विद्यालय छेउमै विक्री वितरण हुँदै ‘ताडी’

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । वर्षमा एक सिजनमा मात्र ताड र खजुरको रुखबाट पाईने ‘ताडी’ पिउनेहरुको जमघट पछिल्लो समय बढेको छ ।

मदिराजन्य तथा नशायुक्त पदार्थ सेवन तथा बिक्री वितरण मापदण्ड सरकारले बनाएको छ । तर ताडी प्रायः शान्त र सडक छेउको बगैचामा राखेर बिक्री वितरण तथा सेवन गरिरहेको पाईन्छ ।

सरकारले बनाएको कानुन किताबमै सिमित भएको र सरोकारवाला निकायले चासो नदेखाउदा बाराको करैयामाई गाउँपालिका-७ उमजनमा विद्यालय छेवैमा खुलेयाम ताडी बिक्री वितरण हुँदै आएको छ ।

उमजन बजारमा रहेको विद्यालय छेउमै खुलेयाम ताडी बिक्री वितरण हुँदै आएको स्थानीयहरुले गुनासो गरेका छन् ।

ताडीको लागि प्रख्यात बाराको करैयामाई गाउँपालिका-७ स्थित उमजन बजारमा पनि अहिले ताडी पिउन आउनेहरुको दिनहु भीडभाड लाग्ने गरेको छ । उमजनमा मात्र होईन । तराईको बारा, पर्सा, रौतहट जिल्लाको विभिन्न स्थानमा ताडी पिउने र ताडी बिक्री गर्नेहरुको टोली जताततै देख्न सकिन्छ । यहाँका युवा जमात फुर्सद हुनै बित्तिकै ताडी खान बिहान बेलुकी ताडी बिक्री हुने स्थलमा पुग्ने गरेका छन ।

ताडी सिजनको फल भएकोले ताडीलाई ताड र खजुरको रुखको फल (जुस) भन्दै सबैले सेवन गर्ने गर्छन । यसको सेवन र बिक्री गर्दा कुनै कानुनले रोकछेक गर्न नसक्ने भएकोले यसको बिक्री खुल्ला रुपमै हुने गरेको स्थानीयको भनाई रहेको छ ।

उमजन बजार नजिकैको बाँसघारीमा आधा दर्जन ताडी बिक्री गर्ने पसल थापिएका छन । फुटपाथे पसलमा पनि ताडी पिउनेहरुको तछाड मछाड चल्ने गर्दछ । सोही स्थानमा ताडी पसल थापेर बसेका स्थानीय लक्ष्मीनिया देवी रामलाई ग्राहकको मागलाई पुरा गर्न भ्याई नभ्याई भएको थियो ।

ADVERTISEMENT

झन्डै २ ग्यालन ताडी ल्याएर बिक्री गर्न बसेको उहाँले बताउनुभयाे । ‘दिनमा बियरको बोतलमा ५० रुपैयाँ प्रति बोतल ताडी बिक्री गर्छु,’ उहाँले भन्नुभयो, ‘एउटा बोत्तलमा खर्च काटेर १० देखी २० रुपैया“ नाफा हुन्छ ।’ ताडी बेचेरै अहिले परिवारको खर्च धानेको उहाँले जानकारी दिनुभयो । २० देखी ३० रुपैया“मा खरीद गरेको ताडी पसल थापेको १/२ घण्टामै बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँ मात्र होईन । स्थानीय जामुन पासवान पनि ताडी बेच्न सोही बाँस घारीमै अर्को पसल थाप्नुभएकाे छ । उहाँले एक घण्टामै ४५ बोतल ताडी बिक्री गरेको जानकारी दिनुभयो ।

ताडी छाउने र बिक्री गर्ने पासवान जातीको पुर्ख्याैली पेसा नै हो । यो पेसालाई अहिले सम्म धानिएको उहाँले जानकारी दिनुभयो ।
‘यही पेसाले परिवार चलेको छ,’ उहाँले भन्नुभयोे, ‘वर्ष भरी यो काम गर्न नपाए पनि सिजनमा राम्रो आम्दानी हुने गरेको छ ।’ चैत देखी असार महिना सम्म यो फलको उत्पादन र कारोवार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाको बेनौली, पिप्राढी, लंगडा चोक, सिम्रौनगढ, बसवरिया, कचोर्वा, ईटवाल, तेलकुवा, कोतवाली लगायतका स्थानमा ताडी बिक्री हुने गरेको स्थानीयहरु बताउँछन ।

गर्मी बढेसंगै ताड, खजुरबाट निकालिएको काचो रस (जुश) लाई सेवन गर्ने जमात विस्तारै बढ्न थालेको छ । यो सिजनमा यस क्षेत्रको बजारमा ताडीको माग अत्याधिक रहेको ताडी बिक्रेताले बताउनुभयो । मधुरो नशा र शरीरलाई फाईदा गर्ने भएकोले हरेक उम्मेर समुहका मानिसले ताडी मन पराउने गरेको स्थानीयकाे भनाइ छ ।

ताडीलाई सिजनको फलको रुपमा मानिने भएकोले यसको बिक्री वितरण गर्न कानुनले रोकछेक गर्न नसकेको कलैयाका कानुन व्यवसायी तोयनाथ पौडेलले बताउनुभयो । ‘यसको उत्पादन ताड र खजुर प्रजातीको रुखबाट हुन्छ,’ उहाँले भन्नुभयो, ‘ताडीलाई प्रविधीबाट मोडीफाई गर्न सकिदैन ।’ त्यसैले कानुनले यसलाई फलकै रुपमा लिएको उहाँले जानकारी दिनुभयो । तर यस्तो पेय पदार्थहरु स्कूल नजिकै विक्री वितरण गरिनु हुँदैन, यो फल भएपनि केही न केही मात्रामा नशा दिने भएकोले यसको सेवन नगर्नु स्वस्थ्यकर हुन्छ । रोग लाग्नु भन्दा रोगबाटै बच्नु जाति भने झै यसको सेवनबाट टाढै बस्नु जाति हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *