इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी लिपिमा राखिने

अन्य नम्बर अंग्रेजीमा राख्न सरकारको निर्देशन

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी लिपिमा राखिने भए पनि अंक भने अंग्रेजीमै राखिने भएको छ । नेपाल बाहेकका देशमा पनि नेपाली सवारीसाधन चल्ने र त्यहाँका उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्न सक्ने गराउनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अंग्रेजी भाषाको प्रयोग गर्ने गरी ठेकेदार कम्पनीलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । प्रदेशको नाम मात्र नेपालीमा लेख्ने अन्य विषय पहिलेकै अनुसार अगाडि बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न पाँच वर्ष अगाडि नै बंगलादेशी कम्पनी टाइगर आइटीलाई छपाइको ठेक्का दिएको थियो ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ऐनको अनुसूचीमा संशोधन गरेर इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि रहन सक्ने गरी व्यवस्था गरेको छ । मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची-२ को भाग-२ अन्तर्गत द्रष्टव्य खण्डको बुँदा नं ११ र १२ हेरफेर गरेको छ । अब बुँदा नम्बर १२ मा ‘इम्बोस्ड सवारी नम्बर प्लेटमा रहने अक्षर र अंक नेपाल सरकारले निर्णय गरे बमोजिम देवनागरी लिपि वा अंग्रेजी लिपि वा दुवै लिपिको मिश्रितमा हुनु पर्नेछ ।’ भनी राखिएको छ । यस अघि बुँदा नम्बर १२ मा ‘इम्बोस्ड सवारी नम्बर प्लेटमा अक्षर र अंक अंग्रेजी लिपीमा हुनुपर्नेछ ।’ भनी उल्लेख थियो । विविआइएन अन्तर्गतका बंगललादेश, भुटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अंग्रेजी भाषाको प्रयोग गरिएको मन्त्रालयको भनाइ छ ।

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरू रहेको जानकारी दिनुभयो ।

ADVERTISEMENT

सरकारले ०७४ सालमा मन्त्रिपरिषद्बाट इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । तर, त्यसलाई कार्यान्वयन नगर्न मागसहित ०७४ फागुन ९ मा सर्वाेच्च अदालतमा इम्बोस्ड नम्बर प्लेट बन्द गर्न रिट दायर भयो । रिटमाथि सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले सरकारको उक्त निर्णय संविधानविपरीत भएको हुँदा लागू नगर्नु, नगराउनु र लागू गरिसकेको भए रद्द गर्नु भनी अन्तरिम आदेश दियो । पछि ०७६ मंसिर २७ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत समेतको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज गरी पुनः इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामै राख्ने बाटो खुला गरिदिएको थियो । त्यसपश्चात् नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषाविद्, नेपाल शिक्षक महासंघलगायत सरोकारवालाले पटक-पटक सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । भाषाविद्ले नेपाली भाषा र देवनागरी लिपि नामेट पार्न लागेको भन्दै विरोध गरिरहेका छन् ।

इम्बोस्ड नम्बर प्लेट जडानले लिएन गति
सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको चर्चा लामो समयदेखि हुँदै आए पनि कामले गति लिन सकेको छैन । सरकारले पटक– पटक सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नुपर्ने जनाए पनि लागू हुन नसकेको हो । ठेक्का सम्झौता भएको ६ वर्षमा ३५ हजार सवारीसाधनमा मात्र जडान भएको यातायात व्यवस्था विभागको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ०७८ कात्तिक २२ मा राजपत्रमा प्रकाशन गर्दै सोही वर्षको मंसिर १ देखि नाम टुंगिएका सबै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सूचना जारी ग¥यो । मंसिर १ देखि नयाँ दर्ता हुने, फागुनदेखि नामसारी गरिने र ०७९ जेठ १ देखि नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने सूचनामा उल्लेख थियो । तर, उक्त नियम अहिलेसम्म लागू हुन सकेको छैन ।

पहिलो नियम लागू गर्न नसकेको यातायात विभागले ०७९ जेठ २० मा सूचना जारी गर्दै साउन १ देखि सबै सवारीमा अनिवार्य इम्बोस्ड प्लेट जडान गर्न/गराउन कार्यालयहरूलाई निर्देशन दिएको थियो । तोकिएको समयभित्र जडान नगरे ट्राफिक प्रहरीले कारबाही गर्नेसम्म उल्लेख गरेपछि सर्वत्र विरोध भयो, जसले गर्दा विभाग आफ्नो निर्णयबाट पछि हट्न बाध्य बन्यो । जडानको ठेक्का बंगलादेश र अमेरिकाको डेकाटुर-टाइगर आइटी कम्पनीले ०७३ जेठ १९ मा ज्वाइन्ट भेन्चरमा लिएको हो । ठेक्का सम्झौताअनुसार पाँच वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नु पर्ने थियो । विभागका अनुसार अहिलेसम्म ३५ हजार ५६० सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. के नेपाल को कति सबारी साधन बिदेश जान्न्छ?
    जानेब्गनेकै भारत हो।
    भारतमा देबनागरिक लिपी बुझने छिमेकी प्रन्तमा सबै छन।
    तेसैले सबै नेपाली मानै हुनु पर्छ।
    सिमापारी जाने सबारी साधन लाई विशेष ब्यबस्था गर्न सकिन्छ।