काठमाडौं । गायिका देविका वन्दनाले ‘जित्नेको हाँसो’ नामक पुस्तक सार्वजनिक गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा कलाकार श्रेष्ठले जित्नेको हाँसो पुस्तक क्यान्सर रोगबाट पीडितहरूका लागि शिक्षा बन्ने बताउनुभयो । उहाँले पुस्तकमा गायिका वन्दनालाई परिवारले उहाँमाथि गरेको श्रद्धा, सद्भाव, माया, पारिवारिक अनुशासन झल्किएको बताउनुभयो ।
त्यस्तै, कलाकार आचार्यले स्तन क्यान्सरजस्तो जटिल रोगलाई जित्न सफल भएकोमा गायिका वन्दनालाई बधाई दिनुभयो । कलाकार आचार्यले रोगलाई परास्त गर्न परिवारको ठूलो भूमिका रहने भन्दै यस पुस्तकले अन्य व्यक्तिका लागि प्रेरणा दिने जिकिर गर्नुभयो ।
उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भवानी राणाले महिलाहरूमा एउटा व्यवस्थापन गर्ने शक्ति हुने बताउँदै महिलाहरूमा घरको कामदेखि बाहिरको क्रियाकलापमा राम्रोसँग गर्ने सामथ्र्य हुने चर्चा गर्नुभयो ।
समारोहमा गायिका देविका वन्दनाले कोरोना संक्रमणको त्रास बढिरहेका बेला आफू स्तन क्यान्सरबाट पीडित भएको बताउँदै परिवारको साथ, समर्थन तथा नेपालका वरिष्ठ चिकित्सकहरूको उपचारबाट आफूले क्यान्सर जित्न सफल भएको बताउनुभयो ।
बुक हिलद्वारा प्रकाशित उक्त पुस्तकको समीक्षा गर्दै निर्देशक तथा समालोचक प्रकाश सायमीले नेपालमा गायक-गायिकाहरूले आत्मकथा लेख्ने प्रचलनमा नभएको अवस्थामा गायिका वन्दनाले आफूमाथि बितेको पीडालाई पुस्तकका रूपमा सार्वजनिक गर्नु ठूलो हिम्मत भएको बताउनुभयो ।
पुस्तकमा गायिका वन्दनाले आफ्नो अस्वस्थतादेखि क्यान्सरको पहिचान, उपचार, हिम्मत, क्यान्सरको उपचारकै क्रममा गरिएको सांगीतिक गतिविधिका बारेमा चित्रण गर्नुभएको छ । समारोहमा क्यान्सरपीडित भएकै बेला झण्डै एक दर्जन गीत रेकर्ड गरेर कीर्तिमान कायम गर्न सफल भएकोमा गायिका वन्दनालाई गिनिज बुक अफ वल्र्ड रेकर्डसद्वारा प्रदान गरिएको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कलाकार बसुन्धरा भुसाल, चैतदेवी, दीपाश्री निरौला, निर्मल शर्मा गैंडालगायत धेरै कलाकर्मीको उपस्थिति थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा