारखानामा जस्तै इँटा पोल्ने प्रविधि निर्माण गरी इँटा उत्पादन थालेको अध्यक्ष इञ्जिनियर दुवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सामान्य इँटाभट्टाको इँटा पोल्ने स्ट्रकचर तथा इँटा पोल्ने जनशक्ति पनि हालसम्म भारतको विहारबाट आएका भारतीयले गर्ने गरेका छन् तर पोखराको पोल्याङमा नेपाली स्वयंले विशेष प्रकारको इँटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाई नेपाली जनशक्तिबाटै इँटाको उत्पादन थालेका हौँ ।’

ADVERTISEMENT

सामान्य इँटाभट्टा फोर्स डग नै बिहारीबाट गराउनु परिरहेका बेला नेपालीबाटै पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इँटा पोल्न आधुनिक भट्टा निर्माण सम्पन्न गरी उत्पादन सुरु गरिएको दुवालको भनाइ छ । ५० जना नेपालीबाट झण्डै एक वर्षदेखि नै काम सुरु गरिएको थियो । यस्तो प्रविधिको विकास जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गर्नुभएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत ओझाले ऊर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इँटा पोल्न नयाँं प्रविधिको इँटाभट्टा सञ्चालन गर्ने योजनाअनुसार सफल भएको बताउनुभयो । यस्तो प्रविधिबाट इँटा उत्पादन गर्दा धेरैजसो काम मेसिनले नै गर्छ । निकट भविष्यमा इँटा सुकाउन ड्रायर बनाउने योजना भएको उहाँले जानकारी गराउनुभयो ।

यस्तो प्रविधिबाट इँटा उत्पादन गर्दा ड्रायर बनिसकेपछि बाह्रै महिना कारखाना सञ्चालन हुने बताइएको छ । नेपालमा पहिलादेखि चल्दै आएका यस्तै प्रविधिका दुई चाइनिज इँटा उद्योग थिए । ललितपुरको हरिसिद्धि इँटा तथा टायल उद्योग अहिले बन्द छ भने भक्तपुरको इँटा तथा टायल उद्योग निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज