अनशनरत किसान घिमिरेप्रति प्रधानमन्त्रीको चासो

Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले किसानका समस्या सम्बोधन गर्न माग गर्दै वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । अनशन बसेको खबर पाँचौँ दिनमा थाहा पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्य सचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिनुभएको थियो । सोक्रममा कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आएको आधा घण्टामै अनशनस्थल पुगेको, मन्त्रालयबाटै डा. नवीन घिमिरे, डा. माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ताटोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनशनरत किसानसामु पठाइए पनि हालसम्म सहमतिमा नआएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाल उठाएर कोही कसैले पनि आन्दोलन गर्नुनपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयको समाधान गर्न अधिकतम् प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

ककनी गाउँपालिका २ सिउडेनीका ३२ वर्षीय युवा किसान घिमिरे छबुँदे माग राख्दै काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बसिरहनुभएको छ । घिमिरेले ककनीबाट खाली खुट्टा हिँड्दै काठमाडौैं आएर अनशन सुरु गर्नुभएको हो । अनशनरत घिमिरेको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै अखिल नेपाल किसान महासंघले माग सम्बोधनसँगै उहाँको जीवनरक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले पनि अनशनरत घिमिरेको जीवन रक्षा गर्न आग्रह गरेको थियो । घिमिरे कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी, कृषि यन्त्रमा पूर्णरूपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न मागसहित अनशनमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज